पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरुको संगठन (ओपेक) र रुसबीच हालसम्मकै ठूलो तेल उत्पादन कटौतीमा सहमत भएका छन्। कोरोनाभाइरस महामारीले विश्व आक्रान्त बनिरहेका बेला कच्चा तेल उत्पादन घटाउन सहमति भएको हो।
उक्त सहमतिसँगै विश्वको कुल उत्पादनमध्ये १० प्रतिशत कटौती हुने बीबीसीले जनाएको छ। आइतबार भिडियो कन्फ्रेन्स माध्यमबाट सम्बन्धित देशहरु उत्पादन घटाउने निष्कर्षमा पुगेका थिए। अप्रिल ९ मै यसको तयारी गरिए पनि मेक्सिकोले मानेको थिएन। योसँगै अब प्रतिदिन ९७ लाख ब्यारेल तेल उत्पादन कटौती हुनेछ।
सोमबार एसियामा तेलको मूल्य १ डलर प्रतिब्यारेल दरमा बढेको थियो। त्यस्तै बेन्चमार्क ब्रेन्ट पनि ३.९ प्रतिशतले बढेर ३२.७१ डलर प्रतिब्यारेल मूल्य कायम भएको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट पनि ६.१ प्रतिशतले बढेर २४.१५ प्रतिब्यारेल मूल्य कायम भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनयता यस्तो सम्झौता चाँडै हुने बताउँदै आएका थिए। उनले सम्झौताको प्रशंसा गर्दै यसले अमेरिकामा हजारौँ ऊर्जा रोजगारी जोगिएको टिप्पणी गरेका छन्। सम्झौताका लागि उनले साउदी राजकुमार किंग सलमान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बधाई समेत भनेका छन्।
महामारीका कारण विश्वमा तेलको माग ह्वात्तै घटेको छ। यसले गर्दा मार्चयता तेलको मूल्य पनि निरन्तर ओरालो लागिरहेको छ। अप्रिल २ मा ट्रम्पले सम्झौताबारे बताएपछि भने पुनः बढेको थियो। यसअघि १ करोड ब्यारेल कटौती गर्ने भनिए पनि त्यो भने नहुने भएको छ। यसबाहेक ओपेक बाहिरका अमेरिका, क्यानडा, ब्राजिल र नर्वेले ५० लाख ब्यारेल दैनिक उत्पादन कटौती गर्ने बीबीसीले जनाएको छ।
Shares

प्रतिक्रिया