ad ad

कारोबार


साताको सेयरबजार : ४ दिन हरियाली, सातैभर फुरुंग लगानीकर्ता

साताको सेयरबजार : ४ दिन हरियाली, सातैभर फुरुंग लगानीकर्ता

नेपालखबर
साउन ३, २०८१ बिहिबार १७:३१, काठमाडौँ

झण्डै दुई वर्षदेखि सुस्ताएको बजार र लगानीकर्ता यो साताभर उत्साहित बनिरहे।

नेप्सेमा फर्किएको खुसीले गर्दा लगानीकर्ता उत्साहित मात्र बनेनन्, दैनिक १५ अर्बसम्मको कारोबार समेत गरे। 

२०७८ भदौ ३ गतेको अलटाइम हाइ (२०३२ अंक) ‘ब्रेक’ गरेर फर्किएको नेप्सेमा पुन: लगानीकर्ता उत्साहित बन्न थालेका छन्। सम्भवत: यो नै दुई वर्षयता नै यो सातामा सबैभन्दा धेरै अंकले नेप्से सूचक र कारोबार बढेको हो।

यो साता २ सय २० अंकले सूचक बढेको छ। यो साताको कारोबारको सुरु दिन आइतबार ५२ अंकले बढेको नेप्से अन्तिम कारोबार बिहीबार पनि ७५ अंकले बढेर बन्द भएको छ।

बजार घट्न थालेको ३५ महिनापछि सेयरबजारले पुन: ‘बुलिस ट्रेन्ड’ समातेको हो। लगानीकर्ताले रुचाएका अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्तामा मनोवैज्ञानिक राहत देखिँदा त्यसको असर बजारमा देखिएको हो।

अर्थमन्त्रीको रुपमा पदभार ग्रहण गरेको दिन राताम्मे बनेको बजार त्यसपछि भने निरन्तर बढ्न पुग्यो। हुन त सत्ता फेरबदलको सूचना पाएका लगानीकर्ताले अर्थमन्त्रीमा पौडेल आउनु ८ दिनअगाडि नै धमाधम बजारमा सेयर कारोबारलाई बढाएका थिए। जसको असर यो साताभर सूचक र कारोबार दुवै उच्च अंकले बढ्न पुग्यो। 

कुन दिन कस्तो रह्यो सेयरबजार? 

आइतबार 
आइतबार नेप्से सूचक ५२.९७ अंकले बढेर २२५७.५९ अंकमा पुग्यो। २०७९ जेठ ५ गते २२७४ अंकमा पुगेको नेप्से त्यस उक्त विन्दु छुन सकेको थिएन।

अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावनाका बीच आइतबार सूचकले छलाङ मात्रै मारेन। लगानीकर्ताले पनि यो दिन साढे ७ खर्बको सेयर कारोबार गरेका थिए। 

यो दिन कारोबारमा आएका ३०९ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य बढ्दा ३६ कम्पनीको भने मूल्य घटेको थियो। कमाउनेमा रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावर सर्किटसहित अग्रस्थानमा थिए।

यी दुवै कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको हो। योबाहेक जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो, अरुण भ्याली हाइड्रोलगायतका कम्पनीको सर्किट लेभलमै मूल्य बढ्न पुग्यो। 

घट्नेमा भने बलेफी हाइड्रोपावर, सप्तकोशी विकास बैंक अगाडि थिए। यी कम्पनीको ३ प्रतिशतभन्दा धेरैले मूल्य घटेको थियो। यो दिन २४ करोडको सेयर खरिदबिक्रीसहित सर्वाधिक कारोबार हुने मुख्य कम्पनीको रुपमा जानकी फाइनान्स देखियो। 

सोमबार 
सोमबार भने नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ अंकमा बन्द भयो। सूचक घटे पनि सोमबार कारोबार भने ६ महिनायताकै सर्वाधिक थियो। 

गत माघ ३ गते ९ अर्बको कारोबार भएको बजारमा त्यसपछि सो बराबरको सेयर कारोबार हुनसकेको थिएन। यो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो। उक्त दिन बैंकिङ समूह, विकास बैंक समूह, फाइनान्स समूह, होटल तथा पर्यटन समूह, जीवन बिमा समूह, लघुवित्त समूह र निर्जीवन बिमा समूहको उपसूचक घटेको थियो भने लगानी समूह, जलविद्युत् समूह र म्युचअल फन्ड मात्रै सामान्य अंकको वृद्धिसहित हरियो बनेको थियो। 

लगानीकर्ता प्रोफिट बुकमा लाग्दा यो दिन १८४ वटा कम्पनीको सेयर मूल्य घटेको थियो। ५६ वटा कम्पनीको मात्रै सेयरमूल्य बढेको थियो। 
बढ्नेमा सिभिल बैंकको डिबेन्चर अगाडि थियो। यसको मूल्यमा सकारात्मक सर्किट लाग्दा मान्डु हाइड्रोपावरको मूल्यमा ९.९९ प्रतिशतले वृद्धि देखिएको हो।

यो दिन म्युचुअल फन्डको मूल्य बढेका थिए भने जानकी जानकी फाइनान्समा नेगेटिभ सर्किट लागेको थियो। 

मङ्गलबार
मङ्गलबार सेयर बजार परिसूचक नेप्से ७०.१८ अङ्कले बढेर २३१०.५९ अङ्कमा पुगेको थियो। यो दिन ९ अर्ब १३ करोड बढीको कुल कारोबार हुँदा २३४ कम्पनीको सेयर बढेको थियो भने ८ वटाको मात्रै घटेको हो।

यो दिन सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रो, सिक्लेस हाइड्रोको मुल्यमा १० प्रतिशतको वृद्धि देखिएको थियो। 

बुधबार 
बुधबार पनि नेप्सेले ५४ अंकको वृद्धि लियो भने १२ अर्ब रुपैयाँमाथिको कारोबार भयो। यो दिन नेप्से सूचक बुधबार ५४.०४ अंकले बढेर २३६४.६३ अंकमा बन्द हुँदा १२ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

यसअघि २०७८ भदौ १५ मा नेप्से ३००० विन्दुमा पुग्दा १२ अर्बको कारोबार भएको थियो। त्यसयता बुधबार नै पहिलोपटक १२ अर्बको कारोबार भएको थियो। यो दिन सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो भने यस्तै सिंगटी हाइड्रोको इनर्जी, आँखु खोला जलविद्युत, मन्दाकिनी हाइड्रोको, सीईडीबी हाइड्रो र आरम्भ चौतारी लघुवित्तको मूल्य सर्वाधिक बढेको थियो। 

यो दिन कारोबारमा आएका २०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको थियो। घट्नेमा अधिकांश म्युचुअल फन्डहरु रहेका थिए। 

बिहीबार 
यो साताको अन्तिम कारोबार बिहीबार भने सूचक ५७.७८ अंकले बढेर २४२२.४१ अंकमा बन्द भएको छ भने कारोबार १५ अर्ब ५४ करोड रुपैयाँको भएको हो। यो दिन कारोबारमा आएका १४४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ९५ कम्पनीको सेयर मूल्य घट्यो।

बुधबारको तुलनामा ६ अर्ब धेरैले कारोबार भएको बिहीबारको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक,नेपाल फाइनान्स, आँखु जलुविद्युत् कम्पनी,उपकार लघुवित्त र थ्री स्टार हाइड्रोको मूल्यमा १० प्रतिशतको वृद्धि देखियो। यो दिन सिन्धु विकास बैंक, गुहेश्वरी मर्चेन्टलगायतका कम्पनीको सेयरमुल्य ४ प्रतिशतमाथिले घट्न पुगेको हो। 

समग्रमा यो साता लगानीकर्ताका लागि सेयरबजार उत्साहजनक मात्रै देखिएको छैन बजार प्रतिको आशालाई पनि थप बढाएको देखिन्छ।

दैनिक ३ देखि ४ अर्बमा सीमित रहेको कारोबार सातामै १५ अर्बमाथि पुग्दा लगानीकर्ता दोस्रो बजारलाई लिए सकारात्मक बनेको देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .