कारोबार


खर्च गर भनेर व्यक्तिको खातामा सरकारले पैसा पठाए मात्रै अर्थतन्त्र चलायमान हुन्छ : पूर्वगभर्नर नेपाल

खर्च गर भनेर व्यक्तिको खातामा सरकारले पैसा पठाए मात्रै अर्थतन्त्र चलायमान हुन्छ : पूर्वगभर्नर नेपाल

नेपालखबर
साउन १४, २०८२ बुधबार १२:११, काठमाडौँ

पूर्वगभर्नर चिरञ्जीवि नेपालले विकसित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरेपनि नेपालमा कहिल्यै त्यस्तो नभएको बताएका छन्। 

नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताए।

‘अर्थतन्त्र चलायमान नभएका बेला विस्तारकारी ठूलो बजेट चाहिन्छ,’ नेपालले भने, ‘ठूला आयोजनामा लगानी गर्ने बजेट, करका दर घटाउने बजेट चाहिन्छ। त्यतिमात्रै नभई विकसित देशमा कतिको खातामै सरकारले खर्च गर भनेर पैसा नै पठाइदिन्छ। त्यस्तै नेपालमा पनि सरकारको बजेटबाट त्यसो गर्न सक्नुपर्छ।’

मौद्रिक नीतिले धेरै लचकता लिएको भन्दै उनले यसले मुलुकको अर्थतन्त्रलाई चलाउने भए पनि यसका जोखिमहरु पनि धेरै रहेको बताए।

‘भोलिका दिनमा पैसा उपभोगमा मात्रै गयो भने आयात बढेर फेरि विदेशी सञ्चितिमा बढी दबाब पर्ने त होइन,’ नेपालले भने, ‘हामीलाई हिजोका दिनमा विदेशी सञ्चितिमा असर पर्दा के भएको थियो, त्यसको हेक्का समेत राख्नुपर्छ। भोलिका दिनमा उपभोक्ताहरुले थेरै ब्याजदर भयो भन्दै बैंकबाट निक्षेप निकालेर अब हामी यसलाई उपभोग गर्छौं भन्न थाले भने ब्याजदर बढ्नसक्छ। लामोसमयसम्म लगानी गर्नका लागि न्यून ब्याजदर कहिलेसम्म रहन्छ भन्ने हामीले हेर्नुपर्ने स्थीति छ।’

उनले थपे, ‘रेमिट्यान्समा धेरै ब्याजदर सम्बन्धित देशले दिन थाले पूँजी नआउने हो की? बोर्डर खुल्ला छ, हाम्रोमा चलन नै छ, यता ब्याजदर कम भयो भनेर पारी लगेर पैसा राख्ने हो की?  अहिले पनि बोर्डरका मान्छे धेरैले भारतका बैंकहरुमा पैसा राख्ने गरेका छन्। यसरी फेरि उता पूँजी पलायन भएर हामीकहाँ तरलता अभाव हुने हो की?’ 

नेपालले विगतमा स्टीमुलस प्याकेज ल्याएर अर्थतन्त्र सुधार्नुपर्नेमा सरकार चुकेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad