कोहीनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका म्यानेजमेन्ट डाइरेक्टर भरत रानाभाट पछिल्लो केही महिनायता सेयरबजारसँग लगानीकर्ता डराएको अनुभव गरिरहेका छन्।
बजारको अन्योलपूर्ण गति र यसलाई नेतृत्व गर्नसक्नेभन्दा साना कम्पनीमा लगानीकर्ताको भीड बढेपछि अधिकांश सचेत लगानीकर्ता निष्क्रिय बन्नथालेको उनी बताउँछन्।
‘धेरै लगानीकर्ताले अहिले थ्रेट महशुस गरिरहेका छन्’, रानाभाटले नेपालखबरसँग भने, ‘यस्तो अवस्थालाई बजारको मास कन्फिडेन्स (आमविश्वास) कमजोर भएको बुझिन्छ। कन्फिडेन्स नभएपछि लगानी गर्दैनन्, सही समय पर्खेर बस्छन्। अहिले भएको त्यही हो।’
पछिल्लो पाँच महिनायता सेयर लगानीकर्ता बजारलाई लिएर उति उत्साहित नदेखिएको तथ्यांकले पनि देखाउँछ। यो अवधिमा दैनिक सेयर कारोबार निरन्तर खुम्चिरहेको छ।
साउन ३१ गते एकै दिन लगानीकर्ताले २९ अर्ब ९५ करोड रुपैयाँको हालसम्मकै धेरै सेयर कारोबारको कीर्तिमान राखे पनि त्यसपछिका दिनहरुमा लगानीकर्ताले त्यसको हाराहारीमा समेत कारोबार गरेनन्।
सरकारमा लगानीकर्ताले आश गरेका अर्थमन्त्री विष्णु पौडेल आएपछि लगानीकर्ता उत्साहित बनेका थिए। त्यसमाथि सेयरबजारप्रति उनले देखाएको चासोसँगै लगानीकर्ताले बजारमा लगानी मात्र बढाएनन्, बढ्ने आशामा सक्रियता समेत देखाए।
तर यो उत्साह महिना दिन पनि टिकेन। अन्ततः अहिले फेरि उनीहरु बजारबाट हराउनथालेका हुन्।
पुस ९ गतेसम्म दैनिक ४ देखि ५ अर्बको हाराहारीमा मात्रै सेयर कारोबार भइरहेको छ। अझ पछिल्लो १६ दिनयता त निरन्तर बजारमा लगानीकर्ताले साढे ४ अर्बको मात्रै सेयर कारोबार गरिरहेका छन् ।
बढ्नुपर्नेमा घट्दै लगानी
बजारमा कारोबार बढ्नु र घट्नुमा अनेक कारण हुन्छन्। राजनीतिक, आर्थिक र मनोवैज्ञानिक कारणले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने एक बैंकर बताउँछन्।
उनका अनुसार अहिले राजनीतिक अस्थिरता रहे पनि बजारलाई प्रभाव पार्नेखालकै गरी कुनै गतिविधि भने भएको छैन।
‘अर्थतन्त्र तंग्रिसकेको अवस्था नभए पनि सुधारोन्मुख अवस्थामा देखिन्छ’, ती बैंकर भन्छन्, ‘बजारमा लगानी बढाउने परिस्थिति छ, ब्याजदर तल्लो सीमामा छ तर पनि लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन।’
ब्याजदर घटेर तल आइपुग्नु र सेयरबजार पनि बियरिस (घटिरहने प्रवृत्ति)मै रहनुले लगानीको वातावरण रहेको देखिन्छ।
यता रानाभाट आधारभूत रुपमा राम्रा र ठूला आकारका सेयर भएका कम्पनीहरु किनारामा पर्नुको अर्थ सेयरबजारमा ठूला लगानीकर्ता सक्रिय नभएको ठान्नुपर्ने बताउँछन्।
बजारको नेतृत्व गर्ने बैंकिङ, जलविद्यु्त् लगायत समूहका कम्पनीहरु कारोबारका हिसाबमा पुछारमा देखिनथाल्नुले धेरै लगानीकर्ता बजारमा निष्क्रिय बसिरहेको देखाउँछ।
यसलाई रानाभाट ‘लगानीकर्ताले सेयरबजारलाई असुरक्षित ठान्न थालेको’ उल्लेख गर्छन्।
वासलातको बेवास्ता गर्दै सेयरको माग वृद्धि
त्यसो त सेयरबजारमा राम्रा र नराम्रा दुवै कम्पनी हावी हुन्छन्। यसमा संस्थागत लगानीकर्ताको भूमिका बजार बढ्न र घट्नमा बढी रहन्छ। संस्थागत लगानीकर्ताले दीर्घकालीन लगानीलाई जोड दिन्छन्।
उनीहरुको कारोबारको प्राथमिकता पनि वित्तीय अवस्था सबल भएका भविष्यमा प्रतिफल दिनसक्ने र चुक्ताँ पुँजी राम्रो भएका ठूला कम्पनीहरुमा बढी हुन्छ।
यस्तै व्यक्तिगत साना लगानीकर्ता अथवा सेयर कारोबारीहरु बजारको गतिअनुसार छिटो नाफा दिनसक्ने अथवा छोटो उतारचढाव भइरहने कम्पनीमा बढी लगानी गर्छन्। यो बजारको विशेषता नै हो।
तर नेपाली धितोपत्र बजारमा भने पछिल्लो दुई महिनायता एकोहोरो चुक्तापुँजी थोरै भएका, पब्लिक सेयर स्वामित्व कम भएको तथा समग्र सेयर कित्ता संख्या कम भएका कम्पनीहरु लगानीकर्ताको पहिलो रोजाइ बनिरहेको छ।
यो बीचमा लगानीकर्ताले कम्पनीको वासलातलाई पूर्णतः बेवास्ता मात्रै गरेका छैनन्, कमजोर वासलात र जोखिमपूर्ण कम्पनीहरुको माग उल्टो बढाइरहेका छन्। जसको असर समग्र बजारको कारोबारमा देखिएको छ।
धेरै लगानीकर्ता निष्क्रिय रहँदा कारोबारमा सक्रिय लगानीकर्ता साना कम्पनीहरुमा झुम्मिएपछि ठूला कम्पनीहरुको कारोबार निरन्तर घट्दै गएको छ। यस्ता कम्पनीहरुको कारोबार बढ्न नसकेपछि त्यसको असर समग्र बजारमा देखिनथालेको छ।
नेपाल फाइनान्स, बेस्ट फाइनान्स, ङादी ग्रुप, जानकी फाइनान्स, रसुवागढी जलविद्युत्, मध्यभोटेकोशी जलविद्युत् लगायतका कम्पनी यसका उदाहरण हुन्। यी सबै मंसिरमा सबैभन्दा धेरैपटक सेयर किनबेच भएका कम्पनीहरु हुन्।
पछिल्लो समय कमजोर वित्तीय अवस्थाका बाबजुद पनि साना चुक्तापुँजी तथा सेयर संख्या भएका कम्पनीहरुको सेयर मूल्य र कारोबार दुवै बढिरहेको छ।
‘नेप्सेमा खराब वित्तीय अवस्था भएर रिटर्न (प्रतिफल) दिनै नसक्ने कम्पनीहरु पनि सूचीकृत छन्’, रानाभाट सुनाउँछन्, ‘यस्ता कम्पनीको सप्लाई बढे पनि लगानीकर्ताले प्रतिफल पाउँदैनन्।’
छोटो प्रतिफलका लागि वासलातलाई बेवास्ता गरी लगानी गर्ने लगानीकर्ता हावी भएपछि वास्तविक लगानीकर्ता निष्क्रिय बन्नथालेको उनको भनाइ छ।
कमजोर कम्पनीमा भीड
मंसिर महिनामा मात्रै सबैभन्दा धेरै १० वटा कम्पनीको उच्च कारोबार भएको छ। जसमा पहिलो नम्बरमा ङादी ग्रुप पावर कम्पनी छ भने दोस्रोमा नेपाल फाइनान्स कम्पनी छ।
सो महिना ङादी ग्रुपको ९९ लाख १२ हजार कित्ता सेयर ३२ हजार पटक सेयर किनबेच हुँदा कुल कारोबार ४ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ।
यस्तै वित्तीय अवस्था खस्केर प्रतिफल दिनै नसक्ने अवस्थामा पुगेको नेपाल फाइनान्स पनि यो महिना सबैभन्दा धेरै पटक सेयर खरिदबिक्री हुने सेयरहरुमा दोस्रो नम्बरमा देखिएको छ।
यो कम्पनीको मंसिरमा ४ अर्ब १९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
योबाहेक किनबेचको संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्स, जानकी फाइनान्स, हिमालयन ऊर्जा विकास कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, आँखु खोला जलविद्युत, बेस्ट फाइनान्स, मध्यभोटेकोशी र रसुवागढी हाइड्रोको सेयर लगानीकर्ताले धेरैपटक खरिदबिक्री गरेका थिए।
यीमध्ये हिमालयन रि इन्स्योरेन्सले चालू आवको लाभांश दिएको छैन। गत वर्ष ४.२१ प्रतिशत मात्रै लाभांश दिएको कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तै बनाएको हो।
यस्तै जानकी फाइनान्स, हिमालयन ऊर्जा विकास कम्पनी, आँखु खोला जलविद्युत्, बेस्ट फाइनान्स, मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावरले लगानीर्तालाई लाभांश दिएका छैनन्।
गत आर्थिक वर्षबाट एनआरएन इन्फ्रास्ट्रक्चरले भने जम्मा ५.२६ प्रतिशात मात्र लाभांश दिएकोमा सर्वाधिक सेयर खरिदबिक्री भएका अन्य कम्पनीहरुको लगानीकर्ताले लाभांश पाएका छैनन्।
यी अधिकांश कम्पनीको नाफा पनि गत असार मसान्तसम्म नकारात्मक नै छ। यस्तो अवस्थामा सेयर संख्या कम भएकै आधारमा मूल्यगत र सेयर खरिदबिक्रीका आधारमा सबैभन्दा धेरै कारोबार भएका हुन्।
Shares

प्रतिक्रिया