कारोबार


भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १६:३३, काठमाडौँ

नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ।

बजारमा गहुँको अभाव हुने देखिएपछि केहि मात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल चालेको हो।

अहिलेलाई भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादक लगायतका व्यवसायीहरुबाट गहुँको आपूर्ति गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए।

गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उनले बताए।

मैदा व्यवसायीहरुले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन्। व्यवसायीहरुलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयको आग्रह छ। बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारवाही गरिने मन्त्रालयले जनाएको छ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए पनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताए। व्यवसायीले नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेको भन्दै सरकारलाई सहज गरिदिन उनको आग्रह छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक संचय गरी कृतिम अभाव सृजना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने र अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad