सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँमा झरेको छ। हिजो सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो।
सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको भाउमा व्यापक गिरावट आएको हो।
चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारमा झरेको थियो। आज एकैदिन सुनको मूल्यमा व्यापक गिरावट आएपछि सुनमा लगानी गरेकाहरु निराश भएका छन्।
त्यसैगरी चाँदीको मूल्य आज प्रतितोला एक सय १५ रुपैयाँ घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कायम भएको चाँदीको मूल्य आज घटेर एक हजार आठ सय ४५ कायम भएको छ।
चाँदीको १५ प्रतिशत भन्सारदरलाई पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ। उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको हो।
Shares

प्रतिक्रिया