ad ad

कारोबार


‘हटकेक’ बन्दै सेयरबजार : पोल्टाको पैसादेखि बैंकको निक्षेपसम्म झिकेर लगानी

बैंकर भन्छन्– सेयर कर्जाको लिमिट नै सकिने अवस्था आइसक्यो
‘हटकेक’ बन्दै सेयरबजार : पोल्टाको पैसादेखि बैंकको निक्षेपसम्म झिकेर लगानी

सम्झना घिमिरे
साउन ३०, २०८१ बुधबार १३:१७, काठमाडौँ

नेपाल धितोपत्रको दोस्रो बजार अहिले सर्वसाधारणदेखि व्यवसायीसम्मका लागि ‘हटकेक’ बनेको छ। राजनीतिक दलको प्रमुख एजेन्डादेखि चिया पसलको गफको केन्द्रविन्दु बनेको बजारमा अहिले दिनकै अधिकतम २७ अर्ब बढिको सेयर कारोबार भइरहेको छ। 

जनताको आयस्तरमा खासै परिवर्तन नदेखिएको अवस्थामा सेयरबजारमा भने लगानी गर्ने लगानीकर्ताको होडबाजी चलेको छ। यसले कारोबारमात्रै बढाएको छैन, साउन १ गतेसम्म ३६ खर्ब रहेको बजार पुँजीकरण साउन २८ गते ४६ खर्बमाथि पुगिसकेको छ। 

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार साउन १ गते ९ अर्ब ११ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा साउन १६ गते २१ अर्बको सेयर किनेबेच भयो। यस्तै साउन २२ गते २३ अर्बको सेयर कारोबारले अलटाइम ‘हाइ रेकर्ड ब्रेक’ गर्‍यो। 

त्यसपछिका दिनहरुमा पनि क्रमशः २५ अर्ब र त्यसपछि २७ अर्बको खरिदबिक्रीसहित सेयरबजारको इतिहासमै नयाँ रेकर्ड बन्न पुग्यो।

सोमबार २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको थियो। मंगलबार भने बजारमा सामान्य ‘करेक्सन’ देखिँदा लगानीकर्ताले २१ अर्बको मात्रै कारोबार गरे। समग्रमा यो साउनयता औसतमा २० अर्बमाथिको कारोबार भइरहेको छ। 

यस्तै लगानीकर्ताको सम्पत्ति घटबढलाई मापन गर्ने बजार पुँजीकरण पनि बढेर ४६ खर्बमाथि पुगेको छ भने कारोबारमा आधारित पुँजीकरण मात्रै १६ खर्बमाथि छ।

कहाँबाट आइरहेको छ सेयर किन्ने पैसा?
अघिल्लो पटकको बुलमा ३२ सय पुगेको नेप्सेले अहिले सोही रेकर्ड तोड्नै बाँकी छ। तर यही समयमा लगानीकर्ताले कारोबारमा ऐतिहासिक छलाङ मारिरहेका छन्। योसँगै आर्थिक सुस्तता कायमै रहेको अवस्थामा लगानीकर्ताले अर्बौँ रकम लगानीका लागि पैसा कसरी जुटाउँदै छन् भन्ने चासो बढ्नथालेको छ। 

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली साउन लागेयता सेयर धितोकर्जा लिनेको संख्या अत्यधिक बढेको बताउँछन्। बजार माथि उठ्न चाहिरहेकै समयमा मौद्रिक नीतिले संस्थागत लगानीकर्ताले लिने सेयरधितो कर्जाको सीमा खारेज गर्दा यस्तो कर्जा प्रवाह बढेको उनको तर्क छ। 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट संस्थागत लगानीकर्ताले लिन पाउने सेयरधितो कर्जामा लाग्दै आएको २० करोडको सीमालाई खारेज गरेको छ। यसले संस्थागत लगानीकर्ताले फुक्काफाल भएर कर्जा लिनसक्ने वातावरण बनेको हो। 

डेपुटी सीईओ ज्ञवाली सीमा खारेजले लगानीकर्ताको मनोबल बढ्दा कर्जा प्रवाहमा उल्लेख्य वृद्धि भएको बताउँछन्। 

‘हाम्रोमा सेयर कर्जाको लिमिट नै सकिने अवस्था आइसक्यो, अत्यधिक माग हुँदाहुँदै पनि अब दिन नसक्ने अवस्थामा पुगिसक्यौँ’, उनले नेपालखबरसँग भने। 

बैंक तथा वित्तीय संस्थाहरुसँग तरलता अधिक भइरहेको अवस्थामा राष्ट्र बैंकले कर्जा विस्तारको रणनीति लिएपछि बैंकहरुले पनि कर्जा प्रवाहलाई जोड दिन थालेको छन्। आर्थिक सुस्तता कायमै रहेको अवस्थामा व्यावसायिक ऋण लिनेभन्दा सेयर धितोकर्जामा कर्जा माग्न आउने बढेपछि बैंकहरु धमाधम सेयर धितो कर्जा प्रवाहलाई बढाउन थालेका हुन्। 

‘निक्षेपको ब्याजदर घट्यो, संस्थागत ऋणी बढे’
ज्ञवाली सेयरधितो कर्जामा लाग्दै आएको सीमा खारेज गरेपछि संस्थागत ऋणी बढेको बताउँछन्। 

‘साना/ठूला दुइटै लगानीकर्ता बढेका छन्, रकमको आधारमा भने अहिले ठूला लगानीकर्ता नै धेरै छन्’, उनले भने। 

त्यसो त साउनका लागि वाणिज्य बैंकको निक्षेपको ब्याजदर औसतमा ६.७३ प्रतिशत छ। अधिकांश बैंकहरुले निक्षेपमा थोरैमा संस्थागततर्फ ४.१ प्रतिशत र व्यक्तिगततर्फ ६.७३ प्रतिशत ब्याजदर तोकेका छन् भने व्यक्तिगततर्फ ५.२ देखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकेका छन्।

निक्षेपको ब्याजदर क्रमशः घट्न थालेपछि बचतमा राखेको पैसा सेयरबजारमा लगानी गर्न थालेको बैंकर बताउँछन्। 

उनले भनेजस्तै सेयरबजार र बैंक ब्याजदरबीचको सम्बन्धविपरीत रहने गर्दछ। ब्याजदर घट्दा सेयरबजार बढ्ने गर्छ। सोही प्रवृत्ति अहिले बजारमा पनि देखिन थालेको उनको बुझाइ छ। 

त्यसो त लगानीकर्ता पनि घटेको निक्षेप र कर्जाको ब्याजदरले सेयरबजार बढाउन थप सहयोग गरेको मान्छन्। 

ब्याजदर ६ प्रतिशतमा ओर्लिनु र सेयरधितो कर्जा पनि खुकुलो हुनुको प्रभाव बजारको दैनिक सेयर कारोबारमा परेको उनीहरुको बुझाइ छ। 

‘निक्षेपको ब्याज आम्दानीभन्दा धेरै सेयरबजारमा प्रतिफल पाउने भएपछि अहिले लगानीकर्ताले निक्षेपबापतको रकम सेयरबजारमा स्थानान्तरण गर्न थालेका हुन्’, एक ब्रोकर सञ्चालकले भने। 

उनले बजारमा नयाँ लगानीकर्ताको प्रवेश ह्वात्तै बढ्दा कारोबार पनि बढेको बताए। ब्याजदर महंगिएर निक्षेपमा पैसा राखेकाहरु पनि सेयरबजारप्रतिको मनोबल बढ्न थालेपछि पैसा निकालेर बजारमा लगानी गर्न थालेको उनको तर्क छ। 

ती सञ्चालकले भने, ‘अघिल्लो पटकको बुल देखेका तर प्रवेश नगरेका लगानीकर्ताहरु पनि यतिबेला कन्फिडेन्सका साथ लगानी गर्न तम्सिरहेका छन्, निक्षेपको ब्याजदर घटेपछि त्यो पैसा यता लगानी भएको हो।’ 

नयाँ लगानीकर्ताले कर्जाको जोखिम उठाउने सम्भावना कम हुँदा निक्षेपको प्रयोग बढेको उनको धारणा छ। 

नेपाल स्टक एक्स्चेन्जका एक अधिकारी लामो समय निक्षेपमा थन्किएको लगानी सेयरबजारमा आउन थालेको आकलन गर्छन्। 

बजारले २७ अर्बमाथिको कारोबार गर्नुको पछाडि लगानीकर्ताको बजार बढ्छ भन्ने बलियो मनोबलले काम गरेको उनको धारणा छ। 

‘बजार बढ्छ भन्ने बलियो मनोबलसहित अहिले पुराना मात्रै होइन नयाँ लगानीकर्ता पनि बजारमा सक्रिय छन्, पोल्टाको पैसादेखि बैंकको पैसासम्म बजारमा आउन थालेपछि कारोबार उचालिएको हो’, उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .