ad ad

कारोबार


उद्योग वाणिज्य महासंघ निर्वाचनमा यस्तो छ चन्द्र ढकालको रणनीति

उद्योग वाणिज्य महासंघ निर्वाचनमा यस्तो छ चन्द्र ढकालको रणनीति

दीपक भट्ट
फागुन १२, २०७६ सोमबार १८:३१,

उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ। चैत २८ र २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गर्ने तय भएको साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ।

त्यसो त महासंघको मुख्य नेतृत्वकाे तय भैसकेकाे छ। महासंघको विधानअनुसार हालको वरिष्ठ उपाध्यक्ष नै नयाँ कार्यकालको स्वतः अध्यक्ष हुने प्रावाधानअनुसार शेखर गोल्छा अध्यक्ष बन्ने पक्का छ।

एक जना वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र एक जना कोषाध्यक्षको लागि भने आकांक्षीहरु धेरै देखिएका छन् भने तीव्र प्रतिस्पर्धा हुने संभावना देखिएको छ।

भावी अध्यक्ष बन्ने हुँदा आगामी निर्वाचनको मुख्य आकर्षणको पदको रुपमा रहेको महासंघको वरिष्ठ उपाध्यक्ष उम्मेदवारमा आकांक्षी अहिले चन्द्र ढकाल र किशोर प्रधान रहेका छन्।

किशोर प्रधानले आगामी कार्यकालमा अध्यक्ष बन्दै गरेका शेखर गोल्छाको सहयोग आफूलाई नै हुने सन्देशसहित आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

तर ढकालले पनि उत्तिकै सशक्त रहेको भन्ने सन्देशसहित उम्मेदवारी घोषणाको तयारी गरेका छन्। उनले बुधबार आफ्नो उम्मेदवारी घोषणा गर्दैछन्।

किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणामार्फत अर्को सन्देश पनि दिएका छन्। प्यानल सहितको उम्मेदवारी भएको सन्देश जानेगरि वस्तुगत उपाध्यक्षको दावेदारी गरिरहेका अन्जन श्रेष्ठ र जिल्लागत उपाध्यक्ष दावेदारी गरिरहेका दिनेश श्रेष्ठलाई समेत सँगै राखेर उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणासँगै विभिन्न आँकलनका आधारमा अब प्रधान कमजोर छैनन् भन्ने सन्देश दिन उनी सफल भएका छन्।

प्रधानले उम्मेवादरी घोषणा गर्दा ढकाल भने विभिन्न जिल्लाहरुको भ्रमणमा व्यस्त थिए। उनी सुदुर पश्चिम र मध्यपश्चिमका धेरै जिल्लाहरुको भ्रमण गरेर आएका छन्।

उनी जिल्लाको भोटको माहोल मिलाएर काठमाडौं फर्केका छन्। अहिले एसोसिएट उपाध्यक्ष रहेका ढकाललाई यो निर्वाचन जसरी पनि जित्नुछ।

यसअघि सर्वसम्मत एसोसिएट उपाध्यक्ष बनेका उनी आगामी कार्यकालको लागि पनि सर्वसम्मत नै चुनिन भरमग्दुर प्रयासरत् छन। तर यसपटक सर्वसम्मत बन्ने माहोल भने देखिँदैन।

अघिल्लो पटक उनी सर्वसम्मत बन्दा सौरभ ज्योतीले उनलाई छाडेको थिए। ज्योतीले एसोसिएटमा जान रुचाइरहेका बेला अर्को कार्यकालको सहमति गरेर ढकाललाई छोडेका थिए।

अहिले ज्योति पनि एसोसिएटमा उम्मेदवारी दिने पक्का भैसकेको छ। यो कार्यकाल पनि मिलाएरै जाने ढकालको दाबी छ।

chandra dhakal award

नेतृत्व चयनको दिन नजिकिँदै जाँदा प्यानल निर्माणको माहोल बनिरहेको छ। ढकालले भने आफू प्यानल बनाउनु हुँदैन भन्ने पक्षमा रहेको बताए।

‘म बुधबार आफ्नो उम्मेवदारी घोषणा गर्दैछु। म प्यानलसहित गर्दिन। मलाई अहिलेको अवस्थामा पनि मिलाएरै जान सकिन्छ भन्ने लाग्छ,’ ढकालले नेपालखबरसँग भने।

आगामी कार्यकालको सफलतासँग पनि अहिलेको मेलमिलाप आवश्यक रहेकोले यसको विकल्प नरहेको उनी बताउँछन्।

सहमतिका आधारमा अघि बढ्ने कुरामा सिद्धान्ततः सौरभ ज्योति पनि सहमत नै देखिन्छन्। उनी पनि मिलाएरै अघि बढ्ने बताउँछन्।

त्यसो त ज्योतिलाई प्रधान प्यानलकै रुपमा पनि हेर्ने गरिन्छ। प्रधान प्यानलले एसोसिएट उपाध्यक्षमा अर्को उम्मेदवार नउठाएका कारण पनि त्याे अनुमान गरिएकाे हाे।

यता ढकाललाई पनि प्यानल बनाएर अघि बढ्न केहि व्यवसायीहरुले सुझाव दिइरहेका छन्। जसअनुसार उनकै जिल्लाबासी (बाग्लुङका) व्यवसायी गुणनीधि तिवारी जिल्लागत उपाध्यक्षको दावेदारीसहित उनलाई पछ्याइरहेका छन्।

उता चुनावको भोको व्यक्तिको रुपमा परिचय पाएका उमेशलाल श्रेष्ठ पनि उनीसँग छलफलमा छन्। तर ढकालले उनीहरुलाई सान्तवनासहित आफु निर्वाचित हुने बाटो हेरिरहेका छन्।

कसरी अघि बढिरहेका छन् उनी?
प्रधानको उम्मेवदारी घोषणापछि ढकाललाई दवाव सिर्जना भयो। पूर्वअध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका, अध्यक्ष पक्का भएका शेखर गोल्छा, प्रभावशाली व्यवसायीहरु अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठ सहितको टोलि प्रधानको पक्षमा भएको समाचार आएपछि ढकालले पनि काठमाडौंमा राम्रै कार्यक्रम गरेर उम्मेदवारी दिने निर्णयमा पुगे।

तर उनी भने गोल्छा, मुरारकालाई आफ्नो साथमा ल्याउनुभन्दा पनि अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठलाई आफूतर्फ तान्ने गरि छलफल अघि बढाइरहेका छन्।

उनले दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठलाई प्यानलमा होइन, एकल उम्मेदवार हुने वातावरण सहित अघि बढ्न आग्रह गरिरहेका छन्।

सोहिअनुसार उनको प्रयास सकेसम्म अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठलाई पनि कार्यक्रममा सहभागी गराएर आफ्नो पक्षमा प्रस्तुत गर्नेछ।

यसरी प्रधानलाई कमजोर बनाउने उनको योजना छ। आगामी कार्यकालका अध्यक्ष गोल्छालाई पनि आफुले जिते पनि वा प्रधानले जिते पनि तपाईसँगै काम गर्ने हो त्यसकारण उपस्थिति हुनुपर्ने भन्दै उनले कार्यक्रमको निम्तो दिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .