ad ad

कारोबार


लकडाउनमा इन्टरनेट सेवा दिन कार्यालयमै बस्ने, खाने र सुत्ने व्यवस्था

लकडाउनमा इन्टरनेट सेवा दिन कार्यालयमै बस्ने, खाने र सुत्ने व्यवस्था

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १४:२०,

एक महिना लामो लकडाउनमा सबैभन्दा धेरै खपत भएको सेवामा पर्छ इन्टरनेट। अहिलो मुलुकभरका मानिस घरभित्र थुनिएका छन्। उनीहरुका दिन बिताउने प्रमुख माध्यममध्ये इन्टरनेट पनि एक हो।

लकडाउनका कारण हिँड्न पाइँदैन। सबैतिर नियमित इन्टरनेट सेवा उपलब्ध गराउन गाह्रो छ। तैपनि नेपालका इन्टरनेट सेवा प्रदायक कसरी काम गरिरहेका छन् त?

नेपाल इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) का अध्यक्ष भोजराज भट्ट भन्छन्, ‘इन्टरनेटलाई अत्यावश्यक सेवा मानेर दिनरात खटिरहेका छौं।’

अन्य बेलाभन्दा लकडाउनमा काम गर्न गाह्रो छ। आफूखुसी हिँड्न पाइँदैन। त्यसमाथि सुरक्षाको सवाल छ। संक्रमणबाट जोगिनुपर्ने अवस्था छ।

धेरै इन्टरनेट सेवा प्रदायकहरुले कार्यलय मै कर्मचारीलाई राखेर काम गरिरहेका छन्।

‘कर्मचारीहरु कार्यालयमै बस्नुहुन्छ, खानु हुन्छ र त्यही सुत्नुहुन्छ,’ नेटम्याक्स इन्टरनेटका सञ्चालक समेत रहेका भट्टले भने, ‘अफिस–घर गर्न पनि गाह्रो।’

कार्यलयमै बसेर भए पनि उनीहरुले इन्टरनेट नेटवर्कलाई सतप्रतिशत तयारीमा अवस्थामा राखिरहेका छन्।

‘हाम्रो टिम नै कार्यालयमै बसेको छ,’ भट्टले भने, ‘त्यसरी नै सेवा दिइरहेका छौँ।’

क्लासिक टेक नेटवर्किङका केही कर्मचारी पनि कार्यालयमै बास बसेर काम गरिरहेको सुशान्त चापागाईंले बताए।

लकडाउन सुरु भएपछि केही दिनसम्म बाहिर गएर नेटवर्क मर्मत गर्न भने सेवा प्रदायकलाई गाह्रो भयो। लकडाउनको अवस्थामा इन्टरनेट सेवा सेवा प्रदायकलाई बाहिर जान दिने कि नदिने भन्ने अन्योल थियो।

पछि यो अत्यावश्यक सेवा हो। यसले छुट पाउनु पर्छ भन्ने आवाज उठेपछि सुरक्षा निकायले पनि सहयोग गरेको सेवा प्रदायकको भनाइ छ।

‘पहिला बाहिर गएर सर्भिस मर्मत गर्न गाह्रो थियो,’ भट्टले भने, ‘पछि सुरक्षा निकायसँग कुरा गरेर अति आवश्यक सेवा हो भने पछि अलि खुकुलो बनाइएको छ।’

अहिले बाहिरको सर्भिसलाई पनि पहिलेजस्तै गरी काम गरिरहेको उनले बताए।

‘हामीले आएका गुनासोलाई सकेसम्म सम्बोधन गरेका छौँ। भए अनलाइनबाट समाधान गर्छौँ। नभएर तार चुँडिनेलगायतको समस्या फिल्डमै गएर समाधान गरिरहेका छौँ,’ क्लासिक नेटवर्किङका चापागाईंले भने।

उनले मार्केटिङ र नयाँ ग्राहक बनाउने काम भने नभएको बताए।

लकडाउन सुरु भएपछि इन्टरनेटमा ‘ट्राफिक’ समेत बढेको छ। बढेको ट्राफिक व्यवस्थापन गर्न गाह्रो भइरहेको छ।

लकडाउनमा लाइन काटियो भन्ने गुनासो पनि उपभोक्ताबाट आइरहेको छ। सुरुको दुई हप्तासम्म शुल्क दिने म्याद बढाए पनि यस्तो अवस्था लामो समयसम्म बढाउन नसकिने भट्टको भनाइ छ।

‘हामीलाई अहिले बाध्यता छ, इन्टरनेट किनेर ल्याउनु पर्छ र अत्यावश्यक भनेर ग्राहकलाई उपलब्ध गराउनु पर्छ,’ भट्टले भने, ‘यस्तो अवस्था कति दिनसम्म लम्बिने हो, कति दिनसम्म धान्न सक्छौं र हामीले।’

व्यान्डविथ भारतबाट किनेर ल्याउनु पर्छ। भारतीय कम्पनीहरुले भुक्तानीका लागि दबाब दिइरहेको भट्टको भनाइ छ।

नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्ताबाट दबाब आइरहेकाले सक्ने वर्गलाई सहयोग गरिदिन अनुरोध गरेको उनले बताए। सोहीअनुरुप अशक्त र वृद्धवृद्धालाई भने सहयोग गरिरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .