बजारको एक तिहाइ हिस्सा ओगटेको बैंकिङमा देखिएको नाफाले यो हप्ता बजारलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सकेन।
बजारको २५ प्रतिशत हिस्सा राखेको बैंकिङ क्षेत्रले यो सात नेतृत्व गर्ने अपेक्षाविपरीत बजारले एउटै अंकमा रुमलिन पुग्यो।
हप्ताभर समग्रमा नेप्से सूचक ४ अंकले घट्न पुग्यो। आइतबार २७६१ अंकमा बन्द भएको नेप्से सूचक अन्तिम दिन बिहीबार २७५७ अंकमा बन्द हुन पुग्यो।
सेयरबजारमा सूचीकृत कम्पनीहरुले धमाधम आव २०८१/८२ को वित्तीय विवरण यो साताभर नै सार्वजनिक गरे। जसअनुरुप बैंकिङ क्षेत्रले मात्रै यो पटक नाफा बढेको विवरण सार्वजनिक गरेका थिए।
जसमा एउटै बैंकले अधिकतम ४५ हजार प्रतिशतसम्मले नाफा बढेको विवरण प्रस्तुत गर्दा अधिकांश बैंकको लाभांश क्षमतामा उल्लेख्य सुधार देखिएको थियो।
बजार नेतृत्व गर्नसक्ने बैंकिङ क्षेत्रको सुधारिएर आएको वासलातले सेयरबजारलाई उकालो यात्रामा लैजान सक्ने अनुमानका बीच नेप्से उल्टो घटेको छ।
यो साता सूचक मात्रै नघटी कारोबार रकम पनि ७ अर्बबाट खुम्चिएर ४ अर्बमा आइपुगेको छ।
आइतबार लगानीकर्ताले कुल ७ अर्ब ६१ करोड कारोबार गरेकोमा बिहीबारसम्म आइपुग्दा कारोबार रकम घटाएर ४ अर्ब ८७ करोडमा झारेका छन्।
सामान्यतया बजारमा सूचीकृत कम्पनीको वित्तीय विवरणअनुसार भदौको पहिलो साता सूचक बढ्ने र घट्ने गर्छ। अर्थात् वित्तीय विवरणले बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। तर यस पटक बैंकिङ क्षेत्रको नाफा सुधारिएर आउँदा पनि दोस्रो बजारमा भने त्यसको खासै प्रभाव पर्न सकेन।
अन्य कम्पनीहरुको पनि यो साता उस्तै अवस्था रहन पुग्दा समग्रमा बजार अपेक्षित रुपमा बढ्न सकेन। सूचक घटबढको आधारमा भने यो साता तीन कारोबार दिन सूचक घटेन बजार राताम्मे बन्न पुग्यो भने दुई दिन सामान्य अंकले बढेर हरियाली छाउन पुग्यो।
पाँच दिन नै काराबारमा आएको बजारले साताभर अधिकतम २८०३ अंक र न्युनतम २७५५ अंकसम्म ओर्लिन पुग्यो।
समग्रमा यो साता बजार स्थिर नै रहन पुग्दा लगानीकर्ता पर्ख र हेरको रणनीतिमा देखिए। जसका कारण काराबार रकम पनि खुम्चिन पुग्यो।
Shares

प्रतिक्रिया