खाद्य वस्तुको नेपाली ल्याब परीक्षणलाई भारतले मान्यता दिने भएको छ।
गत हप्ता भारतीय प्राविधिक आएर काठमाडौंको ल्याब निरीक्षण गरेसँगै नेपाली गुणस्तरलाई मान्यता दिने भएका हुन्।
नेपाल र भारतबीच दुई देशका ल्याबलाई एक अर्कोले मान्यता दिने पहिला नै समझदारी भए पनि नेपाली वस्तु सहज रुपमा भारत निर्यात हुन पाएका थिएनन्।
गत जनवरीमा नेपाल र भारतका वाणिज्य सचिवस्तरीय बैठकमा नेपाली ल्याबको निरीक्षण गरी मान्यता दिने सहमति भएको थियो।
नेपालले भारतीय ल्याबमा परीक्षण भएको वस्तुलाई त्यसकै आधारमा आयात गर्न दिँदै आएको छ। भारतको भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरण र नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका ल्याबले मान्यता पाएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले गत हप्ता भारतीय प्राविधिकले काठमाडौंको ल्याब निरीक्षण गरेसँगै निर्यातमा सहज हुने बताए।
‘नेपाल र भारतका ल्याबमा परीक्षण भएका खाद्यान्यलाई मान्यता दिने सहमति त पहिला नै थियो’, प्रवक्ता महर्जनले भने, ‘भारतीयले निरीक्षणसहित नवीकरण गरेकाले नेपालमा उत्पादित खाद्यान्य निर्यातमा सहज हुने देखिन्छ।’
नेपालमा उत्पादिन तरकारी तथा फलफुल, चिया, कफी, अदुवा, अलैँची, जुस, तेल, पानी लगायतका पदार्थ निर्यात गर्दा नेपालमा परिक्षणगरी पाएको प्रमाणपत्रलाई भारतले मान्यता दिनेछ।
‘आईएसओ मान्यता प्राप्त ल्याबमा परीक्षण भएका भारतीय वस्तु नेपालमा सहज प्रवेश पाउँछन्। कुनै शंका लागेमा पुनः परीक्षण गर्छौँ’, महर्जनले भने, ‘अब नेपालको आईएओ प्राप्त ल्याबमा परीक्षण गरेका वस्तु भारतले परीक्षणविना पनि निर्यात गर्न सकिन्छ।’
Shares

प्रतिक्रिया