ad ad

कारोबार


१० जनालाई पुग्ने कम्बो सेटदेखि मटन पक्कु खानासम्म पस्किरहेको कोइला मल्टी कुजिन रेस्टुरेन्ट

१० जनालाई पुग्ने कम्बो सेटदेखि मटन पक्कु खानासम्म पस्किरहेको कोइला मल्टी कुजिन रेस्टुरेन्ट

२७ वर्षीय पेसलले सोह्रखुट्टे र शंखमूलपछि गठ्ठाघरमा कोइलाको नयाँ आउटलेट खोल्ने तयारी गरेका छन्। फोटो/भिडिओ : सरोज बैजु


लक्ष्मी बलायर
जेठ १२, २०८१ शनिबार ११:२४, काठमाडौँ

२०७६ फागुन १६ गते। पेसल कार्कीले सोह्रखुट्टेस्थित खुसिबुमा ‘कोइला मल्टी कुजिन रेस्टुरेन्ट’ सञ्चालनमा ल्याए। सानैदेखि खाना पकाउन सौखीन उनी मनपरेको पेसामा लाग्न पाउँदा निकै उत्साहित थिए। तर, रेस्टुरेन्ट खोलेको एकमहिना नपुग्दै उनको उत्साह निराशामा बदलियो।

कोरोना महामारी फैलिएसँगै चैतबाट देशैभर लकडाउन भयो। जसले ३५ लाख लगानीमा भर्खरै खुलेको रेस्टुरेन्टमा ताल्चा लगाउन बाध्य भए उनी।

ओखलढुङ्गाका पेसल आमासँग सोह्रखुट्टेमा भाडामा बस्थे। त्यसमाथि रेस्टुरेन्टको भाडा महिनाको एक लाख। यस्तोमा धेरैले उनलाई रेस्टुरेन्ट बन्द गर्न सुझाएका थिए। तर, त्यत्रो जोसले सुरु गरेको व्यवसाय चटक्कै माया मार्न सकेनन्।

‘धेरैजनाले भाडा तिर्न गाह्रो हुन्छ, रेस्टुरेन्ट छोडेर एउटा कोठामा सामान राख्न भन्नुभएको थियो। तर, मलाई चाँहि यति छिट्टै आशा मारिहाल्न मन लागेन। एकवर्षपछि कसो राम्रो अवस्था नआउला भन्ने लाग्यो। घर बस्दा धेरै कुरा रिसर्च गर्न पाएँ। जसले अगाडि बढ्न ठूलो सहयोग गर्‍यो,’ कार्कीले भने।

लकडाउनमा छ/सात महिना रेस्टुरेन्ट बन्द हुँदा निकै घाटा बेहोर्नुपर्‍यो। लकडाउन खुकुलो भएसँगै पेसलले ठूलो आँट बटुलेर रेस्टुरेन्टको दैलो खोले। त्यतिबेला लकडाउन खुकुलो भए पनि रेस्टुरेन्टमा आएर बसेर खान मिल्ने अवस्था थिएन। यस्तोमा पेसलले केही फरक तरिकाले रेस्टुरेन्ट सञ्चालन गर्ने सोचे।

‘लकडाउन भइसकेपछि अब चाहिँ यहाँबाट केही सिक्नुपर्छ भन्ने लाग्यो। धेरै घाटा हुँदा अब व्यावसायिक रुपमा लाग्नुपर्छ भन्ने भयो। यस्तोमा सबै परिवारलाई नै पुग्नेगरी मिठो परिकार पस्किने विचार गरेँ,’ उनी भन्छन्, ‘डेलिभरीमार्फत घरघरमा सेवा दिनबारे सोचेँ। कस्तो खाना दिँदा ग्राहक आउँछन् भन्नेमा म कुरामा विश्वस्त थिएँ।’

भिडिओ-

त्यति बेलादेखि नै हो पेसलले कोइलाको मेन्युमा कम्बो सेट राखेको। उनका अनुसार त्यो बेलाका रेस्टुरेन्टमा नर्मल प्लाटर मात्रै चलेको थियो। जसमा थोरैथोरै परिकारहरू राखेर एउटै प्लेटमा दिइन्थ्यो। पेसलले भने पूरै परिवारलाई टार्गेट गर्दै कम्बो सेटमार्फत विभिन्न परिकार पस्किने विचार गरे।

‘त्यतिखेर रेस्टुरेन्टमा नर्मल प्लाटर भन्ने चलेको थियो। थोरथोरै एउटै प्लेटमा दिइन्थ्यो। अनि मैले पूरै परिवार नै अघाउनुपर्‍यो भनेर कम्बो सेटको आइडिया ल्याएँ,’ उनले भने, ‘परिवारभित्र कसैलाई म:म मनपर्छ, कसैलाई बिरयानी। कसैलाई भने पिज्जा। कोही थोरैथोरै सबै चाख्न चाहन्छन्। उनीहरूलाई लक्षित गरेर कम्बो सेट तयार पारिएको हो।’

कोइलाको परिकारमध्ये कम्बो सेटलाई ग्राहकहरूले पनि निकै मन पराए। जसले पछि रेस्टुरेन्टमा पनि ग्राहकहरूको घुइँचो लाग्न थाल्यो। तर, ठाउँ सानो हुँदा निकै गाह्रो हुन थाल्यो।

‘सोह्रखुट्टेको स्पेस सानो छ। तर, ग्राहकहरूको मायाले हामीले एकवर्षमै घाटा उठाउन सक्यौँ। रेस्टुरेन्टले पिकअप लिन थालेपछि त कुनै दिन त दिनमै २ लाखसम्मको व्यापार भएको थियो। १७५० रूपैयाँको कम्बो त एक महिनामै २२५० सेट बेचेका थियौँ।’

४ करोडमा खुलेको शंखमूलको आउटलेट
ठाउँ सानो भएकै कारण ग्राहकहरूले कहिले कुर्नुपर्ने त फर्किनुपर्ने बाध्यता आउन थाल्यो। त्यसैले पेसलले नयाँ आउटलेट खोल्ने योजना बनाए। जुन योजनाअनुसार तीन महिनाअघि शंखमूलस्थित दोभान पुलछेउमा कोइलाको नयाँ आउटलेट खुलिसकेको छ।

४ करोड लगानीमा खुलेको आउटलेटमा केही साझेदार पनि जोडिएका छन्। फराकिलो ठाउँकै लागि शंखमूलमा शाखा विस्तार गरेको सञ्चालक कार्की बताउँछन्। उनका अनुसार यस आउटलेटमा एकैपटकमा ४ सय जना ग्राहकहरूले सेवा लिन सक्छन्। त्यस्तै, रेन्टुरेन्टको रुफटपमा एक/डेढ सयजना बसेर बर्थडे लगायतका पार्टी समेत गर्न मिल्छ।

‘सोह्रखुट्टेको रेस्टुरेन्टमा सानो ठाउँ भएकाले ग्राहकहरूले गुनासो गर्नुभयो। अहिले पनि धेरैजना कुरेर खानुहुन्छ। अलि टाढा भयो पनि भन्नुभयो,’ उनले भने, ‘रेस्टुरेन्टलाई ठूलो स्पेस चाहिँदोरहेछ भनेर शंखमूलको आउटलेट खोलेका हौँ। खोलेको तीन महिना मात्रै भएकाले पूरै काम सकिएको छैन। छिट्टै त्यसैमा बेकरी पनि सञ्चालन गर्नेछौँ।’

कम्बो सेटदेखि मटन पक्कु खाना
कोइला मल्टी कुजिन रेस्टुरेन् ले विशेषगरी बहुव्यजनमा जोड दिन्छ। कोइलामा लगभग २ सय परिकार ग्राहकहरूले खान सक्ने सञ्चालक कार्की बताउँछन्।

नेपालीसहित इन्डियन, इटालियन र कन्टिनेन्टल फुड कोइलामा उपलब्ध छन्। जसमध्ये कम्बो सेटसहित मटन पक्कु खानासेट ग्राहकहरूले निकै रुचाएका परिकार हुन्।

कोइलामा सामान्यतया ११५० रुपैयाँदेखि २८५० सम्मको कम्बो सेट अर्डर गर्न मिल्छ। ११५० पर्ने कम्बो सेटमा चिकेन म:म, कोइला चिकेन, हाँडी बिरयानी र मुस्ताङे आलु समावेश छन्। जुन सेट मगाउँदा तीन/चार जनालाई मज्जाले खान पुग्छ। त्यसपछि परिकार थप भएअनुसार मूल्य पनि बढ्दै जान्छ।

२८५० रुपैयाँ मूल्य पर्ने कम्बोसेटमा ७ आइटम छन्। चिकेन म:म, कोइला चिकेन, हाँडी बिरयानी, मुस्ताङे आलुसहित पिज्जा, बर्गर र चिकेन तन्दुरी पनि यसमा समावेश छ। जसले १० जनासम्मलाई खान पुग्छ। यो सेट परिवारसहित साथी र अफिसको समूहलाई निकै लाभदायक हुन्छ।  

