कारोबार


ऊर्जामन्त्री भन्छन्– बोर्ड बैठक बसिरहनुपर्दैन, पत्र पाएको २४ घण्टाभित्र लाइन जोड्छौँ

‘टीओडी मिटर हेरेर विद्युत् प्राधिकरणले १५ दिनभित्र सबै बक्यौता उठाउनुपर्छ’
ऊर्जामन्त्री भन्छन्– बोर्ड बैठक बसिरहनुपर्दैन, पत्र पाएको २४ घण्टाभित्र लाइन जोड्छौँ

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १८:२०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको पत्र पाएको २४ घण्टाभित्र उद्योगहरुमा काटिएको बिजुली लाइन जोड्ने बताएका छन्। 

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन्। 

आइतबार मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल पनि उठाउने र उद्योगहरुमा लाइन पनि जोड्ने निर्णय गरेको थियो। 

सोसँगै ऊर्जामन्त्री खड्काले सोमबार नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाए पनि कोरम नपुगेपछि हुन सकेन। 

यसैप्रति लक्षित गर्दै मन्त्री खड्काले मन्त्रिपरिषदबाट निर्णय भइसकेपछि बोर्ड बैठक बस्न आवश्यक नरहेको समेत बताए। 

उनले भने, ‘मप (मन्त्रिपरिषद)ले गरेको निर्णयभन्दा माथि बोर्ड (सञ्चालक समिति) हुँदैन। त्यसैले बोर्ड बैठक बसिरहनु पर्दैन तर भोलि बोर्ड बैठक बस्न सक्छ। पत्र प्राप्त गरेको २४ घण्टाभित्र लाइन जोडिन्छ।’

उनले विद्युत् प्राधिकरणले टाइम अफ डे (टीओडी) मिटर हेरेर १५ दिनभित्र सबै बक्यौता उठाउनुपर्ने समेत बताए। 

यता ऊर्जासचिव सुरेश आचार्यले विद्युत् प्राधिकरणलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको बताएका छन्। 

२४ घण्टाभित्र लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउन मन्त्रालयले निर्देशन दिएको उनको भनाइ छ। 

उनले भने, ‘विद्युत् प्राधिकरणलाई (मन्त्रिपरिषदको निर्णय) कार्यान्वयन गर्न निर्देशन दिईसकेका छौँ। २४ घण्टाभित्र लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउन मन्त्रालयले निर्देशन दिइसकेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad