कारोबार


सर्भर र सिस्टम अपग्रेड गर्दा ई–सेवामा आएको थियो सामान्य प्राविधिक समस्या, कम्पनी भन्छ– अब आउँदैन

सर्भर र सिस्टम अपग्रेड गर्दा ई–सेवामा आएको थियो सामान्य प्राविधिक समस्या, कम्पनी भन्छ– अब आउँदैन

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार ११:५०, काठमाडौँ

भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवामा गत सोमबार दिउँसो प्राविधिक समस्या देखा परेको थियो।

धेरै प्रयोगकर्ताहरुले ई–सेवाको मोबाइल एप तथा वेबसाइट खोल्दा लगइन नहुने वा लगइन भएपछि पनि कारोबार गर्दा समस्या अनुभव गरेका थिए।

उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा थुप्रै चर्चा, टिप्पणी, आलोचना तथा कुतूहल सिर्जना भएका छन्। कतिपय सर्वसाधारण तथा प्रयोगकर्ताहरु ई–सेवा ह्याक हुने तथा ई–सेवाको सुरक्षा प्रणाली फितलो रहेको जस्ता भ्रामक खबरहरुको शिकार समेत भएको पाइएको कम्पनीले जनाएको छ। 

तर यो समस्या ई–सेवाको सुरक्षा प्रणालीको कारणले नभएर ई–सेवाको सर्भर तथा सिस्टम अपग्रेडको काम भइरहेको हुँदा त्यो समयमा उपस्थित सामान्य प्राविधिक समस्या रहेको ई–सेवाका उच्च तहका प्राविधिकले जानकारी गराएका छन्।

नेपालका धेरैजसो कम्पनीहरुमा परम्परागत डेटाबेसको प्रयोग गर्ने गरिएको र ई–सेवाले पनि सोही प्रविधि प्रयोग गर्दै आइरहेको छ।

कम्पनीका अनुसार भविष्यमा यस प्रविधिको सीमितताहरू महसुस गर्दै केही समय अघिदेखि आफ्नो डाटाबेस अपग्रेडको कार्य सुरु गरिएको थियो। 

‘त्यसको लागि ई–सेवाले विश्वप्रख्यात क्यासान्ड्रा डेटाबेसको सिस्टम भित्र्याएको छ’, कम्पनीले भनेको छ, ‘संसारभर सुक्षा तथा प्रभावकारिताको लागि चिनिएको क्यासान्ड्रा डेटाबेस संसारभरि एप्लाई पे, एनपीसीआई (नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया), अमेरिकन एक्सप्रेस (एम्एक्स), फेसबुक, इन्स्टाग्राम तथा नेटफ्लिक्सलगायतका धेरै मात्रामा डाटा प्रोसेसिङ गर्ने कम्पनीहरुले प्रयोग गर्छन्।’ 
परम्परागत डेटाबेसजस्तो एकै विन्दुबाट मात्र नभएर एकभन्दा बढी साइट (डेटा सेन्टर)बाट सञ्चालन हुने गर्दा यो सिस्टम अत्यन्तै राम्रो, प्रभावकारी, र सुरक्षित मानिने ई–सेवाको भनाइ छ। कम्पनीका अनुसार यसै सिस्टम अपग्रेडको क्रममा स्रोतहरूको अत्यधिक प्रयोग (म्याक्सिमम रिसोर्स युटिलाइजेसन)का कारण उक्त प्राविधिक समस्या उत्पन्न भएको थियो। 

कम्पनीले अग्रगामी सोचले भविष्यमा आइपर्न सक्ने डाटाबेस तथा सुरक्षा सम्बन्धी सीमाहरुलाई ध्यानमा राखेर आफ्नो सिस्टम विस्तार तथा अपग्रडको कार्य गरिरहेको उल्लेख गरेको छ। 

ई–सेवामा हाल देखा परेको समस्या सोही कारणले गर्दा भएकोले ई–सेवाको भविष्य र सुरक्षासम्बन्धी फैलिरहेको अफवाहहरुको विश्वास नगर्न ई–सेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले प्रयोगकर्ता तथा सर्वसाधरणहरुलाई आग्रह गरेका छन्। 

साथै निकट भविष्यमा सिस्टम अपग्रेडको क्रममा यस्ता समस्याहरु उत्पन्न हुन नदिन थप सतर्कता अपनाउने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad