नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशील बनाउने उपयुक्त नीति नभएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वगभर्नर क्षत्रीले ब्याजदर करिडोरमा ६ प्रतिशतभन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको बताउँदै त्यसलाई सहजीकरण गर्न राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलतालाई खिच्ने र बैंकहरूले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशील बनाउन नसक्ने धारणा राखेका हुन्।
उनले भने, ‘चार महिनामा दुई बैंकले अर्बमा नाफा गरे भन्ने कुरा आएको छ। केन्द्रीय बैंकले पैसा बैंकहरूबाट लिएको छ। प्रत्येक हप्तामा ४० अर्ब खिच्यो। बैंकहरूले ३ प्रतिशतमा जति पैसा लिए भयो, पाउँछन्। त्यसले बैंकको नाफामा धेरै फरक पर्दैन। यो अर्थतन्त्रलाई गतिशील बनाउने उपयुक्त किसिमको नीति होइन। ठूला आयोजनाहरूमा लगानी गर्ने तर समयमा निर्माण सम्पन्न नहुँदा मुनाफा नआउने भएको हुँदा साना आयोजनालाई प्राथमिकता दिएर जानुपर्ने भयो।’
बैंकको खराब कर्जा बढ्दै जाँदा पछिल्लो समय उद्योगी व्यवसायीहरूले कर्जा पाउन नसकेको उनको भनाइ थियो। कोभिडको समयमा १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशतजस्तो पुगेको र वास्तविक तथ्याङ्क केलाउने हो भने बैंकहरूको खराब कर्जा १२ देखि १४ प्रतिशत पुगेको उनले दाबी गरे।
उनले भने, ‘पछिल्लो उद्योगी व्यवसायीहरूले कर्जा पाएनन् भन्ने छ। त्यो बैंकको खराब कर्जा बढ्दै गएको छ। कोभिडको समयमा १ प्रतिशत थियो भने अहिले ६ प्रतिशतजस्तो पुगेको छ। वास्तविक तथ्याङ्क हेर्ने हो भने १२ देखि १४ प्रतिशत पुग्छ। अहिले पत्रपत्रिकाको आधा पानाहरू लिलामीका सूचनाहरूले भरिन थालेका छन्। त्यसले पनि खराब कर्जा बढेको देखिन्छ। कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गाबाहेक परियोजना धितोमा दिने कुरामा बैंकहरू कन्जरभेटिभ छन्। धितो मूल्याङ्कनमा राखेर ८० प्रतिशतले गर्दा ६० प्रतिशतको कुरा आउँछ। प्रतिबद्धताअनुसार समयमा कर्जा नदिएको कारणले पनि कतिपय योजनाहरू विफल भएका छन्।
Shares

प्रतिक्रिया