सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १७औँ गभर्नरमा अधिकारीलाई नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुअघि नै सूचना जारी गरी नयाँ गभर्नरको नियुक्तिका लागि सिफारिस दिन मन्त्रिपरिषदले समिति गठन गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार मन्त्रिपरिषदले चैत ९ गते अर्थमन्त्रीको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा रहेको तीन जनाको समिति गठन गरेको थियो।
उक्त समितिले कामु गभर्नर चिन्तामणि सिवाकोटी, लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी र पूर्वअर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो। उक्त ३ जनामध्ये अधिकारीलाई मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो।
निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल चैत ६ गते नै सकिएपछि नयाँ गभर्नरबारे सार्वजनिक चासो बढेको थियो। सिफारिस भएका अन्य दुईभन्दा अधिकारी व्यावहारिक क्षमता अर्थात् कार्यसम्पादनमा बढी योग्य मानिन्छन्।
को हुन् अधिकारी?
महाप्रसाद अधिकारी लगानी बोर्डका सीईओ हुन्। लगानी बोर्डमा उनको कार्यकाल अगामी असारसम्म रहेको छ। उनी योभन्दा अगाडि पनि गभर्नर नियुक्तिका लागि पनि सिफारिस भएका थिए।
उनीसँग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव छ। नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर समेत भएका अधिकारीले सन् १९९३ मादी इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरेका छन्। अधिकारी वि.सं.२०२० सालमा खोटाङमा जन्मिएका हुन्।
गभर्नरमा नवनियुक्त अधिकारी नेकपानिकटस्थ मानिन्छन्। नेकपामा पनि उनलाई माधव कुमार नेपालनिकट मानिन्थ्यो। राष्ट्र बैंकमै डेपुटी गभर्नर हुनुअगाडि उनी नेपाल निकट मानिन्थे।
उनी डेपुटी गर्भनर हुँदा तत्कालीन समयमा गभर्नरमा युवराज खतिवडा थिए। उनले खतिवडासँग नजिक रहेर काम गरेका थिए। अहिले अर्थमन्त्रीमा उनै खतिवडा छन्। सोही कारण पनि खतिवडाले अधिकारीलाई रोजेका हुन्।
विज्ञताको आधारमा उनलाई राम्रो मानिन्छ। लगानी बोर्डमा उनले आफ्नो कार्यकुशलता राम्रैसँग देखाएका छन्। बोर्डमा अधिकारीको सीईओको कार्यकाल असारसम्म थियो। केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा बोर्डको प्रमुख कार्यकारीमा नियुक्त भएका थिए।

प्रतिक्रिया