ad ad

कारोबार


धेरै भीड हुने स्थानमा चौधरी फाउन्डेसनको ध्यानः सुदूरपश्चिममा बाँड्यो पीपीई र उपचार सामग्री

धेरै भीड हुने स्थानमा चौधरी फाउन्डेसनको ध्यानः सुदूरपश्चिममा बाँड्यो पीपीई र उपचार सामग्री

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ५:४०,

चौधरी फाउन्डेसनले सुदूरपश्चिम प्रदेशका धनगढी, डडेल्धुरा, दार्चुला र बैतडी जिल्ला अस्पतालमा एन–९५ मास्क, स्यानिटाइजरसहितका व्यक्तिगत सुरक्षा (पीपीई) र उपचार सामग्री उपलब्ध गराएको छ।

कोरोनाभाइरस रोग (कोभिड–१९) रोकथाम र उपचारका लागि फाउन्डेसनले ठूलो संख्यामा नागरिक आवतजावत हुने भारतसँगका सीमावर्ती प्रदेशमा आफ्नो ध्यान केन्द्रित गर्दै उक्त सहयोग सामग्री उपलब्ध गराएको हो।

शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा फाउन्डेसनले त्यस्ता स्वास्थ्य केन्द्र छनोट गरेको छ, जहाँ न्यूनतम पूर्वाधार र दक्ष जनशक्ति छन् । त्यस्ता जनशक्तिलाई सहज र निर्भयका साथ स्वास्थ्य उपचारमा उत्प्रेरित गर्नका लागि सुरक्षा सामग्री उपलब्ध गराउनु हाम्रो प्राथमिक उद्देश्य हो।’

त्यस्तै, कर्णाली प्रदेशका चौरजहारी (रुकुम पश्चिम) र कर्णाली प्रादेशिक अस्पतालमा पनि यी सामग्री हस्तान्तरण गरिएको छ। सुरक्षा सामग्री ग्रहण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरे। खाडी मुलुक, मलेसिया र भारतमा रोजगारीका लागि जानेको संख्या प्रदेश नं।२ मा ठूलो भएकाले यो क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा छ ।

त्यसैले त्यहाँका नागरिकको सुरक्षामा पनि ध्यान केन्द्रित गरेको फाउन्डेसनको भनाइ छ। फाउन्डेसनले प्रदेश २ का मुख्यमन्त्री र सरकारसँग नजिकको समन्वय कायम गरी जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा अस्पताललाई थप सुरक्षा सामग्री उपलब्ध गराएको छ।

सहयोग ग्रहणपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएका नागरिकका कारण संवेदनशीलता बढेको भन्दै गुणस्तरीय सुरक्षा सामग्री उपलब्ध गराएकोमा फाउन्डेसनप्रति आभार व्यक्त गरे।

‘अहिलेको विपत्तिका बेला परीक्षण र सुरक्षा सामग्रीको व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको थियो । यस्तो बेला एक कदम अघि सरेर चौधरी फाउन्डेसनले नागरिक सुरक्षाका लागि उपलब्ध गराएका यी सामग्रीप्रति आभारी छौं’, उनले भने।

अझै पनि मुलुकभरिबाट ठूलो संख्यामा सुरक्षा सामग्रीको माग आउने क्रम जारी रहेकोले सबै ठाउँमा सामग्री पुर्‍याउन नसकेको फाउन्डेसनले जनाएको छ। यद्यपि स्वास्थ्य संस्थाहरूको आवश्यकता, पूर्वाधार उपलब्धता र सम्भावित जोखिमलाई ध्यानमा राखेर सकेसम्म धेरै सामग्री पुर्‍याउने प्रयास गरिएको विज्ञप्तिमार्फत जनाइएको छ।

यही क्रममा नेपाल मेडिकल एसोसियसन, धुलीखेल अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालयलगायत महत्वपूर्ण संस्थाका लागि पनि सुरक्षा सामग्री उपलब्ध गराएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसन अध्यक्ष विनोद चौधरीले सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरूले नागरिक सुरक्षामा थोरै भए पनि योगदान गर्न पाउँदा सन्तोष लागेको बताए।

‘अहिलेको समयमा जसले जहाँबाट सक्छ, त्यहीँबाट कोरोनाविरुद्धको राष्ट्रिय अभियानमा साथ दिनुपर्छ’, उनले भने, ‘हाम्रो प्रयासमा प्रदेश सरकारहरूको ठूलो सहयोग रह्यो । स्वास्थ्य संवेदनशीलता बुझेर मुख्यमन्त्रीज्यूहरूले देखाउनुभएको समन्वयकारी भूमिकाप्रति हामी आभारी छौं।’

अहिले सबैभन्दा बढी जोखिमयुक्त तीन प्रदेशका स्वास्थ्य संस्थाका लागि सुरक्षा सामग्री वितरण गरिएको भन्दै उनले स्वास्थ्यकर्मीहरू अब ढुक्कले परीक्षणमा संलग्न हुने अवस्था आएको उल्लेख गरे।

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं कि हाम्रो पहिलो प्राथमिकता उपचार र परीक्षणमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा हो । साथै न्यूनतम उपकरण र पूर्वाधार भएका स्वास्थ्य केन्द्रलाई सबल बनाउने हाम्रो उद्देश्य हो’, उनले भने। फाउन्डेसनले यसअघि बुधबारमात्रै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १ हजार ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .