नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही सम्भावना छैन भन्ने भाष्य बदल्न निजी क्षेत्रले सरकारसँग सहकार्य गरिरहेको बताएका छन्।
नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिटमा घरेलु लगानी र आर्थिक वृद्धिबारे धारणा राख्दै उनले घरेलु पुँजी परिचालनबाटै ठूला आयोजना बनाउन सकिने उल्लेख गरेका हुन्।
अध्यक्ष ढकालले देशमै सम्भावना छ र देशकै पुँजी परिचालन गर्न सक्नुपर्ने उल्लेख गरे। कोभिड महामारीले थिलोथिलो पारेको अर्थतन्त्रलाई संकुचनबाट जोगाउन महासंघको नेतृत्वमा रहेको हिसाबमा र आफैँ पनि लगानीकर्ता र व्यवसायी भएको हिसाबमा देशका लागि दिने योगदानबारे सोचेको बताए।
उनले सरकारले पनि निजी क्षेत्रको समस्या समाधान गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको, ३० भन्दा बढी कानुन संशोधन गरी लगानीमैत्री वातावरण निर्माणमा ध्यान दिएको बताए।
निजी क्षेत्रले सरकारको विरोध मात्रै गर्नुपर्छ भन्ने नरहेको र यो सोचलाई बदल्न आफ्नो नेतृत्वमा महासंघले ध्यान दिएको उनको भनाइ छ।
उनले राजनीतिक दलहरूले मिसन ०८४ भनिरहेको तर अर्थतन्त्र सुधारको योजना अघि नसारेकोमा चिन्ता व्यक्त गरे। अबको समृद्धिको आधारमा केके कुरा गर्न सकिन्छ भनेर चुनावको एजेन्डा प्रस्तुत गर्न र खाका तयार पार्न ढकालले आग्रह गरे।
Shares

प्रतिक्रिया