९ दिनसम्म लगातार वृद्धि भएको सेयरबजार त्यसयता फेरि निरन्तर ‘करेक्सन’मा देखिएको छ।
साताको पहिलो कारोबार दिन नेप्से घट्दा पाँचौँ दिन पनि ‘करेक्सन’ले निरन्तरता पाएको हो।
योसँगै आइतबार नेप्से ४६.३३ अंकले घटेर २८ सय विन्दुभन्दा तल झरेको हो। अर्थात् २७७२.१० विन्दुमा आइतबार नेप्से थामिएको छ।
यस दिन कुल १० अर्ब ९ करोडको सेयर कारोबार भएको छ। कुल २ करोड २७ लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणको कारोेबार भएको हो।
आज २४ वटा मात्रै सेयर बढ्दा २१७ वटा घटेका छन् भने २ वटा अघिल्लो मूल्यमै किनबेच भएका छन्।
आज पनि गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लागेको छ। केही सातायता निरन्तर यो सेयर १० प्रतिशतले बढिरहेको छ। यसको अन्तिम मूल्य आइतबार प्रतिकित्ता १८३९.४० रुपैयाँ पुगेको छ।
आइतबार आईसीएफसी फाइनान्सको ऋणपत्रको सेयर पनि १० प्रतिशतले नै बढेको छ। यसबाहेक भूगोल इनर्जी ९.९९ प्रतिशत, एनआईबीएल ग्रोथ फन्ड ३.९३ प्रतिशत र साञ्जेन जलविद्युतको सेयर ३.७० प्रतिशतले बढेको छ।
तर आज उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयर भने १० प्रतिशतले घटेका छन्। तीबाहेक राप्ती हाइड्रो र समाज लघुवित्तको क्रमशः ८.८७ प्रतिशत र ७.२८ प्रतिशतले गिरावट देखिएको छ।
कारोबारतर्फ भने आज पनि हिमालय रिइन्स्योरेन्सको १ अर्ब १२ करोडको सेयर किनबेच भएको छ। दोस्रो धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको छ। कम्पनीको ५९ करोडको, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५५ करोड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४५ करोड र सीईडीबीको ३० करोडको कारोबार भएको छ।
पूरा भएन नेप्सेले ३ हजारको प्रतिरोध ‘ब्रेकआउट’ गर्ने आशा
९ दिन निरन्तर बढेपछि नेप्सेले ३ हजारको प्रतिरोध ‘ब्रेकआउट’ गर्ने आशा लगानीकर्ताले राखेका थिए।
गत भदौयता ३ हजारको विन्दुमा नेप्से पुग्न सकेको थिएन। तर फागुन ४ गतेदेखि आक्रामक रुपमा बढ्न थालेको नेप्से २९ विन्दुमाथि पुगेपछि ३ हजारको प्रतिरोध तोडिने आकलन लगानीकर्ताको थियो।
यद्यपि ९ दिनको आक्रामक गतिलाई विश्राम दिँदै सूचक पुनः ओर्लिन थालेपछि भने ३ हजारको प्रतिरोध टाढिएको छ। फागुन १९ गतेबाट जसरी नेप्से आक्रामक हुँदै उकालो लागेको थियो, उस्तै गतिमा ओरालो लाग्न थालेको छ।
ओरालो लाग्न थालेको आज पाँचौँ दिन पनि सूचकले ४६ अंकको ओरालो यात्रा तय गर्यो। खास कारणविना नै बढ्न थालेको नेप्सेले ९ दिनपछि करेक्सन लिएको थियो।
त्यसपछि लगातार आज पाँचौँ दिन पनि बजार करेक्सनमा गएको हो। यसअघि निरन्तर सूचक नबढे पनि अहिलेजस्तै गिरावट माघमा पनि देखिएको थियो। माघ २२ गतेदेखि सूचक घटेर ५ कारोबार दिन निरन्तर घटेको सूचक माघ २९ गतेबाट भने उकालो लागेको थियो।
यसअघिको बजारको प्रवृत्ति हेर्ने हो भने अहिले पनि बजार करेक्सनमै देखिन्छ। २९ बाट तल झर्न थालेपछि लगानीकर्ताले पुनः लगानीलाई खुम्च्याउन थालेका छन्। १४ अर्बसम्म कारोबार गरेका लगानीकर्ताले क्रमशः कारोबारलाई १० अर्बमा झारेका हुन्।
Shares

प्रतिक्रिया