कारोबार


कैलालीमा उखुखेतीको क्षेत्रफल घट्दै

कैलालीमा उखुखेतीको क्षेत्रफल घट्दै

नेपालखबर
असोज १४, २०८२ मंगलबार १५:८, कैलाली

पछिल्ला वर्ष कैलालीमा नगदेबालीका रूपमा खेती हुँदै आएको उखुखेतीको क्षेत्रफल घट्दै गएको छ। 

उखुखेतीको प्रवर्द्धन र उत्पादन क्षेत्रफल बढाउन उखुखेतीमा संलग्न किसानलाई बीउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उक्त खेतीको क्षेत्रफल घट्दै गएको हो।

उत्पादित उखुको बजार पनि अभाव भएका कारण किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। प्रदेश सरकारले जिल्लामा उखुखेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध नगराएको किसानको गुनासो छ। 

विगतमा व्यावसायिक रूपमा उखुखेती गर्दै आएका किसानले उखुखेतीको विकल्पमा विस्तारै अन्य खेती गर्न थालेका छन्। ज्ञान केन्द्रका अनुसार जिल्लामा २०÷२२ वर्षअघि ७०० हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेतीको क्षेत्रफल घटेर २३६ हेक्टरमा पुगेको छ।

केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जिल्लामा आव २०८०/८१ मा जिल्लामा २३७ हेक्टर क्षेत्रफलमा उखुखेती गरिएकामा पाँच हजार ७८० मेट्रिकटन, आव २०८१÷८२ मा २३७ हेक्टरमा उखुखेती गरिएकामा उत्पादन पाँच हजार ७८० मेट्रिकटन उत्पादन भएको जानकारी दिए।

उखुखेती गर्ने किसानलाई कृषि औजार, उपकरण, बीउलगायत अन्य अनुदानका कार्यक्रम उपलब्ध गराउन सके किसानको आकर्षण बढ्न सक्ने सूचना अधिकारी ओझाको भनाइ छ। तीन तहका सरकारले उखुखेती प्रवद्र्धन गर्न किसानलाई अनुदान रकमसँगै खेती गर्ने तरिका, आवश्यक औजार, उन्नत जातका बीउ र लगाउने विधिका बारेमा ज्ञान तथा सीप उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। 

उखुखेतीमा बजारको अभाव भएकाले किसानले लागतअनुसार आम्दानी  लिन नसक्नुका कारणले पनि किसानको सङ्ख्या घट्दै गएको ज्ञान केन्द्रले जनाएको छ। विसं २०५४ मा चुहामा वासुलिङ सुगर मिल सञ्चालनमा आएपछि जिल्लामा उखुखेती गर्ने किसानको सङ्ख्या बढेको थियो। सो मिल बन्द भएसँगै यहाँका किसानले क्रमशः उखुखेती गर्न छाड्नुपर्ने अवस्था आएको हो।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशभर छ हजार १९७ हेक्टर क्षेत्रफलमा उखुखेती गरिँदै आएकामा तीन लाख ५९ हजार ३२१ मेट्रिकटन उत्पादन भएको छ।

प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा पाँच हजार ६२५ हेक्टरमा खेती गरिँदै आएकामा तीन लाख ४३ हजार १२५ मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। कञ्चनपुर र कैलालीपछि बैतडीमा २६० हेक्टरमा चार हजार १९० मेट्रिक टन उत्पादन भएको जनाइएको छ। रासस 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad