ad ad

कारोबार


प्रधानमन्त्री भन्छन्– हामी काम भइरहेको छ भन्न होइन, थालेको काम सकिएको सुनाउन आतुर छौँ

प्रधानमन्त्री भन्छन्– हामी काम भइरहेको छ भन्न होइन, थालेको काम सकिएको सुनाउन आतुर छौँ

नेपालखबर
साउन ६, २०८१ आइतबार १४:१५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि बढेका आयोजनाको काम सकेर सुनाउन आतुर रहेको बताएका छन्। 

आइतबार संसदमा विश्वासको मत माग्दै ओलीले उक्त प्रतिबद्धता जनाएका हुन्। 

‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भनेर सुनाउन आतुर छौँ। यसका लागि हामी मुख्य ४ काम गर्नेछौँ— पहिलो क्षमता अभिवृद्धि, दोस्रो मूल्यांकन (खर्च गर्ने क्षमता बढाउने), तेस्रो आवश्यक ऐन संशोधन र चौथो निर्माण सम्पन्न गरेर नि भुक्तानी पाउन नसकेकालाई भुक्तानी दिनेछौँ’, उनले भने।  

ओलीले नेपालको विकास निर्माण सधैँ काम भइरहेको अवस्थामा मात्रै अघि बढेको बताए। 

‘एउटा चर्चित अंग्रेजी भनाइ छ डब्लु आईपी अर्थात् वर्क इन प्रोग्रेस। हाम्रो विकासको काम पनि सधैँ यस्तै भइरहेको छ। जहिले काम भइरहने तर कहिल्यै नसकिने। म एउटा उदाहरण पेस गर्छु– आव २०६५/६६ मा कालीकोट जिल्लाको खुलालुदेखि हुम्लाको सलिलासम्म १२३ किमि सडक कालोपत्रे/स्तरोन्नति गर्ने एउटा आयोजना थियो। केही दिनअघि रिपोर्ट हेर्दा विगतका १६ वर्षको यस आयोजनाको भौतिक प्रगति जम्मा १५ प्रतिशत पुगेको देखिन्छ।’ 

यो आयोजना सम्पन्न गर्नुपर्ने निकायले तयार पारेको रिपोर्टमा आयोजना सम्पन्न गर्नुपर्ने मिति एकीन नभइसकेको उल्लेख भएको उनको भनाइ छ। 

‘एकातिर राष्ट्रिय गौरवको आयोजना भन्ने अर्कोतिर वर्षभरिमा १ प्रतिशत प्रगति पनि हासिल नगर्ने। कहिलेसम्म सक्छौँ भनेर टुंगोसम्म लगाउन नसक्ने आयोजनालाई राष्ट्रिय गौरवको आयोजना भनिरहने’, उनले थपे, ‘यस्तो विकासको मोडल बोकेर हामी समृद्धिको पथमा गइरहेका छौँ। अब हामी विकासको मामिलामा देखिएको यस्तो अनुशासनहीनताको अन्त्य गर्छौँ। सबै मन्त्रालयअन्तर्गत अहिलेसम्म सुरु भएका सबै परियोजना समयमै सम्पन्न गर्नेमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .