तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज उल्लेख्य मात्रामा बढेको छ।
आज सुनको मूल्य प्रतितोला एक हजार नौसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य पनि आज बढेको छ।
प्रतितोला १९ सय रुपैयाँ बढेर आज सुनको मूल्य एक लाख ६४ हजार सातसय रुपैयाँ पुगेको छ।
गएको शुक्रबार तोलामा दुई हजार तीनसय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६२ हजार आठसय रुपैयाँ पुगेको थियो। सुन सोही मूल्यमा आइतबार र सोमबार स्थिर थियो।
चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एकहजार आठसय ८५ रुपैयाँ थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया