कारोबार


डेढ दर्जन कम्पनीको कर्पोरेट हब थियो, खण्डहर बन्यो सेन्ट्रल बिजनेस पार्क

डेढ दर्जन कम्पनीको कर्पोरेट हब थियो, खण्डहर बन्यो सेन्ट्रल बिजनेस पार्क

खण्डहर बनेको सेन्ट्रल बिजनेस पार्क (सरोज नेपाल/नेपालखबर)


निर्दोष घोरसाइने
भदौ ३१, २०८२ मंगलबार १२:८, काठमाडौँ

काठमाडौंको थापाथली चोकबाट माइतीघर सोझिँदा दायाँतर्फ आगोले डढेको ठूलो अग्लो भवन देखिन्छ। दर्जनौँ कार्यालयहरु रहेको उक्त भवन भदौ २४ को जेनजी प्रदर्शनको मुख्य तारो बन्यो।

प्रदर्शनकारीले आगो लगाएकाले अहिले यो भवनका सिसाले बनेका झ्यालहरू ध्वस्त छन् भने ज्वाला र धूवाँले सिंगो भवन आधा डढेको अवस्थामा छ। 

दर्जनौँ कर्पोरेट कार्यालय रहेको त्यो भवन सेन्ट्रल बिजनेस पार्क हो। जुन वर्षौँ समय लगाएर क्लिन डेभलपर्स प्रालिले निर्माण गरेको थियो। 

विशेषगरी अटोहब रहेको यो क्षेत्रमा कर्पोरेट कार्यालयहरुको लागि सीमित स्पेस छ।

त्यही सीमित स्पेसमा ठडिएको यो भवनले धेरै कार्यालयहरुलाई राहत दिइरहेको थियो। त्यसैकारण यो भवन कुनै एक व्यक्तिको नाममा छैन। 

८ तलाको यो भवनमा विभिन्न व्यापारिक घरानाले कार्यालय राखेर स्वामित्व लिएका छन्। बाँकी खाली स्थानमा अन्य संघ÷संस्थालाई भाडामा लगाइएको छ। अर्थात् सेन्ट्रल बिजनेस पार्क सामूहिक स्वामित्वमा उभिएको थियो।

यसको हाताभित्र अन्डरग्राउन्ड पार्किङ, खुल्ला ठाउँ, पर्याप्त भौतिक पूर्वाधार छ। सुरक्षाको दुष्टिकोणले पनि अब्बल मानिने भएकाले पार्कले व्यवसायीहरुलाई तानेको थियो।

तर जेनजी प्रदर्शनमा लागेको आगोले पिल्सिएकाले अहिले यहाँ एक किसिमको सन्नाटा छ। व्यवसायीहरु त्रास र अन्योलको स्थितिमा छन्। 

भए र देखेजति सार्वजनिक सम्पत्तिमा आगो झोसेका प्रदर्शनकारीले सेन्ट्रल बिजनेस पार्कलाई पनि छाडेनन्। परिणामतः आफ्नो कार्यालय रहेको सेन्ट्रल बिजनेस पार्क जलिरहेको दृश्य व्यवसायीहरुले हेरेर बस्न बाध्य भए। 

प्रदर्शन साम्य भएपछि त्यहाँ पुगेका एक व्यवसायीका अनुसार  भवनको अघिल्लो भागमा रहेका कार्यालयहरु पूर्ण रुपमा ध्वस्त भएका छन्। पछिल्लो भागमा रहेका केही कार्यालयहरुमा आंशिक क्षति पुगेको छ। 

ती व्यवसायीले भने, ‘व्यवसायमा परेको वज्रपात व्यक्त गर्न नै नसक्ने अवस्थामा छु। देश नै पीडामा रहेको बेला व्यवसायमा परेको क्षतिबारे बोल्ने अवस्था नै छैन।’

यी कम्पनीका थिए कार्यालय 
यस भवनको चौथो तलामा क्लाउड हिमालयनको डाटा सेन्टर थियो। डाटा सेन्टरमा तुलनात्मक रुपमा कम क्षति भएको यसका कर्मचारीहरु बताउँछन्।  

सुरक्षा प्रदान गरिरहेका एक कर्मचारीका अनुसार डाटा सेन्टरभित्र रहेको सुरक्षा उपकरण र प्रयासबाट ठूलो क्षति पुग्न नपाएको हो। आगजनी भएको दिन पनि डाटा सेन्टरको  सुरक्षामा रहेको उनीहरुको भनाइ छ। 

सेन्ट्रल बिजनेस पार्क वर्षौँदेखि कर्पोरेट कार्यालयहरुको लागि सुरक्षित र सुविधासम्पन्न विकल्प बनेको एक जना कार्यालय सञ्चालकले बताए। 

‘यहाँ मिडिया हाउस, एजुकेसन कन्सल्टेन्सी, कफी सप, होटल, बैंकका कार्यालय, ल फर्म, सिमेन्टका कर्पोरेट कार्यालय, टायर, डाटा सेन्टर, सोलार कम्पनी लगायत थिए’, उनले नेपालखबरसँग भने।  

तर अहिले यो खण्डहर संरचनामा परिणत भएको छ। 

यस भवनमा कान्तिपुर मिडिया ग्रुपको कार्यालय पनि छ। यस भवनबाटै कान्तिपुर पत्रिका प्रकाशन हुन्छ। २४ गतेको यस भवन जलाउनुअघि केही उग्र प्रदर्शनका कारीले ‘कान्तिपुर सिध्याउन’ सल्काएको आगोले पार्कमा कार्यालय खोलेर सेवा प्रदान गरिरहेका कर्पोरेट हाउसहरु पनि खरानी भएका छन्। 

यही भवनमा रहेका ग्लोबल आईएमई बैंकको कार्यालय, बैंकको स्टोर, अपोलो टायर, कान्तिपुर मिडिया ग्रुप, इन्डियन आयल र आईसीआईसी बैंकको नेपाल प्रतिनिधि कार्यालय, नेपाल बैंकर्स संघ, शाओमी, रिद्धिसिद्धि सिमेन्ट, अलाइएन्ट इन्स्योरेन्स ब्रोकर्स, वरिष्ठ अधिवक्ता शम्भु थापाको कार्यालय, आर२एम, रुंगटा ग्रुप, पर्थ इन्टरनेशनल, क्लाउड हिमालयन, आर्क्स ग्रुप, आरएमसी सिमेन्ट, नर्भिक हस्पिटल, एसजी होल्डिङ्स, माउन्टेन सोलार होल्डिङ्स, न्यौपाने ल फर्म, सेमिनार हललगायत सबै नराम्ररी प्रभावित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad