ad ad

कारोबार


साताको सेयर : ११० अंकले बढ्यो सूचक, १४ अर्ब ४५ करोडको कारोबार

साताको सेयर : ११० अंकले बढ्यो सूचक, १४ अर्ब ४५ करोडको कारोबार

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १७:११, काठमाडौँ

यो साता सेयरबजार चार दिन मात्रै खुलेको छ। ४ कारोबार दिनमा २ दिन सूचक बढेको र २ दिन घटेको छ। 

साताभर नेप्से सूचक ११०.७२ अंकले बढेको छ भने कुल १४ अर्ब ४५ करोडको सेयर कारोबार भएको छ। 

यो साता गत सप्ताहान्तमा देशमा आएको बाढी र पहिरोले सेयरबजारमा प्रभाव परेको थियो। 

बुधबार नेप्से २६ अंकले घटेको थियो। २६.०७ अंकले घटेर २५९७.४९ अंकमा समेटिएको थियो। उक्त दिन ६ अर्ब ७७ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको थियो। 

यस दिन १८७ कम्पनीको मूल्य घट्दा ५४ वटाको बढेको थियो। बुधबार थ्रि स्टार हाइड्रोको सेयरमा सकारात्मक सर्किट लाग्दा स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोको मूल्य पनि सोही हाराहारीमा बढेको थियो।

त्यसैगरी विन नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट लाग्दा ङादी हाइड्रो ९.२० र मिड सोलु हाइड्रोको सेयर ७.३१ प्रतिशतले घटेको थियो। 

बुधबार नेपाल फाइनान्सको सेयरमा लगानीकर्ता झुम्मिएका थिए। कम्पनीको २० करोडको सेयर किनबेच भएको थियो। 

मंगलबार उछाल 
यता मंगलबारको सेयरबजारमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको थियो।

नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुग्दा लगानीकर्ताले ७ अर्ब ६१ करोड ६५ लाखको कारोबार गरेका थिए। उक्त दिन १ करोड ७५ लाख बढी कित्ता सेयर बिक्री भएको थियो। 

सूचकमा उछाल आएको दिन २४३ कम्पनीको सेयर मूल्य बढेको थियो। उक्त दिन १८ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो। यस दिन कारोबारतर्फ एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड ८२ लाख, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख, नेपाल फाइनान्सको २० करोड ७२ लाख, सीईडीबी हाइड्रोको १९ करोड ७२ लाख लाख र अपि पावरको १८ करोड १० लाखको सेयर किनबेच भएको थियो। 

सोमबार हरियाली 
साताको दोस्रो कारोबार दिन सेयरबजारमा हरियाली छाएको थियो। २४४१ अंकको न्यूनतम विन्दु छोएर फर्केको नेप्सेले २५ सयमाथिको यात्रा गरेको थियो। सूचक ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा पुगेको थियो। बजारमा ८० प्रतिशत कम्पनीको मूल्य पनि बढेको थियो। 

यस दिन २१० कम्पनीको लगानीकर्ताले कमाउँदा ३३ कम्पनीका लगानीकर्ताले गुमाएका थिए। बिहीबार, शुक्रबार र शनिबार परेको भीषण वर्षातका कारण आएको बाढीले २० वटा भन्दा बढी जलविद्युत् आयोजनाहरुमा क्षति पुगेपछि त्यसको असर दोस्रो बजारमा देखिएको थियो। सोमबार मात्रै २४ वटा जलविद्युत कम्पनीहरुको सेयरमूल्य घटेको थियो। 

सोमबार सीईडीबी हाइड्रोको सेयरको सर्वाधिक माग भएको थियो। यस दिन कुल ३ अर्बको कारोबार भएको थियो। सोमबार जलविद्युत् र म्युचुअल फन्ड समूहको सेयरमा गिरावट आएको थियो। 

आइतबार राताम्य 
साताको पहिलो कारोबार दिन नेप्से २२.३६ अंकले घटेर २४६४ अंकमा बजार बन्द भएको थियो। 

यस दिन बजार ‘लिड’ गर्ने समूहहरु नै राताम्मे बनेपछि सूचकले माथि लाग्न सकेन। सबैभन्दा धेरै सेयर कारोबार हुने बैंकिङ, जलविद्युत्, फाइनान्सलगायतका समूहको सूचक घट्दा त्यसको असर बजारमा देखिएको थियो। सूचकसँगै यस दिन कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित हुनपुगेको थियो।

यो दिन कारोबारमा आएका ३२७ वटा कम्पनीमध्ये १९३ वटा कम्पनीले भएको मूल्य पनि गुमाएका थिए भने ४६ वटा कम्पनीले कमाएका थिए। कमाउनेमा वीन नेपाल लघुवित्त, कुमारी सबल योजना र इङ्वा हाइड्रो अगाडि रहे। 

कारोबारमा भने पहिलो दिन एनएलजी इन्स्योरेन्स र सिइडीबी हाइड्रो डेभलपमेन्ट कमपनी अगाडि देखियो। यो दुवै कम्पनीको १५ करोड माथिको सेयर कारोबार भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .