कारोबार


ग्लोबल आईएमई र जनता बैंक मर्जरमा जाने, के हुन्छ कुमारी र मेगा बैंकको?

ग्लोबल आईएमई र जनता बैंक मर्जरमा जाने, के हुन्छ कुमारी र मेगा बैंकको?

दीपक भट्ट
असार २०, २०७६ शुक्रबार १२:४२,

ग्लोबल आइएमई बैंकले तीनवटा बैंकसँग मर्जरको प्रक्रियाको लागि छलफल चलाएको थियो। मेगा बैंक, कुमारी बैंक र जनता बैंकसँग मर्जरमा जाने छलफल गरे पनि आज जनता र ग्लोबल आइएमई बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ।  नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंकहरुका सीईओ तथा अध्यक्षलाई बोलाएर बिग मर्जरमा जाने प्रक्रिया अपनाउन निर्देशन नै दिए पनि ग्लोबलले उक्त तीनवटा बैंकसँगको छलफललाई तीव्रता दिएको थियो।

उक्त छलफलकै बीच ग्लोबल आईएमई बैंक र जनता बैंकबीच एक आपसमा गाभिने गरी हस्ताक्षर नै भएको हो। सम्झौतापत्रमा जनता बैंकका अध्यक्ष केशव रायमाझी र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकको नाम ग्लोबल आइएमई बैंक रहने तर सीईओ भने जनताका रहने उल्लेख छ। जनताका सीईओ पर्शुराम कुँवर सीईओ रहने गरी ग्लोबल आईएमईका कार्यवाहक सीईओ महेश ढकाललाई डेपुटी सीईओ दिने सहमति भएको छ। त्यसैगरी बैंकको अध्यक्षचाहिँ चन्द्रप्रसाद ढकाल नै रहनेछन्।

सम्झौताअघि कर्मचारीको व्यवस्थापन र स्वाप रेसियोको विषयलाई भने सहमतिमा टुङ्ग्याउन सकेको छैन। जनता बैंकका सीईओ पर्शुराम कुँवर भन्छन्, ‘स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गरेर मात्रै यसको टुङ्गो लगाउने सहमति भएको छ।’ जसअनुसार कुनै विदेशी एजेन्सीलाई त्यसको मूल्याङ्कनको जिम्मा दिइने भएको हो।

मेगा र कुमारीसँगको छलफल के हुन्छ?
यो सम्झौतासँगै मेगा बैंक र कुमारी बैंकसँग भएको छलफल भने अन्योलमा परेको छ। मेगा बैंकसँग पनि ग्लोबल आइएमईले २÷३ चरणमा छलफल गरिसकेको छ। उक्त छलफलमा स्वाप रेसियोको विषयमा कुरा मिलेको थिएन। मेगाका अध्यक्ष भोजबहादुर शाह भन्छन्, ‘छलफल भइरहेको छ तर कुनै पनि विषय टुङ्गो भने लागेको थिएन। छलफल निरन्तर राखिने मौखिक कुराकानी समेत भइरहेको थियो।’ त्यस्तै कुमारी बैंकले पनि ग्लोबल आईएमई बैंकसँग मर्जरको चाहना राखेको थियो। गभर्नरको निर्देशन आउनुअघि नै भएको मर्जरको छलफल त्यतिकै रोकिएको थियो।

तीनवटा बैंकसँग मर्जरको छलफल भइरहेर पछिल्लो समय जनतासँग सम्झौता गरेपछि अरु दुई बैंकसँगको प्रक्रिया भने हाललाई लगभग रोकिने भएको छ। तर ग्लोबल आईएमईका अध्यक्ष ढकाल भने जनतासँग सम्झौता नै भइसकेकोले यसलाई सफल बनाउनु ठूलो जिम्मेवारी हुने बताउँछन्। तर ३÷४ वटा बैंक एकअर्कासँग मर्ज हुन सम्भव भने रहेको उनको भनाइ छ।

ग्लोबल आइएमई बैंक कत्रो हुँदै छ?
चालू आर्थिक वर्षको नौ महिनाको तथ्याङ्कअनुसार ग्लोबल आइएमइएको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ। जनताको ६ अर्ब ८० करोड रहेको छ। दुई बैंक जोडिँदा पुँजी १७ अर्ब ११ करोड रुपैयाँ हुनेछ। आइएमइ बैंक र जनता बैंक गाभिएपछि निक्षेप १ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ पुग्नेछ। सर्वसाधारणमा दिएको ऋण लगानी एक खर्ब ७० अर्ब रुपैयाँ नाघ्नेछ। त्यस्तै शाखा सञ्जाल २ सय ७८ पुग्नेछ। यसबाहेक बैंकका शाखारहित बैंकिङ इकाइ र एक्सटेन्सन काउन्टर पनि रहने देखिएको छ।

त्यस्तै मेगा बैंकको १० अर्ब, कुमारी ८ अर्ब ६५ करोड गरेर र मेगा पनि मर्ज हुने हो भने त यो बैंकको चुक्ता पुँजी नै ३५ अर्बमाथि नाघ्ने समेत देखिएके छ। आगामी आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा वाणिज्य बैंकको न्यूनतम ३४ अर्ब चुक्ता पुँजी बनाउने समेत चर्चा भइरहेको अवस्थामा यो मर्जर प्रक्रिया आउने मौद्रिक नीतिअनुकूलको हुने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad