पाटन दरबार क्षेत्रबाट दुई/चार पाइला पश्चिम लाग्दा ससाना गल्लीहरू भेटिन्छन्। सांस्कृतिक धरोहर र स्थानीय स्वादले तान्ने हुँदा यहाँ जहिल्यै मानिसहरूको भीड लाग्छ।
लहरै सांस्कृतिक पहिचान र आधुनिकता मिसिएको क्याफे र रेस्टुराँ छन्। आधुनिक गीतको मधुर आवाज कानमा ठोक्किन आइपुग्छ। स्वादिला परिकारको बासना नाकैमा घुम्छन्।
दिनभर व्यस्त रहने यहीँ भेटिन्छन् रोजेश कर्णिकार र उनका आफन्तहरू।
उनीहरूलाई रोजेशका जिजुबुबा विद्यालाल कर्णिकारको विरासत जोगाउनु छ। समयक्रममा नारायणहिटीदेखि सिंहदरबारसम्मले चाखेका मिठाईका परिकार काठामाडौंभरिका मानिसलाई चखाउनु छ।
सय वर्षदेखि यही क्रम चलिरहेको छ।

विद्यालालका पाँच पुस्ताले यही गल्लीमा जीवनभर मिठाई बिक्री गरिसकेको छ। पाँचौँ पुस्तामा आइपुग्दा विद्यालाल र उनका छोराले सुरु गरेको नन्दलाल मिठाई भण्डारले अन्य थुप्रै मिठाई भण्डारहरू जन्माइसकेको छ।
पाटनमा मात्रै नभएर उपत्यकामै ब्रान्ड बनेको नन्दलाल मिठाई भण्डार पछिल्लो पुस्तामा हस्तान्तरण मात्रै भएको छैन, फरक फरक नामहरूमा पनि बाँडिइसकेको छ।
यही नाममा अहिले मिठाई भण्डार सञ्चालनमा छ। रोजेशका आफन्तले नै यसको सञ्चालन गरिरहेका छन्। उनै नन्दलालका जेठो छोराका छोरा (नाति) हुन् रोजेश।
नन्दलालले छोरा घनश्यामलाई मिठाई बनाउन सिकाए। घनश्यामले छोरा श्री ओमलाई र उनले पनि छोरा रोजेशलाई सिकाए। यसरी पाँचौँ पुस्तासम्म आइपुगेपछि रोजेश शताब्दी पुरानो विरासतलाई निरन्तरता दिन तल्लीन छन्।

बुबाले सञ्चालन गरिरहेको घनश्याम मिठाई भण्डार पनि दाजुभाइमा कुरा नमिलेपछि उनी श्री ओम मिठाई भण्डार सञ्चालन गरिरहेका छन्।
रोजेश कर्णिकार बुबा श्री ओमराज कर्णिकारको नाममा सय वर्ष पुरानो स्वाद मिठाईमा भर्न व्यस्त छन्।
नन्दलाल मिठाई भण्डारको छेवैमा रोजेशले बुबा श्री ओमराज कर्णिकारको नामबाट श्री ओम मिठाई भण्डार चलाइरहेका छन्। उनी बुबाबराजुले मिठाईमार्फत पस्किएको स्वादलाई आम उपभोक्तामा जीवन्त बनाइराख्न उद्यत छन्।
पुरानै स्वाद नयाँ पुस्ताका उपभोक्तालाई चखाउन व्यस्त रोजेशले नयाँ परिकारलाई उति प्राथमिकता दिँदैनन्। उनलाई लाग्छ– एक सय वर्षदेखि ग्राहकले रुचाएको नेवारी रैथाने मिठाईलाई नै ब्रान्डिङ गर्नुपर्छ।
त्यसैले हुनुपर्छ– हिजोको दिनमा सर्वाधिक रुचाइएको लाखःमरी आज पनि रोजेशको पहिलो रोजाइमा पर्छ। नन्दराजकै नामबाट चर्चित मिठाईपसलमा उनले थुप्रै परिकारहरू थपेका छन्।

रैथाने स्वादलाई जीवन्त राख्दै उही परिकार पस्किन रोजेश पूरै समय पसलमा खटिन्छन्। उनी लाखःमरी, रोट, बर्फीजस्ता रैथाने मिठाईको नामबाट पसललाई चिनाउन कस्सिएका छन्।
‘मेरो उद्देश्य भनेकै एक सय वर्षदेखिको स्वादलाई भविष्यमा पनि पस्किरहने वातावरण बनाउनु हो’, नेपालखबरसँग उनले भने।
श्री ओम मिठाई भण्डारले विशेषगरी लाखःमरीलाई नै प्राथमिकता दिइरहेको उनको भनाइ छ।
लाखःमरी विशुद्ध नेवारी रैथाने मिठाई हो। यसलाई रोेजेशले चार स्वादमा पस्किएका छन्। लाखःमरीअन्तर्गत जोप्रसाद, मठ र ऐँठा नामक मिठाईहरू बन्छन्। जोप्रसाद चामल र मासले बनाइएको हुँदा ‘क्रन्ची’ हुने गर्छ भने मठ र ऐँठा गहुँको पिठो र घ्यूबाट बन्ने हुँदा नरम खालको हुन्छ।

विशेषगरी वृद्धवृद्धाहरूले मठ र ऐँठा रुचाउँछन्। युवाहरूलाई भने ‘क्रन्ची’ भएकै कारण जोप्रसादले बढी आकर्षित गर्छ। योबाहेक रोट पनि यहाँको चर्चित मिठाई हो। रोट अर्थात् रोटी पिठो र चिनीको पाक मिसाएर बनाइने यो परिकार सामान्य रोटीभन्दा आकारमा ठूलो हुन्छ।
यीबाहेक बर्फी पनि ग्राहकले निकै रुचाएको बताउँछन् रोजेश।
उनका अनुसार लाखःमरी र रोट भने नेवारी समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारमा अनिवार्य हुन्छ। रोजेश नेवारी रैथाने परिकार खोज्नेहरू अहिले नेवार समुदायमा मात्रै सीमित नरहेको बताउँछन्।
‘अहिले नेवारी समुदायभन्दा बाहिरका समुदायमा पनि माग बढेको छ, यहाँको रैथाने स्वाद खोज्दै आउनेहरूले अहिले चाडपर्वहरूदेखि विदेश जाँदा पनि लाखःमरी किन्ने गरेका छन्’, उनले भने, ‘यसको प्रयोग पहिलेभन्दा निकै बढेको छ।’

११ वर्षसम्म बुबा ओमराजबाट परिकार बनाउन सिकेका उनले अहिले अन्य समुदायलाई पनि आर्कषित गरिरहेका छन्। रैथाने स्वाद नेवार समुदायमा मात्रै सीमित नभई देशैभर फैलिनुपर्ने रोजेशको भनाइ छ।
नेपाली बजारमा भारतीय मिठाईहरूकै रजगज चलिरहँदा रैथाने मिठाईलाई प्रवर्द्धन गर्नसके नयाँ पुस्तामा पनि रैथाने स्वाद भर्न सफल भइने उनी बताउँछन्।
रोजेशले १६ जना कर्मचारीसहित श्री ओम मिठाई भण्डार सञ्चालन गरिरहेका छन् भने व्यापारिक वृक्ष नन्दबाट भने चारवटा पसलमा २ सय जनाले रोजगारी पाएका छन्।

रोजेशको पसलमा लाखःमरी, बर्फी, पेडा, गुँदपाक, खुवा, मसला लड्डु, बुनिया लड्डु, टुक्रा निम्की, जेरी, स्वारी, हलुवा, दिनिस रोटी, लालमोहन, रसवरी, खजुरी, पुष्टकारी, फुरनदाना, प्लेन भुजियालगायतका परिकार चाख्न पाइन्छ।
यिनमा सबै प्रकारको लाखःमरी प्रतिकिलो ७ सय रुपैयाँमा पाइन्छ भने बर्फी ११ सय रुपैयाँ, पेडा १३ सय रुपैयाँ र गुँदपाक ९ सय रुपैयाँ प्रतिकिलो पर्छ। यस्तै खुवा ८ सय रुपैयाँ प्रतिकिलोमा खरिद गर्न सकिन्छ भने मसला लड्डु ९ सय रुपैयाँ, बुनिया लड्डु ८ सय रुपैयाँ, टुक्रा निम्की ५ सय रुपैयाँ, जेरी/स्वारी/हलुवा ५ सय र दिनिस रोटी ७ सय रुपैयाँ प्रतिकिलोका दरमा पाइन्छ।
थप तस्बिर










सबै तस्बिर : सरोज बैजु
Shares

प्रतिक्रिया