नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पाथीभरामा केबलकार निर्माण परियोजना अघि बढ्ने वातावरण बनाउन संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र आन्दोलनरत पक्षसँग आग्रह गरेको छ।
अध्यक्ष राजेन्द्र राउतले विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन्।
ताप्लेजुङ जिल्लाको धार्मिक तीर्थस्थल पाथीभरामा केबलकार निर्माण परियोजना अघि बढ्नलागेपछि विरोध भइरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सम्बद्ध सबैमा वार्ता र संवादबाट समाधान खोज्न आग्रह गरेको हो।
महासंघका अनुसार विकासका प्रतिफलमा सम्बन्धित क्षेत्रका स्थानीयवासीको महत्त्वपूर्ण हिस्सा हुनुपर्ने मान्यतालाई यो आयोजनाले पनि स्वीकार गरेको छ। सोही कारण स्थानीय भाषा, कला, संस्कृति र सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने तथा स्थानीय आर्थिक विकासमा परियोजनाले महत्त्वपूर्ण योगदान मिल्ने महासंघको दाबी छ।
महासंघले केही दिनयता भइरहेका विरोधी गतिविधिप्रति ध्यानाकर्षण समेत गरेको छ। केवलकार निर्माणका लागि लगानी सुनिश्चित गरी निर्माणपूर्वका आवश्यक सबै प्रक्रिया पूरा भई निर्माण सुरु हुनलाग्दा भएको विरोधलाई महासंघ कोशी प्रदेशले अनुचित समेत भनेको छ।
‘हामीले देशमा लगानीका लागि बाह्य लगानी कर्ताहरूलाई अपिल गरिरहेको अवस्थामा देशभित्रकै निजी क्षेत्रलाई निरुत्साहित गर्नु उचित हुँदैन। प्रत्यक्ष वैदेशिक लगानीका लागि सर्वप्रथम स्वदेशमा नै लगानीको वातावरण निर्माण गर्नुपर्दछ’, अध्यक्ष राउतले भनेका छन्, ‘यसका लागि निजी क्षेत्रको मनोबल बढाउनु जरुरी छ। कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा यस्ता क्रियाकलाप हुँदा लगानीकर्तामाझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने निश्चित छ।’
Shares

प्रतिक्रिया