कारोबार


मन्त्री पाण्डेको संयोजकत्वमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको पहिलो बैठक

सप्ताहव्यापी कार्यक्रममार्फत दिवस मनाउने निर्णय
मन्त्री पाण्डेको संयोजकत्वमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको पहिलो बैठक

नेपालखबर
जेठ १, २०८२ बिहिबार १७:२८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा गठन गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको पहिलो बैठक सम्पन्न भएको छ।

बैठकले सगरमाथा दिवसलाई सप्ताहव्यापी विविध कार्यक्रमहरूसहित भव्य रूपमा मनाउने निर्णय गरेको हो।

बैठकमा पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू तय गरिएको छ। कार्यक्रमहरूमा हिमाली पदयात्रा, सांस्कृतिक प्रदर्शनी, सरसफाइ अभियान, अन्तरक्रिया गोष्ठी, फोटो प्रदर्शनी, तथा विद्यार्थी लक्षित सचेतनामूलक गतिविधिहरू समावेश गरिनेछ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सगरमाथा केवल भौगोलिक उच्चता नभई नेपाल र सम्पूर्ण विश्वको गौरव भएको उल्लेख गर्दै दिवसलाई सोही भावनासहित मनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले भने, “सगरमाथाकै कारण नेपाल विश्वमा चिनिएको छ। एभरेष्ट केवल एक प्रतीक हो। नेपालका अन्य हिमालहरू समेत यसमा समेटिनुपर्छ। आरोही र हिमाल दुबैलाई समेटेर अघि बढ्नुपर्छ।”

बैठकले कीर्तिमानी सगरमाथा आरोहीहरूलाई सम्मान गर्न पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ। साथै, दिवसको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि विदेशस्थित नेपाली राजदूतावास, महावाणिज्यदूतावास, पर्यटक प्रवर्द्धक र अन्य कूटनीतिक संयन्त्रमार्फत कार्यक्रम सञ्चालन गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी, समारोहलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न संघ–संस्था, विज्ञ तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा आवश्यक निर्णय गर्न कार्यान्वयन समितिलाई जिम्मेवारी दिइएको छ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस हरेक वर्ष मे २९ तारिखमा मनाउने गरिन्छ, जुन दिन सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए।

समितिमा विभिन्न सरकारी निकाय, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन अफ नेपाल, सगरमाथा आरोही संघ, हिमालयन उद्धार संघ, नेपाल ट्रेकिङ एजेन्सी संघ, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय लगायतका प्रतिनिधिहरू समावेश छन्। समितिमा १७ सदस्यीय संरचना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad