कारोबार


सीएनआईको पर्यटनकेन्द्रित पूर्वबजेट छलफल, वायुसेवा निगमलाई बलियो बनाउन माग

सीएनआईको पर्यटनकेन्द्रित पूर्वबजेट छलफल, वायुसेवा निगमलाई बलियो बनाउन माग

नेपालखबर
चैत ६, २०८१ बुधबार १४:५६, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई तीव्र पारिरहेको बेला नेपाल उद्योग परिसंघ (सीएनआई)ले पर्यटन उद्योगकेन्द्रित पूर्वबजेट छलफल कार्यक्रम गरेको छ।

राजधानीमा भएको पूर्वबजेट छलफलमा परिसंघका अध्यक्ष राजेश अग्रवालले पर्यटन क्षेत्रमा विकासका लागि सरकारले प्रभावकारी कदमहरु चाल्नुपर्ने बताए। उनले पर्यटन विकासका लागि एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम बलियो हुनुपर्ने धारणा राखे।

वायुसेवा निगम प्रतिस्पर्धी बन्न नसक्दा विदेशी विमान कम्पनीहरुले लाभ लिइरहेका र पर्यटकका लागि नेपाल गन्तव्य निकै महङ्गो बनिरहेको उनको भनाइ छ। राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउन अति आवश्यक भइसकेको उनले बताए।

सीएनआई अध्यक्ष अग्रवालले युरोपका पर्यटक धेरै खर्च गर्नेमध्ये परे पनि युरोपियन युनियनले नेपाललाई सन् २०१३ देखि हवाइ सुरक्षा सूचीमा समावेश गरेदेखि युरोपेली देशसँग सिधा हवाइ सम्पर्क टुटेको बताए।  

उनले भने, ‘युरोपका पर्यटक धेरै खर्च गर्नेमध्येमा पर्छन्। उनीहरू नेपाल भ्रमण गर्न पनि रुचाउँछन्। तर युरोपियन युनियनले नेपाललाई सन् २०१३ देखि हवाई सुरक्षा सूचिमा समावेश गरेदेखि युरोपेली देशसँग हाम्रो सिधा हवाई सम्पर्क टुटेको छ। यसको हानी नेपालको पर्यटन उद्योगमा परेको छ ।’

अग्रवालले अर्बौं लगानीमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि यी विमानस्थलहरुको प्रभावकारी सञ्चालन हुन नसकेको बताए। यी विमानस्थल सञ्चालनका लागि बजेटमार्फत नै भए पनि विशेष सुलियतको व्यवस्था गरी प्रभावकारी रुपमा सञ्चालन हुने व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ। 

छलफलमा नेपाल सरकारले हवाइ टिकटमा लगाएको भ्याट हटाउनुपर्ने, समग्र आर्थिक विकासका लागि उद्योग व्यवसायलाई नियन्त्रणभन्दा नियमन गर्नेतर्फ हाम्रा कानुन तथा नीतिहरु अभिप्रेरित हुनुपर्नेबारे जोड दिइएको थियो। 

अध्यक्ष अग्रवालले उपयुक्त पूर्वाधारहरु  सडक तथा हवाइ पूर्वाधारको निर्माणपछि मात्र नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिनुपर्ने उल्लेख गरे। 

कार्यक्रममा वायुसेवा सञ्चालक संघको तर्फबाट आर्य थापाले विगत दुई वर्षमा कोरोना महामारीका कारण करिब साढे सात महिना नियमित हवाइ सेवा सञ्चालन पूर्णरुपमा बन्द हुँदा नेपालका वायुसेवा कम्पनीहरु गम्भीर आर्थिक समस्याबाट गुज्रिरहेको बताएका थिए। उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नागरिक उड्डयन क्षेत्र कोभिड महामारी सुरु हुनुअघिको लयमा फर्किन कम्तीमा सन् २०२४ सम्म लाग्ने र कोभिड महामारीको आर्थिक तथा सामाजिक असरहरु दीर्घकालसम्म रही रहने आकलन गरेको अवस्थामा नेपालका हवाइ क्षेत्रले हालसम्म करिब १० अर्बभन्दा बढी रकम गुमाइसकेको बताए।

हवाइ क्षेत्र पूर्ण रुपमा आफ्नो लयमा फर्किंदासम्म यस्तो सञ्चित नोक्सानी अझ बढ्दै जाने निश्चित भएको हुँदा लामो समयसम्म ठूलो नोक्सानी खेपी, असन्तुलित व्ययभार एवं सञ्चालन लागतका कारण व्यवसाय सञ्चालनमा समेत सुरक्षा चुनौती थपिने र व्यवसाय नै बन्द हुनसक्ने अवस्था रहेको उनको भनाइ थियो।

आगामी बजेटमार्फत हवाइ सेवा क्षेत्रलाई प्राथमिकताप्राप्त उद्योगसरह मान्यता दिनुपर्ने उनले माग गरे। आगामी बजेटमा जहाजसम्बद्ध पार्टपुर्जाहरु आयात गर्दा पार्सियलसिपमेन्टको व्यवस्था गरिनुपर्ने उनको माग छ। 

पूर्वमन्त्री उदयसमशेर जबराले नेपाल आउनदेखि ट्राभल गर्नसम्मै महँगो रहे पनि नेपाल आइसकेपछि यहाँ सस्तो रहेको बताए।

उनले भने, ‘नेपाल आउन महँगो, आइसकेपछि पनि ट्राभल गर्न  महँगो तर यहाँ आइसकेपछि सबै सस्तो। जुन किसिमको होटल नेपालमा छ। जुन रेट हामीले लगाइरहेका छौँ। अरु देशभन्दा यहाँ सस्तो छ।’

उनले आगामी बजेटमा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने तरिकाले आउनुपर्ने बताए। कार्यक्रममा पर्यटन सचिव विनोदप्रकाश सिंहले पर्यटन उद्योगमा संसारभर भ्याट रहेको बताउँदै नेपालमा समेत लगाइएको उल्लेख गरे। न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad