तनहुँको आँबुखैरेनी गाउँपालिकामा अवस्थित छिम्केश्वरीमाई मन्दिर पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ।
समुन्द्री सतहबाट करिब दुई हजार १३४ मिटर उचाइमा रहेको सो क्षेत्रबाट धवलागिरिदेखि लाङटाङसम्मको हिमशृङ्खलाको मनोरम दृश्यावलोकन, सूर्योदय, सूर्यास्त र महाभारत पहाडहरु सजिलै अवलोकन गर्न सकिन्छ।
सो गाउँपालिकामा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको मिश्रित बसोबास रहेको छ।
छिम्केश्वरी सडक सञ्जालले जोडिएपछि त्यहाँस्थित मन्दिर दर्शन गर्न जाने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास गरिएको आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर आलेले जानकारी दिए।
सो सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गर्नेुपर्ने सम्झौता गरिएको छ। सडकमा धमाधम ट्र्याक खोल्ने काम भइरहेको उनले जानकारी दिनुभयो। पर्वतीय शृंखलाको सबैभन्दा उचाइमा रहेको सो मन्दिरसम्म पुग्न प्रदेश सरकारको रु ३० करोडको लागतमा नयाँ ट्रयाक खोल्न शुरु गरिएको हो।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनर्निर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको छ। उच्च पहाडी क्षेत्र भएकाले यसलाई ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा जडीबुटीलाई पर्यटनसँग जोड्दै मन्दिरको धार्मिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको उनले बताए। आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि करिब डेढ घण्टाको उकालो पैदलयात्रापछि छिम्केश्वरी पुग्न सकिन्छ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई र बूढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरीलेक क्षेत्र धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा बहुमूल्य जडीबुटीका कारण महत्वपूर्ण क्षेत्र हो। सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ। भनिन्छ सातमध्ये ६ वटै देवीको दर्शन गरे तापनि छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकांक्षा पूरा नहुने जनविश्वास रहिआएको छ।
यी ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक सम्पदालाई पर्यटनसँग जोड्दै संरक्षण एवं विकास गरी छिम्केश्वरी क्षेत्रलाई एक आकर्षक, सुन्दर एवं सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको थापाले बए।
महोत्सवको तयारी
पर्यटकीय गतिविधिका माध्यमद्वारा प्रवद्र्धन गर्ने उद्देश्यले यही फागुन २५ देखि २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ गर्ने तयारी गरिएको छ। ‘छिम्केश्वरी हाम्रो आधार ग्रामीण पर्यटन विकासको पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका–५ र ६ को सक्रियता तथा गाउँपालिकाको आयोजनामा उक्त महोत्सव गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष थापाले बताए।
तनहुँ सभागृह ६५ प्रतिशत निर्माण
गण्डकी प्रदेशकै ठूलो आयोजनाका रुपमा रहेको तनहुँ सभाहलको निर्माण ६५ प्रतिशत सम्पन्न भएको छ। व्यासनगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको उक्त भवनको इँटाको गारो लगाउने कार्यसम्पन्न गरी प्लास्टर कार्य थालिएको छ। करिब छ हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा निर्माण गरिएको हो। भवनको लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ।
चार ढलानको उक्त भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तल्लामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्षलगायत सुविधा रहेका छन्। भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेको बताइएको छ। रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको श्री डाँफे एम।ए। प्रतिष्ठा जे।भी।काठमाडौँले निर्माणको जिम्मा पाएको छ। विसं ०७४ पुस १३ मा सम्झौता गरी विसं ०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो। सभाहल ७५० जना क्षमताको रहेको छ। रासस

प्रतिक्रिया