कारोबार


पहिलोपटक २ अर्ब डलरका मालिक भए विनोद चौधरी, २० करोडले बढ्यो सम्पत्ति

पहिलोपटक २ अर्ब डलरका मालिक भए विनोद चौधरी, २० करोडले बढ्यो सम्पत्ति

नेपालखबर
चैत २०, २०८१ बुधबार १७:३०, काठमाडौँ

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति गत वर्षको तुलनामा यस वर्ष २० करोड अमेरिकी डलरले बढेको छ। 

सन् २०२४ मा १ अर्ब ८० करोड अमेरिकी डलर रहेको उनको सम्पत्ति यस वर्ष २ अर्ब डलर पुगेको चर्चित म्यागजिन फोर्ब्सले जनाएको छ। 

बुधबारको फोर्ब्सको रियल टाइम नेटवर्थमा चौधरीको सम्पत्ति २ अर्ब डलर रहेको उल्लेख छ। 

आज उनले विश्व अर्बपति वरीयतामा १७२९औँ स्थान पाएका छन्। 

कहाँबाट कमाउँछन् विनोद? 
चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन् भने नेपालका एक मात्र डलर अर्बपति हुन्। 

नबिल बैंक र वाइवाइ उत्पादक सीजी फुड्समा उनको बहुमत सेयर स्वामित्व छ। 

वाइवाइ भारत, सर्बिया, बंगलादेशमा उत्पादन हुन्छ भने इजिप्टमा पनि कारखाना निर्माणको चरणमा छ। यसले ससका विविध प्रकार चाँडै लन्च गर्ने तयारी गरेको छ। 

यसबाहेक उनको आम्दानी सीजी ग्रुपकै होटलहरुबाट समेत आउँछ। होटलतर्फ यसले १४३ वटाको स्वामित्व र अन्य सम्पत्ति व्यवस्थापन गरेको छ। भारतको ताज चेनसँग मिलेर सीजीले विलासी होटलहरु सञ्चालन गर्दै आएको छ। 

उनका छोरा निर्वाणले नेपालमा र राहुल र वरुणले विदेशको व्यवसाय सम्हाल्दै आएका छन्। निर्वाण र राहुल ग्रुपका प्रबन्धनिर्देशक रहेका छन्। 

चौधरी सन् २०१६ मा फोर्ब्सको अर्बपति सूचीमा प्रवेश गर्दा १ अर्ब १० करोड डलर सम्पत्ति थियो। त्यसपछि सन् २०१९ सम्म उनको सम्पत्ति निरन्तर बढेर १ अर्ब ७० करोड डलर पुगे पनि २०२० र २०२१ मा १ अर्ब ४० करोडमा झरेको थियो।

त्यसयता २०२२ मा १ अर्ब ५० करोड डलर पुगेको उनको सम्पत्ति सन् २०२३ मा पुनः १ अर्ब ८० करोड डलर पुगेको थियो। सन् २०२४ मा स्थिर रहे पनि अहिले सन् २०२५ मा पुनः २० करोड डलर बढेसँगै उनी २ अर्ब डलरका मालिक बनेका हुन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad