कारोबार


दैलेखमा च्याउले धान्यो लकडाउनको तरकारी अभाव

दैलेखमा च्याउले धान्यो लकडाउनको तरकारी अभाव

रासस
चैत २६, २०७६ बुधबार ६:५,

विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको घोषणाको अवधि दुई साता भइसकेको छ।सङ्क्रमण नेपालमा बढ्दै जान थालेपछि उच्च सतर्कतासँगै अन्तरपालिका आवतजावतसमेत बन्द गरिएको छ।

लकडाउनका कारण दैनिक उपभोग्य सामग्रीको रूपमा रहेका तरकारी उत्पादन र बिक्रीवितरणमा अन्यत्र समस्या देखिएको भए पनि सदरमुकाम दैलेख बजारमा युवा व्यवसायीले उत्पादन गरेको च्याउले दैलेख बजारको तरकारी अभावलाई धानेको छ।

सदरमुकामको दैलेख बजारमै युवा उद्यमी विजय ज्ञवालीले च्याउ उत्पादनका लागि दुई हजार सिलिन्डर निर्माण गरेर धमाधम च्याउ उत्पादन सुरु गरेका छन्। पोषिलो आहारका रूपमा रहेको च्याउ उत्पादनले सदरमुकाम दैलेख बजारको तरकारी अभावलाई पूरा गरेको छ।

लकडाउनमा अरूले सामानको मूल्य बढाउने गरेको भए पनि राधाकृष्ण च्याउ उत्पादन तथा प्रशोधन रिसर्च सेन्टरले उत्पादन गरेको च्याउको मूल्य बढाइएको छैन । दैनिक २५ केजी च्याउ उत्पादन क्षमता रहेको उद्योगले लकडाउनको १३ औँ दिनसम्म पनि २५० रुपैयाँ प्रतिकेजी च्याउ बिक्री गरेको छ ।

कोरोना सङ्क्रमणबाट बच्न पोषिलो झोल कुरा खानुपर्ने स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुकाएको र दैनिक उत्पादन भएको ताजा च्याउ लिन घरमै मानिसहरू पुग्ने गरेका छन्। १० लाख रकम लगानी गरेर च्याउ उत्पादन शुरु गरेका ज्ञवालीका तीन जनाको परिवार र अन्य चार कर्मचारी दैनिक च्याउ उत्पादनमा खटिएका छन्।

च्याउका लागि आवश्यक पर्ने पराल, पराल काट्ने मेसिनसमेत ज्ञवालीले घरमै जोडेका छन्। घरको तल्लो तलाका पाँच र माथिल्लो तलाका दुई कोठामा च्याउ उमार्न सुरु गरिएको छ । पोषिलो ताजा उत्पादन र घरमै च्याउ पाएपछि निकै सहज भएको स्थानीयवासी अनिता केसीले बताइन्।

घरमै उद्यम गर्न सके रोजगारी र आम्दानी हुन सक्छ भन्ने उद्देश्यले च्याउ खेती गरेको ज्ञवालीले बताए।

“भकारीमा छ महिनासम्म खाना राखेर जोहो गर्ने चलन हराउँदै गयो, युवाहरूलाई विदेशमा गएर श्रम गर्नुपर्ने बाध्यता भयो, यस्ता कुरालाई हटाउन मैले घरमै च्याउ खेती सुरु गरेको हुँ”, ज्ञवालीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad