भारतको दिल्लीमा नेपाल महोत्सव आयोजना हुने भएको छ। नेपाल र भारतबीच व्यवसाय, संस्कृति र खाना प्रवर्द्धन गर्न चैत २९ देखि ३१ (अप्रिल ११-१३) सम्म महोत्सव आयोजना हुने भएको हो।
भारतमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा एभरेस्ट चेम्बर अफ कमर्सले महोत्सव आयोजना गर्न लागेको हो।
नेपाल महोत्सव व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र अध्यात्ममार्फत नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले बताए।
आयोजक ऐभरेस्ट चेम्बरमा महासचिव डा मोहन कार्कीले महोत्सवमा व्यावसायिक नेटवर्किङ सत्र, सांस्कृतिक प्रस्तुति, हस्तकला प्रदर्शनी र मौलिक खानासहित नेपाली व्यापार, पर्यटन, संस्कृति र धार्मिक क्षेत्रसँगै खाना र हस्तकला भारतीय नागरिकमाझ प्रवर्द्धन गरिने जानकारी दिए।
महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरमा आयोजना हुने कार्यक्रममा नेपाल-भारत व्यापारसम्बन्धी छलफल, बीटुबी र बीटुसी नेटवर्किङ बैठक, लगानी विस्तारसम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाली खाना र अध्यात्म सत्र समावेश छन्। यो हरेक वर्ष आयोजना हुन्छ।
महोत्सवको आयोजना, नेपालको व्यापार, संस्कृति र खानाको विस्तारको योजनासहित आयोजना गरेका हौँ, घिमिरेले भने, महोत्सवमा नेपाल-भारत दुवैतिरको व्यवसायी सहभागी हुँदै छन्। महोत्सवले नेपाल प्रवर्द्धन गर्ने अपेक्षा गरेका छौँ।
कार्यक्रम अवधिभर परम्परागत नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति, खानाप्रेमीका लागि मौलिक नेपाली खाना स्टल, बीटुबी व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्ध, उदीयमान व्यावसायिक लगानी क्षेत्र, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, नेपाल-भारत आर्थिक सहयोगको भविष्यबारे प्यानल छलफल हुने घिमिरेले बताए।
Shares

प्रतिक्रिया