चालू आर्थिक वर्षमा १८ प्रतिशतले डिजेलको आयात घटेको छ।
सुस्त आर्थिक गतिविधि र निर्माण क्षेत्र चलायमान नहुँदा डिजेल खपत घटेको हो।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्म मूल्यका आधारमा डिजेल आयात १२ अर्बले गिरावट आएको छ। परिणामतः सरकारको राजस्व पनि ४ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०८०/०८१ को छ महिनामा ६६ अर्ब ४९ करोड रुपैयाँको डिजेल आयात भएकोमा चालू आर्थिक वर्षमा ५४ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ।
डिजेल आयात मूल्यको आधारमा मात्रै नभई परिमाणमै घटेको छ। आव ०८०/०८१ मा ६ लाख १८ हजार किलोलिटर डिजेल आयात भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ६ लाख १० हजार किलोलिटरमा झरेको थियो।
नेपालमा ठूला सवारीसाधन, उद्योग कलकारखानामा डिजेलको प्रयोग हुँदै आएको छ। नेपालमा पछिल्ला वर्षमा प्यासेन्जर कार सेगमेन्टमा ७० प्रतिशत बढी विद्युतीय गाडी बिक्री भइरहेका छन्। ती विद्युतीय गाडीले डिजेलको तुलनामा पेट्रोल इन्जिनलाई प्रतिस्थापन गरेका छन्।
तर विद्युतीय गाडीको प्रभाव पेट्रोल इन्जिनका गाडीमा परे पनि डिजेल इन्धन खपत घटेको हो।
डिजेल १८ प्रतिशत बढीले घट्दा पेट्रोल करिब ५ प्रतिशतले मात्रै घटेको छ। गत वर्ष ३३ अर्ब ९२ करोड रुपैयाँको पेट्रोल आयात भएकोमा घटेर ३२ अर्ब १५ करोडमा सीमित भएको छ। जुन अघिल्लो वर्षको ६ महिनासँग तुलना गर्दा ५.२ प्रतिशत कम हो।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर मुख्यतः ४ कारणले नेपालमा डिजेलको खपत घटिरहेको बताउँछन्।
उनका अनुसार पहिलो विकास निर्माणको काम घट्दा ढुवानीका साधन र उपकरणमा खपत घटेको छ।
दोस्रो, नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दा डिजेल खपतमा गिरावट आएको छ। सार्वजनिक यातायातको रुपमा प्रयोग हुने भ्यान सेगमेन्टका गाडी र डिजेल खपत गर्ने ठूला सीसीका प्यासेन्जर गाडीलाई विद्युतीयले विस्थापित गरेका छन्।
तेस्रो, नेपाल र भारतको मूल्यमा हुने उतारचढाव अर्को कारण हो। अघिल्ला वर्ष भारतको तुलनामा नेपालमा डिजेलको मूल्य सस्तो थियो। नेपालमा ढुवानीका लागि आउने भारतीय ट्रकले नेपालमै डिजेल भरेर भारत जान्थे। अहिले नेपालभन्दा भारतमै डिजेलको मूल्य कम भएपछि भारतीय ट्रकले नेपालका पम्पमा भर्न छाडे।
र चौथो, सहरी क्षेत्रमा लोडसेडिङ घट्दा डिजेलको खपत घटेको ठाकुर बताउँछन्। हस्पिटल, शैक्षिक संस्था, कर्पोरेट कार्यालयहरुमा अघिल्ला वर्षको तुलनामा जेनेरेटरको प्रयोग घटेको छ।
‘आर्थिक गतिविधि र विकास निर्माणका काममा सुस्तता आउँदा धेरै डिजेल खपत घटेको छ’, उनले नेपालखबरसँग भने, ‘विद्युतीय कमर्सियल प्यासेन्जर भेहिकल, नेपालको तुलनामा भारतमा डिजेलको मूल्य र सहरी क्षेत्रमा लोडसेडिङ हट्दा खपत घटेको छ।’
कोभिडपछि बढेको खपत फेरि घट्यो
कोभिड महामारीअघिको सामान्य अवस्था आर्थिक वर्ष ०७५/०७६ मा २ अर्ब १३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो। जतिबेला साढे २५ प्रतिशतले आयात बढेको थियो। कोभिड लकडाउनका २ वर्षमा घट्यो। आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक कुल पेट्रोलियम पदार्थ आयात १ खर्ब ७५ अर्ब रुपैयाँको मात्रै भएको थियो।
कोभिडपछि आर्थिक गतिविधि बढ्दा डिजेल र पेट्रोल दुवैको आयात बढेको थियो। आर्थिक वर्ष २०७८/०७९ मा ३ खर्ब ३४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो। आर्थिक वर्ष २०७९/०८० मा ३ खर्ब ९ अर्ब रुपैयाँको पेट्रोलिय प्रोडक्ट्स आयात भएको थियो अर्थात् १ वर्षमा ७।३ प्रतिशतले आयात घटेको छ।
कोभिडपछि विश्वबजारमा रुस र युकेनको युद्ध सुरु भएसँगै पेट्रोलियम पदार्थको मूल्य बढेको थियो। अहिले विश्वबजारमा मूल्यमा गिरावट आएको छ। फलतः नेपाली बजारमा पनि मूल्य घटेको छ। पेट्रोलियम पदार्थको आयात मूल्यमा मात्रै नभई किलोलिटरमै ठूलो परिमाणमा कमी आएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा पनि १७ लाख १३ हजार किलोलिटर डिजेल खपत भएको थियो। मूल्य कम रहेकाले ९१ अर्ब ९४ करोड रुपैयाँ मात्रै खर्च भएको थियो। उक्त वर्ष ५ लाख ९१ हजार लिटर पेट्रोल खपत भएकोमा ३२ अर्ब ४४ करोड रुपैयाँको भित्रियो।
त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा १७ लाख ५४ हजार किलोलिटर डिजेल आयात भएको थियो। यसको मूल्य १ खर्ब ६८ अर्ब रुपैयाँबराबर थियो। पेट्रोलको ७ लाख ३८ हजार किलोलिटर आयात हुँदा ७१ अर्ब ३८ करोड खर्च भएको छ।
०७८/०७९ आर्थिक गतिविधि ह्वात्तै बढ्दा पेट्रोलियम आयातले रेकर्ड ब्रेक गरेको थियो। त्यसपछिका वर्षमा ३ लाख किलोलिटर बढीले डिजेल आयात घटेको छ। पछिल्ला २ वर्षमा ०७९/०८० मा १४ लाख ८ हजार किलोलिटर र २०८०/०८१ मा १४ लाख ११ हजार किलोलिटर डिजेल खपत भयो।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँ कुल ट्रकको ४० प्रतिशतले मात्रै नियमित काम गरिरहेको बताउँछन्।
‘ठूला पूर्वाधार निर्माणका काम हुनसकेका छैनन्। सिमेन्ट, डन्डी, ढुंगा, गिट्टीको ओसारपसार नै कम छ’, बानियाँले भने, ‘धेरै डिजेल यस्ता ट्रक सञ्चालनमा हुने गरेको थियो।’
निर्माणका कामले तीव्रता नपाउँदासम्म ट्रक र टिप्परले नियमित काम गर्न सक्ने अवस्था नहुने बताउँछन्।
Shares

प्रतिक्रिया