कारोबार


टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि बझाङको खप्तडछान्ना सञ्चारविहीन

टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि बझाङको खप्तडछान्ना सञ्चारविहीन

सांकेतिक तस्बिर


नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १४:५७, काठमाडौँ

गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ। गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो।

सञ्चार सम्पर्कविहीन भएपछि गाउँबाहिरका आफन्तसँग दसैँको रमाइलो साट्न नपाएको खप्तडछान्ना गाउँपालिका–७ का प्रदीप खड्काले बताए। खप्तडछान्ना गाउँपालिकास्थित गोर्खाली गाउँमा दसैँको दिन मेलासमेत आयोजना गरिएको थियो।

उनले भने, ‘अष्टमीको दिनदेखि टेलिफोनको नेटवर्कले काम गर्न छाडेपछि मेलामा समेत प्रभाव परेको छ। अहिले सिङ्गो गाउँपालिकामा नै नेटवर्क विहीन बनेको छ।’  

स्थानीयवासी वसन्त चौहानले गत असोज २३ गते बेलुकी अज्ञात समूहले खप्तडछान्ना –४ माझीगाउँस्थित नेपाल टेलिकमको टावरमा तोडफोड गरेको बताए।  

माझी गाउँमा रहेको रिमोट टावरसँगै खप्तडछान्ना –७ माडुकाट्नेको टावर पनि तोडफोड भएको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले जानकारी दिए। दुई टावरबीचको रेडियो लिङ्कले काम गर्न छोडेपछि यहाँका २० हजार बढी नागरिक सम्पर्कविहीन भएको उनले बताए।

अहिले यी दुईवटै टावर मर्मतको काम भइरहेको उनले बताए। जिल्लामा दक्ष जनशक्ति अभाव र सबै उपकरण नयाँ राख्नुपर्ने भएकाले समय लाग्ने प्रमुख सिंहले जानकारी दिए।

यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा रहेका टावरमा तोडफोड र चोरीका हुने गरेको बताइएको छ। टावरमा तोडफोड गर्नेको अहिले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले बताए।

टावर जङ्गलमा रहेको हुँदा घटनाको वास्तविकता पत्ता लगाउन कठिनाइ भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad