नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया अगाडि बढेपछि त्यसको सकारात्मक प्रभाव सेयरबजारमा पर्ने आकलन गरिएको थियो।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आज प्रस्तुतीकरणका लागि बाँकी रहेका २ उम्मेदवारको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण सकेपछि दोस्रो चरणमा प्रवेश गर्ने पक्का भयो।
अध्यक्ष नियुक्तिलाई लिएर धितोपत्रको दोस्रो बजारमा सकारात्मक प्रभाव पर्ने आकलनका बीच आइतबार नेप्से भने दोहोरो अंकले घट्न पुग्यो।
कारोबार सुरु हुँदा घटबढ भइरहेको बजारमा १२ बजेपछि भने निरन्तर गिरावट देखिएको हो। समग्रमा यो दिन १३.०३ अंकले नेप्से घट्दा लगानीकर्ताले ७ अर्ब ७२ करोडको सेयर कारोबार गरेका हुन्।
नेप्से घटेर राताम्मे बनेको बजारबाट आज ५५ वटा धितोपत्रको मूल्य बढेको छ भने बाँकी १८१ वटा धितोपत्रको मूल्य घटेको छ।
समूहगत रुपमा भने आज लगानी समूह र उत्पादन तथा प्रशोधन समूहबाहेकका सबै समूहका सूचक राताम्मे बनेका छन्।
कम्पनीगत रुपमा भने आज थ्री स्टार हाइड्रो सर्वाधिक मूल्य बढ्नेमा अगाडि देखिएको छ। यो कम्पनीको सेयर मूल्यमा ९.९१ प्रतिशतको वृद्धि देखिएको हो।
योबाहेक ङादी ग्रुप पावर र नबिल डिबेन्चरको पनि सेयरमूल्य ९ प्रतिशतले बढेको छ।
यस्तै घट्नेमा भने सेन्चुरी डिबेन्चर अगाडि छ । यसको मूल्य ७.७५ प्रतिशतले घट्दा महुली लघुवित्तको मूल्य ६.३० प्रतिशतले घटेको छ।
राताम्मे बजारमा पनि लगानीकर्ताको चाप जानकी फाइनान्सको सेयर खरिदबिक्रीमा देखियो । यो कम्पनीको सेयर ६० करोड रुपैयाँमा कारोबार भएको हो।
Shares

प्रतिक्रिया