कारोबार


लगानीयोग्य रकम बढेपछि वाणिज्य बैंकहरूले घटाए विदेशी बैंकबाट लिने कर्जा

लगानीयोग्य रकम बढेपछि वाणिज्य बैंकहरूले घटाए विदेशी बैंकबाट लिने कर्जा

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १४:१७, काठमाडौँ

कर्जा प्रवाह अपेक्षित हुन नसक्दा अधिक तरलताको शिकार भइरहेका वाणिज्य बैंकहरूले विदेशी बैंकबाट ३९ अर्ब बढीको ऋण लिएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म १० वाणिज्य बैंकले कुल ३९ अर्ब ६३ करोड रुपैयाँ ऋण लिएका हुन्। यो ऋण गत वर्षको तुलनामा भने कम नै हो। 

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले कुल ४८ अर्ब २७ करोड यस्तो ऋण लिएका थिए।  

करिब ७ अर्ब बराबरको लगानीयोग्य रकम बोकेर बसेका बैंकहरूले गत चैत महिनाको तुलनामा वैशाखमा यस्तो ऋणलाई थप घटाउँदै लगेको तथ्यांकले देखाएको छ। चैत मसान्तसम्म बैंकहरूले विदेशी बैंकबाट ४१ अर्ब ४६ करोड ऋण लिएकोमा वैशाखसम्म आइपुग्दा २५.०४ प्रतिशतले घटेको हो। 

ग्लोबल बैंकले १२ अर्ब लिँदा अरुले कति लिए? 
२० वाणिज्य बैंकमध्ये १० वटाले मात्रै विदेशी बैंकहरूबाट ऋण लिएका छन्। 

राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैैंक, एनआईएमबी, एनएमबी, प्राइम, माछापुच्छ्रे, कुमारी, लक्ष्मी सनराइज र सानिमा बैंकले विदेशी बैंकहरूबाट ऋण लिएका हुन्। 

जसमध्ये सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकले ऋण लिएको छ। यो बैंकले वैशाख मसान्तसम्म विदेशी बैंकबाट कुल १२ अर्ब ७ करोड ऋण लिँदा एनएमबी बैंकले ६ अर्ब ५८ करोड रुपैयाँ लिएको हो। 

यस्तै सिद्धार्थ बैंकले ५ अर्ब ७२ करोड रुपैयाँ ऋण लिँदा एनआईएमबी बैंकले ५ अर्ब ४५ करोड, प्राइम बैंकले २ अर्ब ७३ करोड, सानिमा बैंकले २ अर्ब ५९ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब ५ करोड रुपैयाँ ऋण लिएका हुन्। 

नेपाल राष्ट्र बैंकले बैंकहरूमा तरलता अभाव चुलिएको भन्दै २०७४ सालमा विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको थियो। 

त्यतिबेला आफ्नो पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउनसक्ने व्यवस्था गरे पनि पछि ऋण लिन सहजीकरण गर्दै शतप्रतिशतसम्म पाउने व्यवस्था गरिएको छ।  

शतप्रतिशतसम्म ऋण पाउने भएपछि वाणिज्य बैंकहरूले यसअघिका दुई वर्षमा विदेशी बैंकहरूबाट लिने ऋणको मात्र बढाएका थिए। 

राष्ट्र बैंकका अनुसार आव २०७८/०७९ मा ५८ अर्ब ३ करोड ऋण ल्याएका बैंकहरूले आव २०७९/८० मा बढाएर ६४ अर्ब ४० करोड पुर्‍याएका थिए। तरलता अभावको समस्या चरम भइरहेको तत्कालीन समयमा बैंकहरूले विदेशी बैंकहरूबाट लिने ऋण बढाएर यसको व्यवस्थापन गरेका थिए। 

लगत्तै आव २०८०/८१ मा बैंकहरूसँग हुने तरलता सन्तुलित बन्दै गएपछि बैंकहरूले यस्तो ऋणलाई क्रमशः घटाउँदै लगेका छन्। 

वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूमा ७ अर्बमाथिको तरलता सञ्चित हुँदा कर्जा निक्षेप अनुपात पनि ७९ प्रतिशतमा छ।

चालू आवको सुरुबाटै तरलता फालाफालको अवस्था सिर्जना भएकाले बैंकहरूले ब्याजदरलाई घटाएर तल्लो विन्दुमा ल्याएका छन्। 

यद्यपि कर्जा प्रवाहमा अपेक्षित वृद्धि नहुँदा तरलता व्यवस्थापन समस्या बन्दै गइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad