ad ad

कारोबार


राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिँदै

राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिँदै

जनक श्रेष्ठ
चैत ७, २०७६ शुक्रबार १४:११,

जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी असार महिनाबाट २७ मेगावाट बिजुली थपिने भएको छ।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माणाधीन दोर्दी जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो।

आगामी असारभित्र आयोजनाको सबै काम सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाको बाँधस्थल, पावर हाउस, पाइप लाइन बिच्छ्याउने, सुरुङ मार्गलगायत आयोजनाका झन्डै ९२ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार पावर हाउसको सिभिल काम सबै सकिएको र इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत काम बाँकी रहेको, बाँधस्थलको सबै काम सकिएको, टनेलको ८० प्रतिशत काम सकिएको र तीन हजार दुई सयमध्ये २०० मिटरमात्र पाइप बिच्छ्याउन बाँकी रहेको छ।

यस आयोजनाले २०७२ साल फागुनबाट निर्माण कार्य थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर काम थालनी भएपछि भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामग्रीमा पु-याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेकाले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ।

पछि समय थपेर यही चैत मसान्तसम्मका लागि सम्झौता भए पनि यस अवधिमा पनि काम नसकिने भएपछि असारसम्म सक्नेगरी सम्झौता भएको आयोजनाले जनाएको छ।

आयोजनाको बाँधस्थल दुई सय १२ मिटर ग्रसहेड रहेको छ। बेसीशहर नगरपालिका–११ रामचोकबेँसीमा पावरहाउस रहेको छ। आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता २०६९ साल असार १ गते भइसकेको छ।

सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पीपीए) भएको आयोजनाले जनाएको छ। तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माणसम्पन्न हुन करीब चार अर्ब २३ करोड लाग्ने अनुमान आयोजनाको छ।

आयोजनामा गैरआवासीय नेपाली संघको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ। बाँधस्थल र पावर हाउसको काम रसुवा कन्सट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छे मेटल एन्ड मेशिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो। आयोजनामा दुई सयजनाले रोजगारी पाएका छन्।

यस आयोजनाभन्दा अघि जिल्लामा ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत् केन्द्र, माथिल्लो ५० मेगावाट क्षमताको मर्स्याङदी ‘ए’ लगायतका ६ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .