ऊर्जामन्त्री दीपक खड्काले टेक एन्ड पे सच्चिने बताए पनि अर्थमन्त्री विष्णु पौडेलले भने संसद्मा यसको बचाउ गरेका छन्।
सोमबार सांसदहरुले उठाएका प्रश्नलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले विचाराधीन विधेयकलाई ख्याल गरी टेक एन्ड पेको व्यवस्था ल्याएको बताएका हुन्।
‘सदनमा विचाराधीन विद्युत् विधेयक पारित भएपछि विद्युत् व्यापारको दायरा फराकिलो हुनेछ। विद्युत् प्राधिकरणलाई मात्र विद्युत् बिक्री गर्नुपर्ने हालको अवस्था अन्त्य हुनेछ’, अर्थमन्त्री पौडेलले भने, ‘यसबाट विद्युतमा निजी क्षेत्रको लगानी थप विस्तार हुनेछ। कानुन विचाराधीन भएको अवस्थामा टेक एन्ड पेको प्रस्ताव गरिएको हो।’
उनले विधेयक पारित भएपछि बढी उत्पादन भएको विद्युत् निजी क्षेत्रले बिक्री गर्नसक्ने प्रबन्ध हुने बताए।
‘विद्युत् उत्पादनमा निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने सरकारको सोच होइन। हामी प्रोत्साहित गर्न चाहन्छौँ’, उनले भने, ‘उत्पादन मात्र होइन प्रसारण र बिक्रीमा समेत निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न चाहन्छौँ। त्यसैले यो विषयलाई चिन्ताका रूपमा नलिन आग्रह गर्छु।’
गत हप्ता मात्रै दीपक खड्काले ऊर्जा विकास मार्गचित्रविपरीत टेक एन्ड पेको व्यवस्था राख्न नहुने बताएका थिए। उनले संसदबाटै टेक एन्ड पेको व्यवस्था सच्चिने बताएका थिए।
सरकारले २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् खपत गर्ने मार्गचित्र स्वीकृत गरेको छ।
Shares

प्रतिक्रिया