कारोबार


सरकारलाई वर्षमानको चेतावनी- स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंकको जिम्मा दिने काम नहोस्

सरकारलाई वर्षमानको चेतावनी- स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंकको जिम्मा दिने काम नहोस्

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १७:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले गभर्नर नियुक्तिमा स्वार्थसमूह हावी भएको बताएका छन्।

पार्टीसम्बद्ध रोल्पा काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार चन्द्रागिरिमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताएका हुन्।

यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरुकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो।

उनले गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप समेत लगाए। 

‘नियामकीय भूमिकामा रहनुपर्ने राष्ट्र बैंकको  गभर्नरजस्तो पदमा नियुक्तिका लागि अर्बौंको आर्थिक डिल भएको समाचार सार्वजनिक सञ्चारमाध्यमहरुमा आइरहेका छन्’, पुनले भने, ‘हामी सरकारलाई चेतावनीका साथ भन्न चाहन्छौं स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंक जिम्मा लगाउने काम नहोस्।’ 

पुनले पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी प्राप्त गर्नेले पनि आफू सधैँ पदमा रहिरहने नसोच्न चेतावनी दिए।

‘स्वार्थ समूहको प्रतिनिधि भएर राज्यका नियामकीय भूमिकामा नियुक्ति पाउनेहरुले सोचे हुन्छ, को कसरी नियुक्त भएको छ भन्ने सबैले हेरिरहेको छ । हामीले पनि हेरेका छौँ’, उनले भने। 

पुनले राज्यका निकायहरुमार्फत अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान कांग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको बताए।

उनले कांग्रेस–एमाले सरकार पूर्ण रुपमा असफल भएको पनि टिप्पणी गरे। दुई तिहाइको सरकार विकास निर्माण, सुशासन र जनअपेक्षामा पूर्णतः चुकेको भन्दै पुनले सोही कारण जनतामा चरम निराशा र आक्रोश बढेको उल्लेख गरे।

कांग्रेस–एमालेको कुशासन र अक्षमताका कारण जनतामा बढेको निराशालाई राजावादीहरुले आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको चर्चा पुनले गरे।

‘हामीले १० वर्षसम्म लडेर गणतन्त्र र लोकतन्त्र ल्यायौँ। हामीले रैतीबाट जनता बनाएका केही मानिसहरु हामी जनता हुन चाहन्नौँ। रैती भएर बाँच्न चाहन्छौँ भन्दै हिँडेका छन्’, पुनले भने, ‘सार्वभौम भइसकेका नेपाली जनता अब कसैका रैती हुन चाहँदैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad