हप्ताको पाँच दिन नै कारोबारमा आएको सेयरबजारमा तीन दिन सूचक घट्दा पनि साताभर नै लगानीकर्ता उत्साहित देखिन पुगे।
आइतबार, बुधबार र बिहीबार सूचक घटेर बजार राताम्मे बन्दा सोमबार र मंगलबार सूचक बढेर बजारमा हरियाली छाउन पुग्यो। समग्रमा बजार यो साता १४.४२ अंकले मात्रै बढेको छ।
आइतबार २६४०.९६ अंकमा सुरु भएको बजार बिहीबार २६५५.३८ अंकमा बन्द भएको हो।
यो साताभर बजारलक्षित ठूला सूचनाहरु नबाहिरिए पनि सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको कमिसन चर्चा भने छाइरह्यो। बोर्डका अध्यक्ष श्रेष्ठले जलविद्युत् व्यवसायीहरुसँग आईपीओ निष्काशनमा कमिसन मागेको विषयले यो हप्ता पनि प्राथमिकता पाउँदा नियमनलाई लिएर बजारमा लगानीकर्ता सशंकित भइरहन पुगे।
यद्यपि आउँदै गरेको मौद्रिक नीति, सस्तिएको ब्याज, सेयर धितो कर्जामा घटेको जोखिमभारलगायतका कारणले पनि यो साता बजारलाई सकारात्मक माहोल सिर्जना गर्न सहयोगी बन्यो। जसले गर्दा बजारमा घट्ने र बढ्नेक्रम मिश्रित देखिन पुग्यो।
सूचक मिश्रित देखिए पनि कारोबार भने यो साता पछिल्लो तीन महिनाकै धेरै भएको छ। यसले पनि लगानीकर्ता बजारप्रति सकारात्मक भएको देखाउँछ। यो साताको पाँच कारोबार दिनमध्ये दुई दिन ८ अर्ब माथिको, दुई दिन ९ अर्ब माथिको र एक दिन बिहीबार १२ अर्बमाथिको कारोबार भएको हो।
बिहीबार भने लगानीकर्ताले तीन महिनायताकै सर्वाधिक कारोबार गरेका हुन्। यसअघि फागुन २० गते १२ अर्ब ९४ करोडको कारोबार भएको थियो त्यसयता सोहीबराबरको कारोबार भएको थिएन।
बिहीबार भने कुल १२ अर्ब ६ करोड रुपैयाँको सेयर कारोबार भएको हो।
हप्तैभर बढे यी कम्पनी
पियोर इनर्जी कम्पनीको हप्ताभर नै मूल्य बढेको छ। प्राथमिक निष्काशनपछि धितोपत्र दोस्रो बजारमा आएयता यो कम्पनीको सेयरमूल्य निरन्तर बढ्दै आएको छ।
सामान्यतया आईपीओ दोस्रो बजारमा सूचीकृत हुनासाथ त्यसको माग अन्य समयको तुलनामा उच्च रहन्छ। बिक्री शून्य हुने र खरिदमाग बढ्ने हुँदा सूचीकृतपछिका केही समय मूल्य बढ्छ।
पियोर इनर्जी यो हप्ता सबै कारोबार दिन मूल्य बढ्नेमा पहिलो नम्बरमा छ। यसको प्रतिकित्ता ३०२ रुपैयाँ ६ पैसाले मूल्य बढेको हो।
त्यस्तै दोस्रो स्थानमा छ, बुटवल पावर कम्पनी। यो कम्पनीको सातामा ३ दिन सेयरमूल्य बढ्दा दुई दिन घटेको छ। साताभर समग्रमा मूल्य प्रतिकित्ता १३२ रुपैयाँ ७८ पैसाले बढेको हो।
योबाहेक रिभरफल्स र चिलिमे हाइड्रो पनि तीन दिन बढ्ने कम्पनीमा परेका छन्। यी कम्पनीकहरुको यो साता क्रमशः कित्तामा ९६ रुपैयाँ १५ पैसा र ८० रुपैयाँ ६० पैसाले बढेको हो।
नेपाल माइक्रो हप्तैभर घट्यो
यस्तो नेपाल माइक्रो इन्स्योरेन्सले भने यो हप्ताभर राताम्मे बन्न पुग्यो। कारोबारमा आएका पाँचै दिन यो कम्पनीको मूल्य घटेको हो।
समग्रमा यो कम्पनीको मूल्य कित्तामा ९२ रुपैयाँ ८५ पैसाले घट्का हो। कारोबार दिनका हिसाबले साताभर राताम्मे बने पनि मूल्यका आधार भने उपकार लघुवित्त वित्तीय संस्था अगाडि देखिन्छ।
पाँच कारोबार दिनमध्ये २ दिन मूल्य बढे पनि ३ दिन घट्दा यो कम्पनीका लगानीकर्ताले कित्तामा ४ सय ८६ रुपैयाँ ३७ पैसा गुमाएका हुन्।
पिभोट क्याल्कुलेसनले यी क्षेत्रमा देखाउँछ सपोर्ट
बजारको उतारचढावलाई विश्लेषण गर्ने माध्यममध्येको एक पिभोट क्याल्कुलेसनलाई आधार मान्दा आगामी हप्ता बजार बढेमा अधिकतम २८३६ अंकसम्म पुग्ने देखिन्छ भने घटेको खण्डमा २४७६ अंकसम्म ओर्लिन सक्ने देखिन्छ।
यसअनुसार आगामी हप्ता कारोबारको सुरु दिन नै बजार बढेको खण्डमा सूचकले पहिलो प्रतिरोध २६८६ अंकमा पाउने देखिन्छ। उक्त प्रतिरोध पनि भत्काएर सूचक उकालो लागेमा दोस्रो प्रतिरोध २७१६, तेस्रो प्रतिरोध २७१६, चौथो प्रतिरोध २७७६ र सोबाट पनि सूचक उकालो लागेमा बजारले अन्तिम प्रतिरोध २८३६ अंकमा पाउने देखिन्छ।
यस्तो सूचक घटेको खण्डमा भने यो क्याल्कुलेसनले २६२६ अंकमा सूचकले पहिलो टेवा पाएर बजार फर्किने देखाउँछ। यदि पहिलो दिनको टेवाले पनि बजारलाई बढाउन नसकेमा सूचकले दोस्रो टेवा २५९६ मा, तेस्रो टेवा २५३६, चौथो टेवा २५३६ र त्यसबाट पनि सूचक तल झरेमा यो हप्ताका अन्तिम टेवा २४७६ सम्ममा पाउने देखिन्छ।
Shares

प्रतिक्रिया