ad ad

कारोबार


अमेरिकाले ७७ वस्तु निर्यातमा दिएको करछुट सुविधा नवीकरण गराउन व्यवसायीको माग

अमेरिकाले ७७ वस्तु निर्यातमा दिएको करछुट सुविधा नवीकरण गराउन व्यवसायीको माग

नेपालखबर
भदौ २४, २०८१ सोमबार १९:१, काठमाडौँ

नेपालले अमेरिका निर्यातमा पाउँदै आएका ७७ वस्तुको कर छुट अर्को वर्ष (सन् २०२५मा) सकिन लाग्दा व्यवसायीले म्याद थप गर्न माग गरेका छन्।

नेपालमा नेपाली वस्तु तथा सेवा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको टिफा परिषद्को बैठकमा उक्त प्रस्ताव लैजान व्यवसायीले आग्रह गरेका हुन्। 

२०१५ मा भूकम्प गएसँगै अमेरिकाले नेपालका वस्तु निर्यात प्रवर्द्धन गर्नका लागि ७७ वस्तु निर्यात गर्दा शून्य महशुल लगाउने नीति ल्याएको थियो। 

काठमाडौंमा आयोजित अमेरिका–नेपाल व्यापार तथा लगानी विषय छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महशुल छुट गर्नका लागि नेपालले बलियो गरी प्रस्ताव गर्नुपर्ने बताए। 

‘७७ वस्तु अमेरिका निर्यात गर्दा शून्य महशुल छ। २०१६ बाट सुरू २०२५ डिसेम्बरमा सकिँदै छ’, अध्यक्ष ढकालले भने, ‘नेपालबाट धेरै निर्यात हुने वस्तुमा सूचीमा नपरेको गुनासो आएको छ भने छुटको अवधि नै सकिन लागेकाले आगामी टिफा बैठकमा हाम्रा विषय स्पष्ट राख्नुपर्छ।’

अमेरिकामा नेपालले निर्यात गर्ने वस्तुमा गलैँचा बढी छ। अहिले दोस्रो वस्तुको रूपमा तयारी पोसाक छ। पछिल्लो समय छुर्पीको समेत निर्यात बढ्दै गएको छ।

तयारी पोसाक धेरै निर्यात गर्ने बंगलादेशमा राजनीतिक अस्थिरता हुँदा त्यहाँको उद्योगमा असर पर्न थालेको अध्यक्ष ढकाल बताउँछन्। 

‘बंगलादेशमा रातनीतिक उतारचढावले केही लगानीकर्ता नेपालमा आउन खोजेका छन्’, उनले भने, ‘नेपालले निर्यात गरिरहेको तयारी पोसाकलाई यही समयमा बढाउन सके दीर्घकालीन रुपमा फाइदा लिन सकिन्छ।’

नेपाल–अमेरिका वस्तु व्यापारबारे बोल्दै डा पारस खरेलले केही वर्षअघि २०० मिलियन डलर रहेकोमा २०२२ मा १५० मिलियन डलरमा सीमित रहेको उल्लेख गरे। 

नेपालबाट लुगाको व्यापार घट्दा कार्पेट, पस्मिना बढे पनि तयारी पोसाक लगायतको निर्यात घट्दा समग्र व्यापार घटेको उनको भनाइ छ।   

‘अमेरिका भारतपछि नेपालको दोस्रो ठूलो बजार हो। नेपालबाट निर्यात हुने  २ तिहाइ वस्तु महशुल लाग्दैन’, खरेलले भने, ‘अमेरिकाले नेपाली वस्तु निर्यातमा छुट दिए पनि बढाउन सकिएको छैन। घट्दै गएको छ।’

अमेरिकामा अहिले निर्यात हुने केही टेक्सटाइल र जुत्ताहरूमा कर लगाइरहेको बताए। नेपाल अमेरिका व्यापार बढाउने जीएपी, नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम, टिफा काउन्सिल भए पनि निर्यात वृद्धि गर्न नसकेको उनी बताउँछन्। 

नेपालले २२३ वस्तु निर्यात गर्न सक्ने देखिएको बताउँदै त्यसमा ७५ वस्तुमा मात्रै बढी कर रहेको सुनाए। 

‘कर लाग्ने वस्तुमा औसतमा ११–१२ प्रतिशत कर लाग्ने रहेको छ। यी वस्तुमा अफ्रिकाबाट आयात हुँदा कर छुट रहेको छ’, उनले भने, ‘आगामी टिफा बैठकमा अरु देशले पाएका छुट नेपालले पनि पाउने माग राख्नुपर्छ।’

अमेरिकाले दिँदै आएको जीएपी सुविधा २०२१ देखि स्थगन भएको छ। यसलाई सुचारू गर्दा नेपालको निर्यात प्रवर्द्धन हुने उनी बताउँछन्।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरुप अमेरिकासंग छलफल गरिने बताए। 

प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए। 

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए। नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासंग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए। 

त्यस्तै, नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथ साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .