कारोबार


पोखरा विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गराउन पर्यटनमन्त्रीसमक्ष व्यवसायीको माग

पोखरा विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गराउन पर्यटनमन्त्रीसमक्ष व्यवसायीको माग

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार २०:४१, काठमाडौँ

पोखरामा क्रियाशील पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन्।

शनिबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी मन्त्री पाण्डेलाई उडान सञ्चालनका लागि मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र भइरहेको सडक स्तरोन्नतिलाई तीव्रता दिन व्यवसायीले आग्रह गरेका हुन्।

पर्यटन व्यवसायीका सङ्घसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पोखराबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग गरे।

उनले पोखरा आउने सडकको स्तरोन्नतिलाई तीव्रता दिन, नेपाल र चीनबीचको कोरला नाका सहज र नियमित सञ्चालनका लागि पहल गर्न पनि आग्रह गरे।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सदुपयोग गर्न माग गरे। 

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र राजमार्गको स्तरोन्नतिमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटनबाट मात्र नेपालको गरिबी निवारण हुनसक्ने भएकाले खेल पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए। उनले यस क्षेत्रमा  पर्यटन एवम् शान्ति सङ्गीत महोत्सव गर्न सुझाव दिए।

यसैबीच होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउनुहुँदै होटललाई उद्योग सरह मान्यता दिई सोहीअनुसार व्यवहार गर्नुपर्ने, कृषि र ऊर्जाजस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनुपने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न सहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्ने माग गरे। 

रात्रिकालीन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न अनुगमनलाई प्रभावकारी बनाइनुपर्ने र नेपाल पर्यटन बोर्डले पूर्वाधार विकासभन्दा पनि प्रवर्द्धनका काममा जोड दिनुपर्ने सुझाव दिइएको अध्यक्ष सुवेदीले जानकारी दिए।

मन्त्री पाण्डेले सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण खोजिरहेको र मन्त्रालयले प्राविधिक टोलीसँग बुझेर थप कार्य अगाडि बढाइने विश्वास दिलाए। 

होटल सञ्चालनका सम्बन्धमा सरकारले नयाँ मापदण्डको तयारी थालेको उनले जानकारी दिए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिंह ऐर, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी, मुद्रा सटही व्यवसायी सङ्गठन पोखराका अध्यक्ष रुपकराज मिश्रलगायतले पोखराको पर्यटनका सम्भावनालगायत विषयमा धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad