कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि लगानी गरिरहेको छः सिइओ गुरूङ
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखे पनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तर्क्रियामा सीईओ गुरुङले बैंकको ऋण विविधीकरण गरिरहेको बताए। अटोमोबाइल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए ।
उनले अटोमोबाइल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या पनि कम भएको बताए ।
‘अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ। त्यसमा खराब कर्जा पनि बढ्ने गरेको छ । तर, अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम रहेको छ,’ उनले भने।
बैंकहरुले कुनै पनि सवारी साधनको ब्रान्डलाई कर्जा प्रवाह गर्दा ग्राहकको गाडीप्रतिको सोच कस्तो छ भनेर पनि हेर्ने गरेको उनको भनाइ छ।
‘व्यावसायिक गाडीमा लगानी गर्दा बढी चुनौती छन्। निजी गाडीमा कर्जा दिँदा व्यक्तिको सम्पत्ति पनि धितो राख्ने गरेका छौँ’, उनले भने।
उनले ‘लोन टु भ्यालू रेसियो’ देशअनुसार फरक फरक हुने गरेको बताए । व्यावसायिक र निजी गाडीमा पनि ‘लोन टु भ्यालू रेसियो’ फरक फरक हुने उनको भनाइ छ ।
Shares

प्रतिक्रिया