त्यसैगरी नेपाली स्वादमा पक्कुसहित मटन खानासेट पनि कोइलाको खास परिकार हो। सामान्यतया मटन खाना भन्ने बित्तिकै रससहितको मासु दिइन्छ। तर, कोइलामा भने मटन पक्कु एड गरिएको छ। मासु पारखीहरूले धित मर्नेगरी मटन खान सक्छन्।  

‘रेस्टुरेन्टमा जाँदा मटन खानामा हामी सात/आठ सय खर्च गरिरहेका हुन्छौँ। जसमा रससहित सामान्यतया ३ पिस मासु दिइन्छ। त्यत्तिले ग्राहकहरूलाई चित्त बुझिरहेको हुँदैन। हाम्रोमा भने मटन खानामा रससहित पक्कु पनि राखिएको छ। जसले ग्राहकहरूले अमन हुने गरी मासु खान पाउनुहुन्छ। र, खाना पनि हामीले अर्डर आएपछि मात्रै कुकरमा सिठ्ठी लगाएर दिने गरेका छौँ,’  कार्की भन्छन्।

मटन पक्कु खानालाई ७९० पर्छ भने भेज खाना ३४० रुपैयाँ तिरेर खान पाइन्छ। त्यसैगरी कोइलामा हाँडी बिरयानी, कोइला चिकेन पनि ग्राहकहरूको मन पराएका छन्। बिरयानी र कोइला चिकेनमा आफैँले तयार पारेको हाइजेनिक मसला राख्ने पनि उनले दाबी गरे।

सामान्यदेखि उच्च घरानाका मानिसहरू कोइलाको ग्राहकहरू हुन्। आफ्नो रेस्टुरेन्टमा सामान्यदेखि करौडौँको गाडी चढ्ने ग्राहकहरू पनि पुगिरहेको उनको दाबी छ। साथै शुक्रबार र शनिबार लाइभ म्युजिकसँगै ग्राहकहरूले रमाइलो गर्न पाउँछन्। 

गठ्ठाघरमा पनि खुल्दै नयाँ आउटलेट
कोरोना महामारीको मारमा परे पनि कोइलाले धमाधम शाखाहरू विस्तार गरिरहेको छ। शंखमूलपछि गठ्ठाघरमा पनि कोइलाले नयाँ आउटलेट बनाउने तयारी गरिसकेको छ।

ग्राहकहरूलाई मिठो परिकार खान सहज होस् भनेर गठ्ठाघरमा पनि आउटलेट खोलिरहेको कार्कीले बताए। लोकेसनको कारण गठ्ठाघरको आउटलेट खोल्नुपरेको उनको भनाइ छ। त्यसैगरी, चाबहिलतिर पनि एउटा आउटलेट खोल्ने योजना उनले सुनाए।

केही फरक स्वाद पस्किन सकेको खण्डमा ग्राहकहरूको माया सजिल्यै पाउन सकिने २७ वर्षीय कार्कीको अनुभव छ। 

‘हाम्रो नेपालमा मुख्य समस्या भनेको हतोत्साहित गर्नु हो। आफूभन्दा जान्नेबुझ्नेले नेपालमा केही छैन, विदेश जाऊ भन्नुहुन्छ। जबकि नेपालमा केही सुरुवात पनि गरिएको हुँदैन। यहाँ युवाहरूलाई आफूले भन्दा पनि अरूले होपलेस बनाइरहेका छन्। आज गरेपछि भोलि हुनुपर्छ भन्ने सोचाइ छ। जुन सम्भव हुँदैन,’ उनी भन्छन्, ‘व्यवसाय गरेपछि फाइदा उठाउन केहीवर्ष लाग्छ। छिट्टै सफलता खोज्दा पनि युवाहरू विदेशिनु परेको हो।’

 

मिठो परिकारसहित हस्पिटालिसी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको प्रयास कोइलाले गरिरहेको छ।

‘स्वादिष्ट र हाइजेनिक खानासहित मेनपावर उत्पादन गर्ने हाम्रो उद्देश्य हो। हामीले प्लस टु पढेकालाई तालिम दिएर यतै काम लगाइरहेका छौँ। सीप सिक्दा उहाँहरूलाई जता पनि काम पाउन सजिलो हुन्छ। अहिले दुवै ठाउँ गरेर ६० जना स्टाफ हुनुहुन्छ। उहाँहरूको तलबसहित रेस्टुरेन्ट टिकाइराख्न सकेका छौँ। यसैमा खुसी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .