कारोबार


पूर्वअर्थमन्त्रीहरूको सुझाव- जनताको भरोसा जित्ने बजेट बन्नुपर्छ

पूर्वअर्थमन्त्रीहरूको सुझाव- जनताको भरोसा जित्ने बजेट बन्नुपर्छ

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १७:५९, काठमाडौँ

पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो बताएका हुन्। 

बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले ९० को दशकमा उदार अर्थतन्त्रले भएका विकास र प्रगतिलाई आत्मसात गर्नुपर्ने बताउँदै देखिएका विकृतिलाई आगामी बजेटमा सुधार गर्नुपर्ने बताए। 

उनले विगतमा अभ्यास गरिएका उदार अर्थनीति र बजार अर्थतन्त्रकै वरपरबाट अहिलेका आवश्यकताहरू पूरा गर्न नसक्ने निष्कर्षका साथ तीन खम्बे अर्थनीति अपनाएको बताउँदै अहिलेको समयमा अन्तर निर्भर अर्थतन्त्रमा जानुपर्ने जिकिर गरे। उनले कृषि, जलस्रोत, पर्यटन, उद्योग र आइटी क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्न सरकारलाई सुझाव दिए।  

उनले भन्नुभयो, ‘आगामी आर्थिक वर्षमा गुणात्मक रूपले अर्थतन्त्रको क्षेत्रमा सुधार गर्नुपर्नेछ। त्यसमा एउटा कुरा चाहीँ हामी ९० को दशकले उदार अर्थतन्त्रले जे विकास भयो, जे प्रगति भयो, यसलाई हामी राम्रा कुराको आत्मसात गर्नुपर्छ। त्यसका केही सीमाहरू देखिएको छ, जुन विकृतिको रूपमा देखिएको छ। त्यो कुरालाई हामीले अबको बजेटमा सुधार गर्नुपर्छ।’ 

उनले थपे, ‘निरन्तर विगतमा अभ्यास गरिएका उदार अर्थ नीति र बजार अर्थतन्त्रकै वरिपरिबाट अहिलेका आवश्यकताहरू पूरा गर्न सक्दैनौँ भनेर तीन खम्बे अर्थनीति अपनाएका हौँ। हामीले अहिलेको दुनियाँमा अन्तर निर्भर अर्थतन्त्रमा जानुपर्छ। हाम्रा प्रतिस्पर्धी क्षेत्रहरूमा टेकेर अगाडी बढ्नुपर्ने हुन्छ। त्यसको नेतृत्व निजी क्षेत्रले गर्छ, त्यो हाम्रो अर्थनीति हो। हाम्रो रूपान्तरित क्षेत्र कृषि, जलस्रोत, पर्यटन, उद्योग र आइटी हुन्छ। केही क्षेत्रहरूमा हामी प्रतिस्पर्धा पनि हुन्छौँ।’

बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेट जनताको भरोसा जित्ने किसिमको हुनुपर्नेमा जोड दिए। उनले निजी क्षेत्रलाई गतिशील बनाउनको लागि अध्यादेशमार्फत केही कानुनहरूको संशोधन गरेको भन्दै त्यसले मात्रै पर्याप्त नहुने जिकिर गरे। 

उनले निजी क्षेत्रको आत्मबल बढाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए। 

पूर्वअर्थमन्त्री कार्कीले अर्थतन्त्रमा विश्वास पुनस्र्थापित गर्न नसके जतिसुकै राम्रो बजेट ल्याएपनि कार्यान्वयनयोग्य नहुने बताउँदै सन्तुलित, उत्पादनमुखी, रोजगारी अभिवृद्धि गर्ने बजेट आउनुपर्ने धारणा राखे।
उनले भने, ‘अब बन्ने बजेट जनताको भरोसा जित्ने किसिमको बजेट बन्नुपर्छ। निजी क्षेत्रलाई गतिशील बनाउनको निम्ति र उनीहरूको आत्मबल अभिवृद्धि गर्नको निमित्त केही कानूनहरूको हामीले अध्यादेशमार्फत संशोधन गरेका छौँ। त्यतिले मात्रै पर्याप्त छैन। अहिलेको अर्थतन्त्रको गतिलाई गतिशील बनाउनको निमित्त निजी क्षेत्रको आत्मबल कसरी अगाडी बढाउन सकिन्छ, भन्नेकुरा लक्षित यसपालिको बजेट हुनुपर्छ। अर्थतन्त्रमा विश्वास पुनस्र्थापित गर्न सकेनौँ भने हामीले जतिसुकै राम्रो बजेट ल्याए पनि त्यो बजेट कार्यान्वयनयोग्य हुन सक्दैन। त्यसैले सन्तुलित, उत्पादनमुखी, रोजगारी अभिवृद्धि गर्ने बजेट आउनुपर्छ।’

उनले आगामी बजेट जनताको आकाङ्क्क्षालाई पूरा गर्न र विकास निर्माणलाई तिब्र गतिका साथ अगाडी बढाउने खालको  हुनुपर्ने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad