ad ad

कारोबार


अर्थमन्त्रीमा जसको नाम चल्दा नै चम्किन्छ सेयरबजार

सेयरबजारका ‘बुल ब्रान्ड’ विष्णु पौडेल, यसपटक पनि बन्न सक्छ ‘बुलिस ट्रेन्ड’
अर्थमन्त्रीमा जसको नाम चल्दा नै चम्किन्छ सेयरबजार

सम्झना घिमिरे
असार ३१, २०८१ सोमबार १०:४३, काठमाडौँ

असार १८ गते सेयरबजार खुल्नुपूर्वको १५ मिनेटको ‘प्रि–ओपन सेसन’मा २३ अंकले नेप्से बढ्यो। त्यसलगत्तै खुलेको बजारमा तीन पटकसम्म सकारात्मक सर्किट लाग्यो। एक मिनेटको समयमा सर्किट लेभलमा पुगेको नेप्से अर्को ३ मिनेटको कारोबारबाट १०८ अंकले बढ्न पुग्यो।

अघिल्लो दिन १५ अंकले बढेको बजारअघिका ८ दिन राताम्मे थिए। १७ गते राताम्मे बजारले करेक्सन मात्र लिएको आम बुझाइ थियो। त्यही दिन मौजुदा सत्ता समीकरण बदलिने निश्चित भयो। अर्थात् नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धनको सहमति भयो। 

संसदका दुई ठूला दल मिलेर नयाँ सरकार बन्ने पक्कापक्की देखिएपछि एमालेले पुनः अर्थमन्त्रीमा विष्णु पौडेललाई ल्याउने चर्चा चल्यो।

बदलिँदो राजनीतिक समीकरणको माहोललाई भोलिपल्टै अर्थात् १८ गते सेयरबजारले सकारात्मक रुपमा लियो। पौडेल अर्थमन्त्री बन्ने खबरसँगै बजारमा नेप्सेले तीन पटकसम्म सकारात्मक सर्किट मार्‍यो। 

बजारमा विष्णु पौडेललाई लिएर सकारात्मक सर्किट लागेको यो पहिलो पटक होइन। उनलाई सेयरबजारले पटक–पटक ‘बुल ब्रान्ड’ बनाएको तथ्य विगतको कारोबारमा देखिन्छ। जब अर्थ मन्त्रालयमा उनको इन्ट्री हुन्छ वा हुने सम्भावना प्रबल देखिन्छ तब सेयरबजारले सर्किट मात्रै हान्दैन, लगातार बढ्छ पनि। यो विगतदेखिकै ट्रेन्ड हो।

सोही कारण बुल ब्रान्डमा विष्णु पौडेलको नाम चर्चित रहँदै आएको छ। बजार बढ्नुमा उनको भूमिका गौण देखिए पनि लगानीकर्ताको ‘मास साइकोलोजी’ (आममनोविज्ञान) भने उनलाई लिएर बलियो देखिने गरेको यथार्थ हो।

नेकपा एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्रीको रुपमा तीन कार्यकाल बिताइसकेका छन्। उनी अर्थमन्त्री रहेका समयमा सेयरबजार बुलिस (नेप्से सूचक क्रमशः बढिरहनु) ट्रेन्डमा रहेको थियो। सामान्यतया केही दिन वा केही महिनादेखि निरन्तर बजार घटेको छ भने सकारात्मक सूचना प्रवाहित हुनासाथ बजारले पुन करेक्सन (घट्दो बजारमा सूचक बढ्न थाल्नु वा बढ्दो बजारमा सूचक घट्न थाल्नुलाई करेक्सन मानिन्छ) गर्ने गर्छ। यो सेयरबजारको सामान्य सिद्धान्त हो। 

बजार करेक्सनमा जाँदै गर्दा विष्णु पौडेलको हरेक समयको ‘इन्ट्री’मा एउटा संयोग देखिन्छ। उनले सेयरबजारलाई असर पुर्‍याउने गतिविधि नगर्नुले पनि बजार बढ्न मद्दत पुगेको देखिन्छ।

पहिलो कार्यकाल (२०७२ असोजदेखि २०७३ साउन) : नेप्से ११९० देखि–१८८२ अंकसम्म
वि.सं. २०७२ मा पौडेल पहिलो पटक अर्थमन्त्री भएका थिए। उनी मन्त्रालय छिर्दै गर्दा सेयरबजार परिसूचक नेप्से १२०५ अंकको अधिकतम विन्दु छोएर ओर्लिँदै थियो। 

२०७२ भदौ २९ गते अधिकतम विन्दुमा पुगेर फर्किएको बजार उनी आएको एक महिनासम्म निरन्तर घटेर मंसिर १३ गते १०२२ अंकमा पुग्यो। 

तर त्यसपछि भने उनको कार्यकालभर निरन्तर नेप्से बढिरह्यो। त्यो बेला पौडेलको १० महिने कार्यकालभर नेप्से सूचकले ६९२ अंक बढेर १८८२ अंकमा पुग्यो। यो त्यस समयको ‘अलटाइम हाइ रेकर्ड ब्रेक’ थियो। 

त्यसपछिको ४ वर्षले सो रेकर्ड तोड्न सकेन। सो अवधिमा नेप्से सूचक ११ सयदेखि १८ सय मुन्तिर नै अलमलिरहेको देखिन्छ।

दोस्रो कार्यकाल (२०७७ असोज देखि २०७८ असार) : नेप्से १५०८ देखि ३१६३ अंकसम्म
२०७७ असोजमा उनै पौडेलले अर्थमन्त्रीको दोस्रो कार्यकाल सुरु गरे। अर्थ मन्त्रालयमा उनको ‘इन्ट्री’ हुँदा नेप्से सूचक १५ सयमा अंकमा थियो। यसअघि १८ सयको रेकर्ड ब्रेक गरेर नेप्से १५ सयमा ओर्लिएको थियो। झण्डै ४ वर्ष ओरालो लागेको बजारले पौडेलको आगमनसँगै ‘बुलिस ट्रेन्ड’ पक्रियो।  

फलतः २०७७ असोजमा १५ सय रहेको नेप्से २०७८ असारमा ३१६३ अंकमा पुग्यो। 

एक वर्षमा झण्डै १६ सय अंकले बढेको नेप्सेको बुलिस ट्रेन्ड उनको कार्यकाल सकिएको झण्डै डेढ महिनासम्म चल्यो। 

साउनमा नेकपा माओवादी केन्द्रको सरकार बनेसँगै जनार्दन शर्मा अर्थमन्त्री बने। उनी बनेपछि नेप्सेले हालसम्मकै ‘अलटाइम हाई रेकर्ड ब्रेक’ गर्‍यो। २०७८ भदौ ३ गते नेप्से ३२०९ अंकमा पुगेको थियो। 

कोभिड संक्रमणले अर्थतन्त्र ठप्प भएको समयमा उनी अर्थमन्त्री भएका थिए। संक्रमण फैलिने आशंकाले सरकारले घरबाहिर निस्किन नमिल्ने व्यवस्था गरेपछि फुर्सदिला बनेका अधिकांश सर्वसाधारणले यही बेला सेयरबजारमा प्रवेश पाए। 

लगानीको वातावरण कोभिड संक्रमणले खुम्च्याएपछि सो लगानी सेयबजार क्षेत्रमा गयो। नभन्दै बजारमा दोब्बर संख्याले लगानीकर्ता बढे भने पुँजीकरण यही समयमा ४० खर्ब माथि पुगेको थियो। 

लगानीकर्ताले कारोबारलाई पनि बढाउँदा दैनिक २२ अर्बसम्मको कारोबार पुगेको थियो। यी तमाम कारण प्रमुख रहँदा रहँदै पनि लगानीकर्ताले पौडेललाई जस दिँदा उनी ‘बुल मार्केटको ब्रान्ड मेकर’को रुपमा स्थापित हुन पुगे।

तेस्रो कार्यकाल (२०७९ पुसदेखि २०७९ फागुन) ः नेप्से १८६७ देखि २२१५ अंकसम्म
पौडेलको तेस्रो कार्यकाल भने दुई महिनाको मात्रै थियो। एमाले सरकारमा गएपछि पौडेल पुस ११ गते अर्थमन्त्री नियुक्त भए।

सोही दिन १८६७ अंकमा पुगेको नेप्से उनको दुई महिने कार्यकालभर अधिकतम २२१५ अंकमा पुगेको थियो। फागुन १२ गते मन्त्रीबाट मुक्त हुँदै गर्दा पनि त्यसको प्रभाव सेयरबजारमा देखियो। उनी निस्किने निश्चित भएसँगै सोही दिन नेप्से १९६२ अंकसम्म ओर्लिएर अन्तिम समयमा २०२७ अंकमा बन्द हुन पुग्यो । 

अर्थमन्त्री विष्णु पौडेललाई लगानीकर्ताले विश्वास गर्नुको पछाडि अनेक कारण भएको मान्छन् लगानीकर्ता छोटेलाल रौनियार। 

अर्थमन्त्री भइरहँदा बजारलाई अरु मन्त्रीजसरी नचलाउने भएकै कारण त्यसको सकारात्मक प्रभाव बजारमा पर्दा बजार बढ्ने गरेको उनको बुझाइ छ।  

‘बजारमा विष्णु पौडेललाई लिएर लगानीकर्ताको मास साइकोलोजी बलियो छ’, उनले भने, ‘उनी मन्त्री भएकै बेला बजारले बुल ट्रेन्ड समात्नु संयोग हो भने उनले बजारलाई असर गर्ने काम गर्दैनन् भन्ने आमधारणाले पनि बजार बढ्नलाई थप सहयोग पुर्‍याउने गर्छ।’ 

रौनियार सेयरबजारमैत्री मानिने हुनाले लगानीकर्ताको मनोविज्ञान पौडेललाई लिएर सकारात्मक बन्ने गरेको बताउँछन्, जसको असर अक्सर बजारले देखाउने गर्छ।

त्यसो त पौडेलले सेयरबजारमा प्रत्यक्ष असर गर्ने कुनै पनि नीति फेरबदल गरेको उदाहरण छैन। यद्यपि बजारलाई अन्य मन्त्रीहरुले जसरी नकारात्मक असर पर्ने कुनै पनि गतिविधि नगर्दा त्यसले लगानीकर्तालाई सकारात्मक ऊर्जा दिँदै आएको छ। 

त्यस्तै एक जना सेयर ब्रोकर लगानीकर्ताले सरकारबाट ठूलो अपेक्षा नगरेको बताउँछन्। 

उनी भन्छन्, ‘सरकारले सेयरबजारलाई अनुत्पादक क्षेत्र भनेर हेप्ने काम नगरी बजार व्यवस्थापनमा संयमता अपनाउने हो भने लगानीकर्ताको मनोविज्ञान बजारलाई लिएर थप बलियो हुने थियो।’ 

तर सरकार सम्हाल्न आइपुग्ने प्रमुखहरुले नै बेलामौकामा सेयरबजारलाई अनुत्पादक क्षेत्र भनेर टिप्पणी गर्दा त्यसको प्रभाव लगानीकर्ताको मनोविज्ञानमा पर्दै आएको छ। 

यस्ता टिप्पणीलाई सेयरबजारले ‘रियाक्ट’ गर्दै आएको छ। तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अर्थमन्त्री जनार्दन शर्माले गरेका यस्तै टिप्पणीलाई सेयरबजारले सकारात्मक नलिएको देखिन्छ। सेयरबजारविरोधी अभिव्यक्ति लगानीकर्ताको रोजाइमा नपर्ने भएकाले यसको असर सेयर कारोबारमा देखिने गरेको छ। 

तरल राजनीतिक माहोलबीच नेताहरुको अभिव्यक्ति र सेयरबजारप्रतिको धारणाले धितोपत्र दोस्रो बजारलाई प्रत्यक्ष असर गर्दै आएको छ। यिनै कारणले राजनीतिक फेरबदलसँगै त्यसको असर सेयरबजारमा देखिने गरेको हो।

यसकारण चौथो कार्यकालमा पनि बुलिस ट्रेन्डकै आश
गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत पाउन सकेनन्। उनी असफल भएसँगै नयाँ राजनीतिक समीकरणअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार बन्ने बाटो खुलेको छ। 

एमाले–कांग्रेस सहमतिअनुसार अघि बढेको नयाँ समीकरणपछि सोमबार प्रधानमन्त्रीमा ओलीले शपथ खाँदै छन्। त्यसैगरी अर्थ मन्त्रालय एमालेकै भागमा पर्दा विष्णु पौडेलले अर्थमन्त्रीको चौथो कार्यकाल सुरु गर्दै छन्। योसँगै आइतबारकै सेयरबजारले उनको आगमनलाई शुभसंकेत गरिसकेको छ।

यसको मतलब सेयरबजारले पौडेलप्रति भरोसा गरेको भन्ने नै हो। त्यसो त पौडेल आउँदै गर्दा सेयरबजार बढ्ने अन्य कारणहरु पनि सहयोगी देखिएका छन्। 

पछिल्लो समय सेयर धितोकर्जामा भएको वृद्धिदरले पनि बजारमा वृद्धिको माहोल बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको जेठ मसान्तसम्म कर्जा प्रवाह १४.२ प्रतिशतले बढेको छ। ब्याजदर घट्दै जाँदा बजारमा लगानीकर्ताले कर्जा लिएर लगानी गर्न थालेका छन्। यसले बजारलाई बढाउन थप मद्दत गर्नेछ।

यस्तै चालू आवमा राष्ट्र बैंकले किस्ता–किस्तामा सेयरबजारप्रति लचकता देखाइरहेको छ। सेयर धितो कर्जामा लाग्दै आएको जोखिमभार मौद्रिक नीतिको समीक्षाबाट १५० बाट १०० प्रतिशतमा झारिसकेको छ। 

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको समीक्षाबाट सेयर कर्जामा एउटा बैंकबाट ४ करोड र एकभन्दा बढी बैंकबाट एक व्यक्ति वा संस्थाले १२ करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने व्यवस्था गरिएको थियो। 

गत असोजमा सो व्यवस्थालाई परिमार्जन गर्दै लगानीकर्ताको मागअनुसार नै राष्ट्र बैंकले व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरिसकेको छ। 

यस्तै सेयरधितो कर्जामा लाग्दै आएको १५० प्रतिशतको जोखिमभार १०० प्रतिशतमा झरिसकेको छ। आगामी मौद्रिक नीतिबाट यसलाई थप घटाउन सक्ने संकेतका बीच सेयरमा लगानी बढ्ने सम्भावाना उच्च देखिन्छ।

यही बेला ब्याजदर घट्नु, सेयर धितो कर्जा बढ्नुजस्ता कारणले फेरि अर्थमन्त्री भएका पौडेल पुन: एकपटक ‘बुल ब्रान्ड’ बन्ने देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .