ad ad

कारोबार


विराटनगरको बजेटमा सर्प समाउन प्रहरी परिचालन गर्ने कार्यक्रम

क्षयरोगमुक्त नगर बनाउने, जनप्रतिनिधिलाई उद्घोषण तालिम दिने
विराटनगरको बजेटमा सर्प समाउन प्रहरी परिचालन गर्ने कार्यक्रम

नेपालखबर
असार १०, २०८१ सोमबार १६:७, काठमाडौँ

विराटनगर महानगरपालिकाको नयाँ बजेटमा मेयरलक्षित कार्यक्रमदेखि प्रधानमन्त्री पार्क र रानीपोखरीसम्म बनाउने योजना अघि सारिएको छ।

महानगरपालिकाले आगमी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री पार्क, रानीपोखरी निर्माणसहित मेयर नामजडित कार्यक्रमलाई प्राथमिकतामा राखेको हो। 

संघीय बजेटको सिको गर्दै महानगरले मेयर/नाम जोडेर दुई कार्यक्रम मेयर इन्जिनियरिङ छात्रवृत्ति र उपमेयर किशोरी आत्मरक्षा कार्यक्रम अगाडि सारेको छ।

मेयर उपमेयर नामजडित लोकरिझ्याइका कार्यक्रमसहित महानगरपालिकाले सोमबार ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो। चालू आर्थिक वर्षका लागि विराटनगरले ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएको थियो।

बजेटमा प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको सावाँ ब्याज भुक्तानीका लागि ५ करोड, चालू आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान गरेको छ। 

समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ। बजेटले हरेक वडालाई दुई करोडको दरले अनुदान दिने व्यवस्था गरेको छ। 

योबाहेक खर्चतर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मतसम्भारका लागि १० करोड र भारी सवारीसाधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको छ। 
महानगरले कृषि विकासका लागि १ करोड ३ लाख, पशुपक्षी तथा भेटेरिनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख विनियोजन गरेको छ। विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ।

महानगरपालिकाले सडक ढल तथा नाला सफाइ र मर्मतका लागि ४ करोड ५० लाख विनियोजन गरेको छ। सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तरीय योजनाका लागि ३५ करोड विनियोजन गरेको हो। 

सर्प समाउन प्रहरी परिचालन, जनप्रतिनिधिलाई उद्घोषण तालिम  
महानगरले सर्प समाउन प्रहरी परिचालन गर्ने भएको छ। चालू आवको बजेटबाटै प्रहरी परिचालन गर्न थालिएकोमा आगामी आवको बजेटमा पनि निरन्तरता दिइएको छ। 

सर्प समाउनका लागि ४ जना नगर प्रहरीलाई विशेष तालिम दिइने उल्लेख छ। यस्ता तालिमप्राप्त प्रहरी छिमेकी जिल्लामा समेत परिचालन गर्न सक्ने गरी विकास गरिने बजेटले उल्लेख गरेको छ।

यस्तै महानगरले टीबी फ्रि (क्षयरोगमुक्त) नगर, मोतियाविन्दुमुक्त नगरलगायतका साना योजनाहरु पनि ल्याएको छ। 

यस्तै बजेटबाट जनप्रतिनिधिलाई उद्घोषण तालिम दिने योजना समेत अघि सारेको छ। बजेटमा महानगरभित्र रहेको पत्रकारसँगै जनप्रतिनिधिहरुले यस्तो तालिम लिनेछन्। त्यसका लागि बजेट विनियोजन भएको छ। 

बजेटले लगातार पहिलो र दोस्रो छोरी जन्माउने आमाहरुलाई प्रोत्साहनस्वरूप नगद भत्ता समेत दिने व्यवस्था गरेको छ। 

सिंघिया खोलामा करिडोर, सुनसरी मोरङ सिँचाइअन्तर्गतका नहरमा वाक स्ट्रिट बनाइने भएको छ। यसका लागि सिंघिया खोलाको किनारमा करिडोर निर्माण गर्न बजेट राखिएको छ। योबाहेक सुनसरी मोरङ सिँचाइअन्तर्गतको नहरमा एकतर्फ वाक स्ट्रिट निर्माण गरिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .