कारोबार


११ महिनामा वीरगन्ज नाकाबाट पौने २ खर्बको पेट्रोलियम पदार्थ आयात

११ महिनामा वीरगन्ज नाकाबाट पौने २ खर्बको पेट्रोलियम पदार्थ आयात

फाइल तस्बिर


रासस
असार ८, २०८२ आइतबार १२:१६, वीरगन्ज (पर्सा)

चालू आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो।

समग्रमा गत आवको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब छ करोडले घटेको छ। सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको छ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालू आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ। यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र  सवारीसाधनको आयातमा निर्भर रहेको छ। 

चालू आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले  ७३ अर्ब १८ करोड संकलन गरेको छ। जबकि गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट  ६५ अर्ब ५४ करोड संकलन भएको छ। 

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालू आवको जेठ मसान्तसम्म  ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ। गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने नौ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ। डिजेल आयातबापत कार्यालयले ४१ अर्ब तीन करोड राजस्व संकलन गरेको छभने गत आवको सोही अवधिमा भने ३६ अर्ब चार करोड संकलन गरेको थियो।

त्यसैगरी, चालू आवको ११ महिनामा ३५ अर्ब ३४ करोडको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ। जबकि गत आवको ११ महिनामा  ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ। पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड संकलन गरेको छ। 

यो नाका हुँदै चालू आवको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपीजी ग्यास आयात भएको छ। जबकि गत आवको सोही अवधिमा २७ अर्ब ७१ करोडकोे २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपीजी ग्यास आयात भएको छ। ग्यास आयातबापत छ अर्ब  २४ करोड राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट पाँच अर्ब १६ करोड संकलन गरेको छ।

वीरगन्ज नाका हुँदै चालू आवको ११ महिनामा १५ अर्ब तीन करोड मूल्यको एक लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ। जबकि गत आवको ११ महिनामा भने १७ अर्ब ११ करोड मूल्यको एक लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको छ। एटिएफ आयातबापत दुई अर्ब ३५ करोड संकलन गर्न सफल भएको छ। जबकि गत आवको सोही अवधिमा दुई अर्ब ४७ करोड राजस्व संकलन गरेको थियो। 

यो नाका हुँदै  चालू आवको ११ महिनामा ५९ करोड मूल्य पर्ने छ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ। गत आवको सोही अवधिमा भने ६३ करोड मूल्यको छ हजार १२० किलोलिटर मट्टितेल आयात भएको छ। मट्टितेल आयातबाट १६ करोड राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा १६ करोड नै राजस्व संकलन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad