सरकारी सेवामा महिलाको आकर्षण चुलिइरहेका बेला निजी क्षेत्रका व्यवसायमा पनि महिला सहभागिता बढ्दै गएको छ।
लोकसेवाले आरक्षण दिएर सरकारी सेवामा महिला सहभागिता सुनिश्चित गरेको छ। निजी क्षेत्रमा यसखालको सुविधा छैन। तथापि प्रतिस्पर्धाबाटै नेतृत्व तहमा पुग्ने र आफैँ व्यवसाय सञ्चालन गर्ने महिलाको संख्या वृद्धि हुँदै गएको छ।
सरकारी तथ्यांकअनुसार मुलुकभर सञ्चालनमा रहेका व्यवसाय प्रतिष्ठानमध्ये २ लाख ४७ हजार ८ सय ८० महिलाले सञ्चालन गरिरहेका छन्।
त्यस्तै, म्यानेजर तहमा पुग्ने महिलाको संख्या २ लाख ७३ हजार ४ सय ३६ छ।
३० प्रतिशत महिला म्यानेजर
केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा मुलुकभर सञ्चालनमा रहेको विभिन्न व्यवसायी प्रतिष्ठानमध्ये २९.६१ प्रतिशतमा महिला म्यानेजर छन्।
केन्द्रीय तथ्यांक विभागले मुलुकमै पहिलो पटक राष्ट्रिय आर्थिक गणना गर्दै असारमा उक्त तथ्यांक सार्वजनिक गरेको थियो। जसअनुसार नेपालमा ९ लाख २३ हजार ३ सय ५३ प्रतिष्ठान छन्। तीमध्ये २९.६१ प्रतिशत प्रतिष्ठानमा महिला म्यानेजर भएको तथ्यांकमा उल्लेख छ।
यस हिसाबले व्यवस्थापकीय नेतृत्वमा पुगेका महिलाको संख्या २ लाख ७३ हजार ४ सय ३६ हुनआउँछ।
‘प्रथम राष्ट्रिय आर्थिक गणना २०७५’ अनुसार मुलुकभरका ९ लाखभन्दा धेरै प्रतिष्ठानमा ३२ लाख २८ हजार ४ सय ५७ जनाले काम गर्छन्।
तर, महिलाले नेतृत्व गरेका व्यवसाय प्रतिष्ठानमा कामदारको संख्या न्यून छ। महिलाको नेतृत्वमा झन्डै ३० प्रतिशत प्रतिष्ठान रहेपनि त्यसमा कार्यरत जनशक्तिको हिस्सा भने १८.८७ प्रतिशत मात्रै छ। अर्थात् महिला म्यानेजर भएको व्यवसाय प्रतिष्ठानमा ६ लाख ३२ हजारले काम गरिरहेका छन्।

विभागले आर्थिक क्रियाकलाप हुने १८ वटा क्षेत्रको अध्ययन गरेको थियो। त्यसमध्ये दुई क्षेत्रमा महिला म्यानेजरको संख्या अधिकतर देखिएको छ। महिला म्यानेजर धेरै भएका क्षेत्रहरुमा आवास सुविधा तथा खाना व्यवस्था र मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्षेत्र छन्।
आवास सुविधा तथा खाना व्यवस्थामा सबैभन्दा धेरै ४०.३ प्रतिशत महिला म्यानेजर छन्। त्यस्तै, मानव स्वास्थ्य र सामाजिक कार्यका व्यवसाय प्रतिष्ठानमा ४०.२ प्रतिशत महिला छन्।
धेरै महिला म्यानेजर भएको तेस्रो स्थानमा थोक तथा खुद्रा व्यापार, मोटर, माटरसाइकल मर्मत व्यवसाय छन्। यीमध्ये ३१.७ प्रतिशत व्यवसायमा महिला म्यानेजर छन्।
महिला सञ्चालक २७ प्रतिशत
विभागले गरेको अध्ययनमा २ लाख ४७ हजार ८ सय ८० महिलाले आफैँ व्यवसाय प्रतिष्ठान सञ्चालन गरिरहेका छन्। कुल ९ लाख २३ हजार प्रतिष्ठानमध्ये यो संख्या २६.८६ प्रतिशत हुन आउँछ। त्यस्तै, ६३.११ प्रतिशत अर्थात ५ लाख ८३ हजार पुरुष सञ्चालक छन्।
महिला कामदार ३७.७ प्रतिशत
कुल जनसंख्यामध्ये पुरुषभन्दा महिलाको संख्या धेरै देखिन्छ। तर, व्यवसाय प्रतिष्ठानमा महिला कामदारको संख्या भने ३७.७ प्रतिशतमा सिमित देखिन्छ।
अर्थात्, आफ्नै खुट्टामा उभिने महिलाको संख्या कम देखिन्छ। ९ लाख २३ हजार प्रतिष्ठानमा ३७.७ प्रतिशत महिला कामदार भन्नुको अर्थ १२ लाख १६ हजार २ सय २० जना महिलाले रोजगारी पाएका छन्।
ती प्रतिष्ठानमा कुल रोजगारीको संख्या ३२ लाख २८ हजार छ। यस हिसाबले पुरुषको संख्या २० लाख १२ हजार २ सय ३७ अर्थात ६२.३ प्रतिशत छ।
थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत जस्ता क्षेत्रमा महिला कामदार ११.५१ प्रतिशत छन्। त्यस्तै, शिक्षा क्षेत्रमा ६.८३ प्रतिशत, आवास सुविधा तथा खाना व्यवस्थापनमा ४.६३ प्रतिशत र औद्योगिक उत्पादनमा ४.११ प्रतिशत महिला कामदार छन्।

प्रतिक्रिया