मर्जर किङको रुपमा चिनिने आईएमई ग्रुपले बैंकिङपछि रेमिटमा पनि मर्जर अगाडि बढाएको छ।
९० करोड चुक्ता पुँजीको आईएमई इन्टरनेसनल मनि एक्सप्रेस र अर्को २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको जीएमई रेमिट गाभिएर आईएमई रेमिट लिमिटेड बनेको हो।
दुवै गाभिँदा १ अर्ब १५ करोड रुपैयाँसहितको आईएमई रेमिटको नामबाट संयुक्त कारोबार सुरु भएको छ।
योसँगै आईएमई नेपालको पहिलो ठूलो रेमिट कम्पनी बनेको छ। कम्पनीका अध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका भाइ हेमराज ढकाल छन्।
उनले २३औँ वर्षदेखि नम्बर एकको पहिचान बनाएको आईएमई इन्टरनेसनल रेमिट्यान्स अब आईएमई रेमिटमार्फत सबैभन्दा ठूलो चुक्ता पुँजी भएको कम्पनी बनेको बताए।
अहिले बनेको आईएमई रेमिट लिमिटेडको कुल पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। ग्रुपका अध्यक्ष ढकालले पब्लिक कम्पनीमा जाने योजनाअनुसार मर्जरमा गएको उल्लेख गरे।

जापानमा बसाइका क्रममा नेपालीले विदेशमा रहेर नेपालमा पैसा पठाउनुपर्ने सकस देखेपछि नेपाल फर्केर रेमिट्यान्स कम्पनी खोलेका उनै ढकालले पहिलो कारोबार भने मलेसियामा आईएमई इन्टरनेसनल मनि एक्सप्रेसको नामबाट गरेका थिए।
सन् २००१ मा स्थापना भएको आईएमई इन्टरनेसनलले २३ वर्षपछि कोरिया, जापानलागयतका देशहरुमा प्रख्याति कमाएको जीएमई रेमिट्यान्सलाई गाभेर पुँजीगत आधारमा पहिलो ठूलो रेमिट कम्पनी बनेको हो।
रेमिटको अध्यक्ष आईएमईको तर्फबाट हेमराज ढकालले पाउँदा जीएमई रेमिटका अध्यक्ष दिवाकर पौडेलले कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन्। योबाहेक लिमिटेडको सञ्चालक समितिमा अध्यक्ष तथा संस्थापक हेमराज ढकाल, दिपक शर्मा पोखरेल र रुद्र प्रसाद पौडेल छन्।
१ अर्बमाथिको पुँजीपछि अब आईएमई रेमिटले प्राथमिक सेयर निष्काशनको काम समेत अगाडि बढाउने भएको छ। संयुक्त कारोबारको शुभारम्भ गर्दै ढकालले चाँडै आईपीओ जारी गर्ने बताए।
नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म नेपालमा रेमिट्यान्स कम्पनीहरुमार्फत १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
वार्षिक रुपमा रेमिट्यान्स भित्रिने क्रम बढिरहँदा कम्पनीले क्षमतालाई थप विस्तार गर्न चाहेको छ। अहिलेसम्म ८० भन्दा बढी देशहरुबाट रेमिट्यान्स भित्र्याएको कम्पनीले मर्जरपछि डिजिटल रेमिट्यान्स सेवालाई विस्तार गर्दै स्थानीय तहसम्म पुग्ने योजना बनाएको छ।
Shares

प्रतिक्रिया